
गलकोट : बागलुङको ताराखोला गाउँपालिकामा पाँच शय्याको कोरोना अस्थायी अस्पताल सञ्चालनमा आएको छ। अस्पताल सञ्चालनमा आएसँगै गाउँपालिकामा पहिलोपटक चिकित्सक पुगेका छन्।
नेपाल सरकारले प्रत्येक पालिकामा अस्थायी कोरोना अस्पताल बनाउने नीतिअनुसार बागलुङको ताराखोला गाउँपालिकामा पाँच शय्याको कोरोना अस्थायी अस्पताल सञ्चालनमा ल्याइएको गाउँपालिकाले जनाएको छ। ताराखोला गाउँपालिकाले हालै निर्माण सम्पन्न गरेको बहुउद्देश्यीय सभाहलमा पाँच शय्याको अस्थायी कोरोना अस्पताल सञ्चालन गरी सेवा प्रदान गर्न थालिएको गाउँपालिकाका अध्यक्ष प्रकाश घर्तीले जानकारी दिए।
सरकारले पाँच शय्याको कोरोना अस्पताल निर्माण गर्न पठाएको १० लाख बजेटबाट शय्या सेट, आवश्यक उपकरण खरिद गरी अस्पताल सञ्चालनमा ल्याइएको गाउँपालिकाका स्वास्थ्य संयोजक उदित थापाले जानकारी दिए।
‘अस्पताल तयारी अवस्थामा छ, गाउँपालिकामा जम्मा एक जना मात्रै सक्रिय संक्रमित भएकाले उहाँ गाउँपालिकाको आइसोलेसनमा हुनुहुन्छ, अस्पतालले कोरोनाको लक्षण देखिएका बिरामीको मात्रै उपचार गर्नेछ।’
थापाका अनुसार, अस्पताल स्थापनासँगै पहिलोपटक चिकित्सकद्वारा स्वास्थ्य सेवा प्रदान गर्न थालिएको छ। अस्पतालमा हालै मात्र मेडिकल अधिकृत सुवास लामिछाने नियुक्ति भएर सेवा दिन गाउँपालिका आएका छन्।
सरकारले ‘एक गाउँपालिका-एक अस्पताल’ निर्माण गर्ने लक्ष्यअनुरुप सो गाउँपालिकाले सोही स्थान नजिकै अस्पताल भवन निर्माण गर्न थालिएको छ। अस्पताल बनाउनका लागि नेपाल सरकारले ७० लाख बजेट विनियोजन गरी पठाएको छ। अस्पताल निर्माणका लागि आवश्यक सात रोपनी जग्गा व्यवस्थापन भइसकेर निर्माणको चरणमा पुगेको गाउँपालिकाले जनाएको छ।
गाउँपालिकामा हालसम्म संक्रमितको संख्या २० पुगेको छ। सक्रिय संक्रमितको संख्या भने एक जना मात्रै रहेको गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ। अस्थायी कोरोना अस्पतालमा हाल नेपाल सरकारले तोकेको एक जना मेडिकल अधिकृत, दुई स्टाफ नर्स र एक कार्यालय सहयोगी नियुक्ति भएर हाजिर भइसकेका छन्।
कोरोनाका कारण गाउँपालिकामा पहिलो पटक चिकित्सक आउँदा अन्य स्वास्थ्य समस्यासमेत समाधानमा सहयोग पुग्नेछ। कोरोना अस्पतालमा आइसीयू र भेन्टिलेटरबाहेक अन्य सबै सेवा प्रदान गरिनेछ।