PahiloPost

Jun 9, 2025 | २७ जेठ २०८२

जुम्लाको स्याउ हो भन्दा ठगको संज्ञा, नागरिकता देखाउनु पर्ने जुम्ली किसानलाई बाध्यता



रासस

जुम्लाको स्याउ हो भन्दा ठगको संज्ञा, नागरिकता देखाउनु पर्ने जुम्ली किसानलाई बाध्यता

खलङ्गा : तिला गाउँपालिका-१ का पदम रावत गाउँको जैविक उत्पादन सिमी र स्याउ लिएर सुर्खेत पुगे। कर्णाली प्रदेशको राजधानी किसानले उत्पादन गरेको सिमी र स्याउको मूल्य बढी बिक्री हुने ठाउँ पनि हो। रावतलाई जुम्ला घर भन्दा कसैले पत्याएनन्। जुम्लाको नाम बेचेर ठग्ने पात्रका रुपमा उनलाई हेरियो।

स्याउ र सिमी किन्न अनुरोध गर्दा ‘तपाईँ जस्तो ठगले झुक्याएर अब कोही झुक्किदैन, जुम्लाको नाम लिएर फाइदा लिने दिन गए’ भनी उपभोक्ताले रावतलाई स्पष्ट भनिदिए।

‘पछि कुरो बुझ्दा छिमेकी जिल्लाका व्यापारीले जुम्लाको अर्गानिक उत्पादन भन्दै ठग्ने गरेको रहस्य खुल्यो,’ रावतले भने।

तातोपानी-७ कै भरत रावतले नागरिकता देखाएरै जुम्लाको उत्पादन बेच्नु परेको गुनासो गरे। बजारमा जुम्ली स्याउ, सिमी र आलुको माग बढी हुन्छ तर सजिलै जुम्लाको उत्पादन हो भनेर विश्वास गर्दैनन्।

उनले भने, ‘जुम्लाको उत्पादन भनेर अन्य जिल्लाका व्यापारीले पाइदा लुट्ने प्रवृत्ति हावी हुँदै गएको छ। जुम्लाका अर्गानिक उत्पादन अरु जिल्लाका भन्दा फरक र स्वादिला हुने हुँदा नाम बेचेर फाइदा लुट्ने प्रवृत्ति हाबी हुँदै गएको छ।’

स्याउ सिमी र आलु जस्ता नगदेबाली अन्य जिल्लाका व्यापारीले जुम्लाको प्राङ्गारिक भनी बेच्न गरेका छन्। मार्सी चामल र स्याउले बजारमा राम्रो प्रभाव जमाएको हुँदा जुम्लाको नाम लिनासाथ सजिलै बिक्री हुने लोभमा अन्य जिल्लाका व्यापारीले बदमासी गरेको कृषि विकास कार्यालय जुम्लाका प्रमुख बालकराम देवकोटाले बताए।

जुम्लाका कृषि उत्पादनको बजारीकरणमा एकरुपता ल्याउनका लागि कृषि विकास कार्यालयले अर्गानिक ब्राण्डको लोगो बनाउने भएको छ। जुम्लाको नाम बेचेर गएगुज्रेका कृषि उत्पादन बेचबिखन रोक्नका लागि जैविक प्रतीक चिह्नले भूमिका खेल्ने कार्यालय प्रमुख देवकोटाले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell