PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

कति बन्यो काठमाडौं तराई फास्ट ट्रयाक? यस्तो छ सेनाको प्रगति विवरण

कति बन्यो काठमाडौं तराई फास्ट ट्रयाक? यस्तो छ सेनाको प्रगति विवरण

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौंः राष्ट्रिय गौरवको काठमाडौं तराई द्रुतमार्ग (फास्ट ट्रयाक) को काम तोकिएको समयमा पूरा गर्ने लक्ष्यसाथ अघि बढाइएको नेपाली सेनाले जनाएको छ। सैनिक जनसम्पर्क निर्देशनालयले प्रगति विवरण सार्वजनिक गर्दै कोभिड–१९ समस्याका बाबजुद कामलाई तदरुकताका साथ अघि बढाइएको जनाएको छ।

निर्देशनालयका अनुसार हालसम्म आयोजनाको १६ अर्ब ६६ करोड रुपैयाँ खर्च भइसकेको छ। आयोजनाको काम छैटौँ चरणमा चलिरहेको पनि जनाइएको छ। हालसम्म समष्टिगत प्रगति १६ दशमलव २१ प्रतिशत रहेको सेनाले जनाएको छ। वार्षिक भौतिक प्रगति ४२ दशमलव ८५ र वित्तीय प्रगति ५२ दशमलव ८० रहेको प्रगति विवरणमा उल्लेख छ।

विवरण अनुसार सुरुङ निर्माण सम्बन्धी कार्यको परामर्शदाता छनौट भई काम सुरु भइसकेको छ। यस्तै पुल निर्माणसम्बन्धी प्रस्ताव मूल्याङ्कनको क्रममा रहेको सेनाले जनाएको छ। आयोजनाको पहुँच मार्ग निर्माणको कामलाई पहिलो प्राथमिकतामा राखिएको सेनाले जनाएको छ।

आयोजनाको मुआब्जा वितरण कार्य ८४ प्रतिशत सम्पन्न भएको विवरणमा उल्लेख छ। खोकना क्षेत्रको रेखाङ्कनमा परेका स्थानमा स्थानीय विवादको कारण जग्गा प्राप्तिमा बाधा परेको सेनाले जनाएको छ। जग्गा प्राप्तिका लागि आवश्यक समन्वय तथा पहल भइरहेको पनि जनाइएको छ।

आयोजनाका लागि चालु वर्षमा पुँजीगत र चालुतर्फ गरी आठ अर्ब ९३ करोड ८८ लाख रुपैयाँ बजेट विनियोजन भएको छ। द्रुतमार्गको समष्टिगत कार्ययोजना अनुसार आयोजनाको कार्यक्षेत्रलाई ११ कलस्टरमा विभाजन गरिएको छ। आर्थिक वर्ष २०८०/८१ सम्म कार्य सम्पन्न गर्ने लक्ष्य राखिएको छ। तर कोभिडका कारण आयोजना समयमा सकिनेमा चुनौती थपिएको सेनाले जनाएको छ। लक्ष्य अनुसारको काम समेत प्रभावित भएको विवरणमा उल्लेख छ।  

आयोजनाको कुल लम्बाई ७२ दशमलव ५ किलोमिटर रहेको छ। जसमा तीन स्थानमा सुरुङ मार्ग समेत रहेको छ। यस्तै विभिन्न पुलहरुको लम्बाई १० दशमलव ५९ किलोमिटर रहेको छ।



ट्रेन्डिङ पोस्ट

Ncell