PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

हुमकलाको भक्तपुर इनिङ अनुभूति : विश्वास गरे महिलाले जिल्ला सजिलै हाँक्न सक्छन्



सविन ढकाल

हुमकलाको भक्तपुर इनिङ अनुभूति : विश्वास गरे महिलाले जिल्ला सजिलै हाँक्न सक्छन्

काठमाडौं : २०७६ मंसिर २५ गते हुमकला पाण्डेले जिल्ला प्रशासन कार्यालय भक्तपुरको जिम्मेवारी सम्हालिन्। काठमाडौं उपत्यकाभित्रको जिल्लाको कमान सम्हाल्नु सामान्य मानिन्न। त्यसमाथि उनी महिला।

लैंगिक हिसाबमा समाजको दृष्टिकोण र व्यवहारबारे उनी पर्याप्त जानकार थिइन्। आफू सफल हुने या नहुने भन्ने कुराले उनलाई पटकपटक सोच्न बाध्य बनाइरह्यो। तर, जिम्मेवारीको विषयमा चुकिनन्। एक दिन दुई दिन भन्दै वर्षदिन बित्न केही दिनमात्र बाँकी छ।

वर्ष दिनको जिम्मेवारीसँगै उनी भक्तपुरबाट बिदा भएकी छिन्। गृह मन्त्रालयले पछिल्लो पटकको सरुवा सूचीमा उनको पनि नाम रह्यो। भक्तपुरको प्रमुख जिल्ला अधिकारीबाट अब उनी गृह मन्त्रालयमा भेटिनेछिन्।

सोमवार गृह मन्त्रालयले गरेको सरुवाको पत्र उनको हातमा परेको छ। भक्तपुरबाट जाँदाजाँदै उनले प्रमाणित गरेकी छिन् - महिलाले जिल्ला सहजै हाँक्न सक्छन्।

'महिलालाई विश्वास गरेर अवसर दिनुपर्छ। महिलाले पुरुषको भन्दा पारदर्शी र विश्वासनीय ढंगले जिल्ला चलाउन सक्छन्,' पाण्डेले निर्धक्क भनिन्।

प्रमुख जिल्ला अधिकारीका रुपमा काम गरेको यो उनको पहिलो अनुभव हो। कार्यालय प्रमुखको रुपमा भने अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालय हेटौंडामा रहेर नेतृत्व दिइसकेकी थिइन् उनले। अख्तियारको भन्दा फरक प्रकृति र पूरै जिल्ला हेर्नुपर्ने भएकाले प्रजिअ पद उनका लागि धेरै चुनौतीपूर्ण थियो।

'मलाई पहिले नै लागेको थियो राजनितिक दल, जनप्रतिनिधि र विभिन्न समूहसँग कसरी काम गर्ने होला भनेर। तर, काम गर्दै जाँदा सबै कुरा सम्भव हुँदै जाने रहेछ,' पाण्डेले भनिन्।

एक वर्षको अवधिमा विभिन्न राजनीतिक दल र स्वार्थ समूहबाट आएका धम्की अनि प्रलोभनका कुरा उनको स्मृतिमा सधैं रहनेछ। आफू स्पष्ट र पारदर्शी भएकाले त्यस्ता समूह आफैं पछि हटेको उनको अनुभव छ।

'राजनितिक थ्रेट पनि आए। दवाव दिएर कमजोर पार्ने समूह पनि नआएका होइनन्। तर, डटेर सामान गरेपछि उनीहरु आफैं पछि हटे,' पाण्डेले भनिन्।

प्रमुख जिल्ला अधिकारीको कार्यभार सम्हालेको तीन महिना बित्न नपाउँदै देशमा कोभिड १९ संक्रमणको जोखिम बढ्यो। पहिलो चरणमा चीनमा रहेका विद्यार्थीलाई सरकारले नेपाल ल्याउने तयारी गर्‍यो। उनीहरुलाई राख्न क्वारेन्टाइन बनाउनुपर्ने भयो। तर, कहाँ बनाउने? सुरुताका त संक्रमित टोलमा राख्न हुन्न भन्ने आवाज बलियो थियो। संक्रमितलाई राख्यो भने गाउँमै कोरोना भाइरस सल्किने त्रास मानिसहरुमा थियो। त्यही मानसिकताले स्थानीयहरु क्वारेन्टाइन बनाउने विषयको बिरोधमा नै उत्रिए। सरकारले भक्तपुरको खरिपाटीमा क्वारेन्टाइन बनाउने निर्णय गर्‍यो। स्थानीय बिरोधमा उत्रिए, सडकमा आन्दोलन नै भयो। कोरोना भाइरसको त्रासले आत्तिएका स्थानीयलाई शान्त बनाउने जिम्मेवारी पाण्डेकै जिम्मेवारी बन्यो।

'आफु जोगिएर फिल्डमा गएर स्थानीयलाई सम्झाउनुपर्ने थियो। कतै आफैंलाइ त सर्ने होइन भन्ने पनि हुन्थ्यो। तर, यो संक्रमण, लकडाउनले गर्दा व्यवस्थापनको पाटोमा धेरै सिक्ने मौका भने मिल्यो,' पाण्डेले भनिन्।

कोभिड १९ संक्रमणपछि आइसोलेन, होल्डिङ सेन्टर, अस्पतालको व्यवस्थापन गर्नुपर्ने चुनौती एकएक गर्दै थपिँदै गयो। संक्रमणको समय बाह्य जिल्लामा सरकारको व्यवस्थापन कमजोर देखियो। तर, संक्रमितको सङ्ख्या, भौतिक संरचना र व्यवस्थापकीय रुपमा भक्तपुरमा भने ठूलो समस्या भित्रिएन। सीडीओ पाण्डे असफल हुने हो कि भन्ने त्रासमा थिइन्। त्यसैले दिनरात काममा जुटिरहिन्।

'हाजिर भएको मितिदेखि एक दिन पनि बिदामा बसिनँ। कोभिडको समयमा झनैं व्यवस्थापकीय कुराले चुनौती थपिरह्यो,' उनले भनिन्।

अहिलेसम्म भक्तपुरमा ७ हजार ३ सय जनामा कोभिड १९ संक्रमण भइसकेको छ। काठमाडौं उपत्यकाको तुलनामा यो सङ्ख्या निकै कम हो। संकट व्यवस्थापनमा उनले भक्तपुरबाट पाएको अनुभव गृह प्रशासन अन्तर्गत जहाँ रहेर काम गर्दा पनि उपयोगी हुने निश्चित छ।

अब उनी सीडीओको रुपमा बिदा हुँदैछिन्। उनको मनमा कहिकतै पनि महिला भएर काम गर्न सकिन र महिलाले जिल्ला हाक्न नै सक्दैनन् भन्ने रहेन भक्तपुरकै अनुभवका आधारमा। 'महिलालाई सरकारले पनि पारदर्शी, स्वार्थरहित बनाएको छ। अवसर र विश्वास गर्नुहोस्, महिलाले जिल्ला हाँक्न सक्छन्,' उनको स्वरमा आत्मविश्वास झल्कियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell