हङकङ : हङकङले मंगलवारदेखि लागू हुनेगरी सामाजिक दुरीको मापदण्डलाई थप कडा पारेको छ। पछिल्लो तीन महिना यताकै सबैभन्दा बढी संक्रमित पहिचान भएपछि मंगलवार देखि थप कडा मापदण्ड लागू भएको सिन्ह्वाले जनाएको छ।
हङ्कङको स्वास्थ्य सुरक्षा केन्द्रले मंगलवार मात्र ८० जनामा संक्रमण पुस्टि भएको जनाएको छ। जुन पछिल्लो ३ महिना यताकै बढी हो।
संक्रमित पहिचान भएका मध्ये १० जनाको संक्रमणको स्रोत पहिचान भएको छैन भने ६९ जना स्थानीय रुपमा संक्रमित भएका हुन्। त्यहाँको एउटा 'डान्स क्लब' लाई सुपर स्प्रेडरको रुपमा लिइएको छ। 'डान्सिङ क्लस्टर' बाट १८७ जना संक्रमित पहिचान भइसकेका छन्।
यससँगै त्यहाँका बार, डान्स क्लब, नाइट क्लब तथा पार्टी रुमहरुलाई सात दिनका लागि बन्द गर्ने निर्णय गरिएको छ। बिहीवारदेखि सात दिन सम्म यस्ता क्लब बन्द हुनेछन् भने बेंक्वेटहरुमा ४० जना भन्दा बढी सहभागी हुन नपाउने हङ्कङ विशेष प्रशासनिक क्षेत्र सरकारको सेक्रेटरी फर फुड एण्ड हेल्थ सोफिया चानले भनेकी छिन्।
त्यस्तै, लाइभ कन्सर्ट तथा डान्स क्लबहरुहरु बन्द हुँदा त्यहाँ होटलहरुमा पनि ग्राहकहरुको सीमा कायम गरिएको छ।
इनडोर गतिविधि बढ्न थालेसँगै हङ्कङमा संक्रमण बढ्दै गएको हो। कोभिड-१९ संक्रमण बढ्दै गएसँगै त्यहाँको सरकारले उच्च जोखिमा रहेका समूहलाई अनिवार्य परीक्षण गर्ने नीति लिएको छ। चानका अनुसार मंगलवार भएका दुई हजार ८०० परीक्षण मध्ये ५० मा संक्रमण देखिएको छ।
हङकङको अस्पताल अधिकारीहरुका अनुसार अझै २९० संक्रमितहरु उपचाररत रहेको र सातको अवस्था गम्भीर रहेको बताइएको छ।
त्यहाँको एक डान्स क्लबमा सहभागी ७३ जनामा संक्रमण देखिएपछि प्रहरीले कन्ट्याक्ट ट्रेसिङको आधारमा शंकास्पदहरुको खोजि गरिरहेको छ।
हङकङको क्षेत्रीय अपराध इकाइका प्रहरी अधिकारीहरु कन्ट्याक्ट ट्रेसिङका लागि लागि परेका छन्। हङकङका २० भन्दा बढी डान्स क्लवमा काम गर्नेहरुको अनिवार्य परीक्षण गर्न निर्देशन दिइएको छ।
ती क्लबमा करिब एक हजार रहेको र ती मध्ये हरेक १ जनाको सम्पर्कमा १० जना रहेको अनुमानसहित कन्ट्क्ट ट्रेसिङको काम अगाडि बढाइएको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ।
