PahiloPost

Dec 27, 2024 | १२ पुष २०८१

ड्युटीबाटै डीएसपी सम्पर्कविहीन, प्रहरीको टोली बनाएर सर्च अपरेसन गर्दा भेटिए होटेलमा



एम बम

ड्युटीबाटै डीएसपी सम्पर्कविहीन, प्रहरीको टोली बनाएर सर्च अपरेसन गर्दा भेटिए होटेलमा

कैलालीः मंगलबार राति ड्युटीमा खटिएका प्रहरी नायव उपरीक्षक (डीएसपी) भरत चौधरी  एकाएक सम्पर्कबिहीन भए।

कैलालीको गोदावरी नगरपालिकास्थित इलाका प्रहरी कार्यालय मालाखेतीका इन्चार्ज रहेका डीएसपी चौधरी सम्पर्कमा नआएपछि उनी मातहत तथा माथिल्लो प्रहरी नियकायले उनको खोजी गर्‍यो।

प्रहरीमा खैलाबैला नै मच्चियो। ड्युटीमा खटीएका डीएसपी सम्पर्कबिहीन हुनु आफैंमा सुरक्षाको हिसाबले संवेदनशील कुरा थियो। त्यसमाथि केही महिनाअघि कैलालीमा नै तस्करबाट दुई प्रहरी मारिएको घटना तरैताज थियो।

सात बजेसम्म ड्युटीमै रहेका डीएसपी चौधरी करिब १० बजेतिर खोजी गर्दा सम्पर्कमा नभेटिएपछि प्रहरीका लागि त्यसपछिको झन्डै १० घण्टा सकसपूर्ण बन्यो।

मङ्गलवार राति करिब १० बजेतिर पूर्व पश्चिम राजमार्ग अन्तरगत कैलालीको गौरीगंगा नगरपालिकाको चौमालामा सडक दुर्घटना भएपछि उनको खोजी भएको थियो।

गौरीगंगामा ना ३ ख ५९४२ नम्बरको ट्रकले सुप प्र ०१०० प ९७६ को मोटरसाइकललाई ठक्कर दियो। घटनामा मोटरसाइकल चालक गोदावरी नगरपालिका वडा नम्बर ४ का २२ वर्षीय अर्जुन चौधरी र मोटरसाइकलमा सवार २४ वर्षीय प्रेम चौधरी गम्भीर घाइते थिए।

दुर्घटनाबारे बुझ्न जिल्लाबाट सेट मोनिटरिङ्ग गर्न खोज्दा उनी सम्पर्कमा थिएनन्। उनको व्यक्तिगत नम्बर पनि बन्द पाइएपछि प्रहरीले दुई वटा टोली खोजीमा परिचालन गर्‍यो। कैलाली प्रहरी रातभर उनको खोजीमा जुट्यो।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक प्रतीक विष्ट र प्रदेश प्रहरी कार्यालयबाट छुट्टाछुट्टै टोली राती नै परिचालन गरिएको थियो।

रातभरको खोजीपछि उनी बुधवार बिहानै कैलालीको गोदावरी नगरपालिकाकै पहाडी क्षेत्र बुढीतोलाको एक होटेलमा मोटरसाइकलसहित फेला परे। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआइजी उत्तम सुवेदीका अनुसार राती १० बजेतिरबाट उनको खोजी सुरु भएको भएकोमा डीएसपी चौधरी आज बिहान कैलालीकै पहाडी क्षेत्र बुढीतोलामा फेला परेका हुन्।

‘सूचना संकलनको लागि जानु भएको बताउनु भएको छ। अन्य कुरा के हो बुझ्ने कार्य भइरहेको छ,’ उनले भने। चौधरीले त्यहाँ फोन नलाग्ने समस्या रहेकोले सम्पर्कमा आउन नसकेको बताएका छन्। 

घटनापछि डीएसपीलाई छानबिनका लागि जिल्ला झिकाइएको छ। ड्युटी चेक गर्दा फेला नपरेपछि जिल्लामा तानिएको सुदूरपश्चिम प्रदेश प्रहरी प्रवक्ता एसएसपी मुकेश सिंहले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell