PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

खुमलटारलाई तर्साउन बालुवाटारबाट हल्ला गरिएको हो, कांग्रेसले जनादेशको अपमान गर्न सक्दैन : महर



पहिलोपोस्ट

खुमलटारलाई तर्साउन बालुवाटारबाट हल्ला गरिएको हो, कांग्रेसले जनादेशको अपमान गर्न सक्दैन : महर

दाङ : नेपाली कांग्रेसका नेता नैनसिंह महरले सत्तारुढ नेकपाको अन्तर कलहले मुलुकलाई बर्बादीको बाटोमा लगेको आरोप लगाएका छन्। कोरोना महामारीले मुलुक सामु गम्भीर आर्थिक चुनौती आएका बेला प्रभाव न्यूनिकरणको दीर्घकालिन रणनीति बनाउनुपर्नेमा नेकपा लेनदेनको राजनीतिमा अल्झिएको महरको टिप्पणी छ।

नेपाल विद्यार्थी संघका पूर्वअध्यक्ष समेत रहेका महरले दाङमा सञ्चारकर्मीसँगको कुराकानीमा संकटमा नागरिकले सरकार भएको अनुभूति गर्न नपाएको जिकिर गरे। ‘नागरिकका समस्या र मुलुकको आवश्यकता एकातिर छन्, सरकार अर्कैतिर,’ नेता महरले भने, ‘झुटो नाराले भ्रम त छर्न सकिन्छ। तर मुलुक चलाउन सकिँदैन भन्ने पुष्टि भएको छ।’ सरकारको कार्यशैलीका सन्दर्भमा बोल्दै नेता महरले थपे, ‘नागरिक सिटामोल पाइरहेका छैनन्, प्रधानमन्त्री मुलुकमा आमुल प्रगतिको भ्रम छर्छन्। यो भन्दा दुर्भाग्य के होला?’

नेता महरले नेकपाका लज्जास्पद राजनीतिक गतिविधिले नागरिकमा व्यवस्थाप्रति नै बितृष्णा फैलिरहेको बताए। महरले भने, ‘जनताले दुई तिहाई मत दिएर सरकारमा पठाए तर सरकारले के गर्‍यो? नेकपाकै अध्यक्ष प्रचण्डले सचिवालयमा ल्याएको प्रतिवेदन पढे हुन्छ। सरकार असफल भएको कुरा कांग्रेस लगाएको आरोप मात्रै होइन, नेकपाकै दस्तावेजले पुष्टि गरेको छ। कम्युनिस्टको असली चरित्र यही हो, यिनीहरुबाट देश बन्ने कुरामा कसैले पनि भ्रम नपाले हुन्छ।’

सञ्चारकर्मीको जिज्ञासाका क्रममा महरले कांग्रेस जनताको म्याण्डेडभन्दा कहिले बाहिर नजाने जिकिर गरे। ‘खुमलटारका मान्छेलाई तर्साउन बालुवाटारबाट गरिएको हल्लाका पछाडि नलागौं, कांग्रेसले जनादेशको अपमान गर्न सक्दैन,’ महरले भने, ‘प्रमुख प्रतिपक्षी दलका नेताले प्रधानमन्त्रीलाई भेटेर मुलुकका बिद्यमान समस्या बारे सचेत गराउनुलाई नेकपाको अन्तर राजनीतिसँग जोड्नु उचित होइन।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell