PahiloPost

Jun 9, 2025 | २७ जेठ २०८२

अपराध नियन्त्रणका लागि नागढुङ्गा-कलङ्की सडकखण्डमा सीसी क्यामरा जडान



रासस

अपराध नियन्त्रणका लागि नागढुङ्गा-कलङ्की सडकखण्डमा सीसी क्यामरा जडान

काठमाडौं : चन्द्रागिरि नगरपालिकाले नागढुङ्गा-कलङ्की सडकखण्डमा अत्याधुनिक प्रविधिको सीसीटीभी क्यामरा जडान गरेको छ।

काठमाडौं उपत्यकाको मुख्यद्वारमा रहेको चन्द्रागिरि नगरपालिकाले शान्ति सुरक्षालाई चुस्तदुरुस्त ढङ्गले सञ्चालन गर्नका लागि मुख्य राजमार्ग क्षेत्रमा सीसीटीभी क्यामरा जडान गरेको हो।

नगरपालिकाका प्रमुख घनश्याम गिरीले राजमार्ग क्षेत्रमा हुने अपराध नियन्त्रणका लागि नगरपालिकाको एक करोड रुपैयाँको लागतमा अत्याधुनिक प्रविधिको सीसी क्यामरा जडान गरिएको जानकारी दिए।

‘सीसी क्यामरा जडानसँगै नागढुङ्गा-कलङ्की क्षेत्रमा सडक अनुशासन कायम गर्न सहयोग पुग्ने विश्वास हामीले लिएका छौँ,’ नगरप्रमुख गिरिले भने।

नगरपालिकाको वडा नम्बर २ नागढुङ्गादेखि वडा नम्बर १५ कलङ्कीसम्म राजमार्ग क्षेत्रमा ६७ क्यामरा जडान भएका छन्। उक्त क्यामराको निरीक्षण महानगरीय प्रहरी कार्यालय रानीपोखरीले गर्ने नगरपालिकाले जनाएको छ। राजमार्ग क्षेत्रमा चन्द्रागिरीको ११ वडा पर्दछन्। चन्द्रागिरी नगरपालिका वाग्मती प्रदेशकै सबैभन्दा ठूलो नगरपालिका हो। यस नगरपालिकामा १५ वडा रहेका छन्।

नगरपालिकाका प्रवक्ता एवं वडा नम्बर ११ का वडाध्यक्ष हरिभक्त महर्जनले चन्द्रागिरिले सबै वडामा सीसी क्यामरा जडान गर्ने बताए। मुख्य राजमार्ग क्षेत्रमा नगरपालिकाले सीसी क्यामरा जडान गरेपनि भित्रि बाटोमा भने वडाले सीसी क्यामरा जडान गर्ने प्रवक्ता महर्जनको भनाइ छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell