जनकपुरधामः बालिका हत्यापछिको प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको घटनामा आन्दोलनरत पक्ष र प्रशासनबीच चार बुँदे सहमति भएको छ। ६ वर्षीय बालिका गुलबसा खातुनको हत्या भएपछिको प्रदर्शनमा प्रहरीको गोली लागेर बर्दिबासमा स्थानीय सञ्जय न्यौपानेको मृत्यु भएको थियो।
न्यौपानेको मृत्युपछि न्यायको माग गर्दै भइरहेको प्रदर्शन साम्य पार्न प्रशासन र आन्दोलनरत पक्षबीच समझदारी भएको हो।
वार्तामा पीडितलाई क्षतिपूर्ति दिने, दुवै घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्ने, प्रहरीको गोली लागेर मृत्यु भएका सञ्जयलाई शहीद घोषणा गर्ने र प्रदर्शनमा घाइते भएकाहरुलाई उचित उपचार खर्चको व्यवस्था गर्ने विषयमा गृह मन्त्रालयलाई आग्रह गर्ने सहमति भएको महोत्तरीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले जानकारी दिए।
