PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

विदेशी खोलमा स्वदेशी अगरबत्ती राखेर बिक्री, वीरगंजको एक फर्मलाई अढाई लाख जरिबाना



राधेश्याम पटेल

विदेशी खोलमा स्वदेशी अगरबत्ती राखेर बिक्री, वीरगंजको एक फर्मलाई अढाई लाख जरिबाना

वीरगंज : भारतको बेङ्गलोरमा उत्पादित अगरबत्ती भनेर लोकल अगरबत्ती प्याक गरी बिक्री गर्दै आइरहेको एक फर्म कारबाहीमा परेको छ। वीरगंज महानगरपालिका वडा नम्बर १६ बाईपास बैष्णव मन्दिरस्थित निरज कुमार गुप्ताको नाममा रहेको जय अम्बे ट्रेड एन्ड जेनरल अर्डर सप्लायर्सलाई जिल्ला प्रशासन कार्यालय पर्साको अनुगमन टोलीले कारबाही गरेको हो।

सप्लायर्सले बेङ्ग्लोरको निल पर्फ्युमरी वर्क्सका विभिन्न ब्राण्डको केवडा, चम्पा र रजनीगन्धा अगरबत्तीको खोल (र्‍यापर)मा लोकल अगरबत्ती प्याक गरी बिक्री गर्दै आइरहेको भन्ने उजुरीका आधारमा अनुगमन गर्दा बेङ्ग्लोरका विभिन्न ब्रान्डका अगरबत्तीको खाली खोल १०० थान समेत सो स्थानबाट बरामद गरिएको छ।

सो फर्मले उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ३८ को खण्ड ‘ङ’ बमोजिम साबिक गुणस्तर, मुल्य ढाँटी, झुक्याई बिक्री गरेको कसुर गरेकोले सोही ऐनको दफा ३९ को खण्ड ‘घ’ बमोजिम २ लाख ५१ हजार रुपैयाँ तत्काल जरिबाना गरिएको हो।

जिल्ला प्रशासन कार्यालय पर्साका प्रशासकीय अधिकृत बिनय कुमार श्रीवास्तवको नेतृत्वमा गएको अनुगमन टोलीमा नायब सुब्बा नारायण प्रसाद आचार्य, बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय पर्साका नायब सुब्बा दिलीप खङ्ग, घरेलु तथा साना उद्योग कार्यालय पर्साका नायब सुब्बा अशोक पाण्डे, उपभोक्ता हित संरक्षण मञ्च प्रदेश नम्बर २ का अध्यक्ष केसी लामिछाने, वीरगंज महानगर अध्यक्ष अजित कुमार भुजेल, कोषाध्यक्ष संतोषमान रन्जितकार, जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी सहायक निरीक्षक पुष्कर भण्डारीलगायत उपस्थित थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell