PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

काठमाडौं ओर्लिए भारतीय विदेश सचिव शृङ्गला, आजै द्वीपक्षीय वार्ता, प्रधानमन्त्री र राष्ट्रपतिलाई पनि भेट्ने



पहिलोपोस्ट

काठमाडौं ओर्लिए भारतीय विदेश सचिव शृङ्गला, आजै द्वीपक्षीय वार्ता, प्रधानमन्त्री र राष्ट्रपतिलाई पनि भेट्ने

काठमाडौं : भारतीय विदेश सचिव हर्षवर्द्धन शृङ्गला दुई दिने नेपाल भ्रमणका लागि आइपुगेका छन्। परराष्ट्र सचिव भरतराज पौडेलको निमन्त्रणामा नेपाल आइपुगेका विदेश सचिव दुई दिनसम्म काठमाडौंमा विभिन्न भेट तथा छलफलमा व्यस्त हुनेछन्। 

आज बिहीबारबाट नै शृङ्गलाले औपचारिक छलफल सुरु गर्दैछन्। 

काठमाडौँ अवतरण भएलगत्तै शृङ्गला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आफू बस्ने होटल द्वारिका पुगेर १२ बजे परराष्ट्र मन्त्रालयमा पुग्दै छन्। 

मध्यन्ह १२ बजेदेखि परराष्ट्र मन्त्रालयमै परराष्ट्र सचिव भरत पौड्यासँग भेट गर्ने कार्यक्रम रहेको छ। त्यसपछि उनी होटल याक एण्ड यतिमा पुग्ने छन्। त्यहाँ परराष्ट्र सचिव पौडेलले भारतीय समकक्षीको सम्मानमा दिवाभोजको कार्यक्रम आयोजना गरेका छन्। 

त्यसपछि उनले परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीसँग शिष्टाचार भेट गर्ने छन्। 

आजै भारतीय विदेश सचिव शृङ्गला बालुवाटार शीतल निवास पुग्नेछन्। सिंहदरबारमा परराष्ट्र मन्त्री ज्ञवालीसँगको भेट लगत्तै उनी प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटका लागि बालुवाटार पुग्नेछन्। 

बालुवाटारको भेट पछि उनी त्यहीँबाट शीतल निवास पुग्नेछन्। राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गर्ने कार्यक्रम तय भएको छ। 

भारतीय दूतावास स्रोतका अनुसार उनले आज विभिन्न दलका नेतासँग भेट गर्न समय लिएका छन्।

नेकपाका अ‍र्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न उनी उनीहरुको निवासमै पुग्ने तयारी गरेका छन्।

त्यस्तै, जनता समाजवादी पार्टीका नेताहरुसँगको भेटका लागि पनि तयारी भइरहेको स्रोतले बतायो। 

शुक्रबार बिहान उनले भारतीय सहयोगमा गोरखा जिल्लामा निर्माण भएको विद्यालय भवनको उद्घाटन गर्नेछन्। साथै होटल सोल्टीमा एसिया इन्स्टिच्युट अफ डिप्लोमेसी एन्ड इन्टरनेशनल अफेयर्सले आयोजना गर्ने कार्यक्रममा प्रवचन दिनेछन्। 

उनी शुक्रवार १ बजे नयाँ दिल्ली फर्किने छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell