काठमाडौं : भारतीय विदेश सचिव हर्षवर्दन श्रृङ्गलाले नेपाल आउँदा खुशी लागेको बताएका छन्। यसअघि नै नेपाल आउन चाहेको भए पनि कोभिड-१९ले गर्दा आउन नसकेको बताए।
दुई दिने भ्रमणका लागि नेपाल आइपुगेका उनले भने- 'भारत र नेपाल निकटतम मित्र हो। नजिकको मित्रतालाई कसरी अगाडि बढाउने विषयमा कुरा हुन्छ।'
उनले पहिला परराष्ट्रसचिवसँग भेट हुने र त्यसपछि परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीसँग भेट गर्नेसमेत बताए।
साथै उनले उच्च राजनीतिक नेतृत्वसँग भेट गर्ने कार्यक्रम छ। त्यस्तै उनले भूकम्प पछिको पूर्ननिर्माणमा भारतको प्रतिवद्धता अनुसार गोरखामा ५० हजार मध्ये ४० हजार घर बनिसकेको जानकारीसमेत दिए। उनले शिक्षा क्षेत्रमा समेत सहयोग गर्ने भारतीय प्रतिवद्धता अनुसार गोरखा जिल्लामा पुर्ननिर्माण भएका तीन वटा विद्यालय भवनको उद्घाटन गर्ने जानकारी दिए।
श्रृङ्गला शुक्रवार गोरखा जाने कार्यक्रम रहेको छ। साथै उनले मनाङमा पुर्ननिर्माण गरिएको गुम्बाकोसमेत उद्घाटन गर्ने छन्।
