काठमाडौं : बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा थप दुई जना कोभिड-१९ संक्रमितको मृत्यु भएको छ।
मृत्यु हुनेमा एक जना बुटवलका र अर्का एक जना अर्घाखाँची जिल्लाको पाणिनीका रहेको अस्पतालले जनाएको छ।
गत कार्तिक १४ गते कोभिड-१९ को संक्रमण पुष्टि भएका बुटवल-९ का ८५ वर्षकी महिलाको उपचारका क्रममा बिहीवार बिहान २:४३ बजे मृत्यु भएको अस्पतालले जनाएको छ।
संक्रमित महिला होम आइसोलेसनमा बसिरहेकोमा स्वास्थ्यमा समस्या बढ्दै गएपछि २८ गते प्रादेशिक अस्पतालले सञ्चालन गरेको कोभिड विशेष अस्थायी अस्पताल धागो कारखानामा भर्ना भएकी थिइन्।
ज्वरो,निमोनिया,मधुमेह र स्वासप्रश्वासमा समस्या भई उपचारको क्रममा बिहीवार बिहान उनको मृत्यु भएको अस्पतालले जनाएको छ।
त्यस्तै अर्घाखाँची जिल्लाको गाँउपालिका वडा नं.५ का ७५ वर्षका पुरुषको पनि बिहीवार बिहान ६:२१ बजे मृत्यु भएको अस्पतालले जनाएको छ। मंसिर ४ गते कोभिड-१९ पोजिटिभ रिपोर्ट आई उनी ४ गते नै कोभिड विशेष अस्थायी अस्पतालमा भर्ना भएका थिए।
उनमा ज्वरो,मुटु रोग,निमोनिया र स्वासप्रश्वासमा समस्या भई उपचारको क्रममा बिहान मृत्यु भएको अस्पतालले जनाएको छ।
यससँगै अस्पतालमा ८१ जना कोभिड-१९ संक्रमितको मृत्यु भइसकेको छ। मृत्यु हुने मध्ये ६३ जना रुपन्देहीका मात्र हुन भने बाँकी १८ जना अन्य जिल्लाका हुन्।
