PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

'हेन्ड अफ गड' देखि 'शताब्दीको गोल'सम्म, जिनियस र बदनाम म्यारोडोनाको कथा



पहिलोपोस्ट

'हेन्ड अफ गड' देखि 'शताब्दीको गोल'सम्म, जिनियस र बदनाम म्यारोडोनाको कथा

अद्भुत, बदनाम, असाधारण, जिनियस र रिसाहा: डिएगो अर्मान्डो म्यारोडोना। फुटबलका एक महानायक गलत बाटो पनि हिँडे।

फुटबलमा चम्किएका खेलाडीहरु मध्ये अर्जेन्टिनी खेलाडी म्यारोडोनासँग प्रतिभा, शोख र रफ्तारको यस्तो भण्डार थियो कि उनी दर्शकहरुलाई मन्त्रमुग्ध बनाइदिन सक्थे। र, कतिपय विवादित कदमहरुले समर्थकहरुलाई निराश र आक्रोशित पनि बनाए उनले।

म्यारोडोनाले कहिलो विवादास्पद 'हेन्ड अफ गड'ले सबैलाई अचम्मित बनाए भने मैदान बाहिर ड्रग्सको लतमा लागेर समर्थकहरुलाई निराश पनि बनाए।

सानो कदका म्यारोडोना: फुटबलका जिनियस

म्यारोडोनाको जन्म ६० वर्षअघि अर्जेन्टिनाको राजधानी ब्युनस आयर्समा भएको थियो। गरिबीसँग लड्दै युवा अवस्थामा आइनपुग्दै उनी फुटबलका स्टार बनिसकेका थिए। उनका समर्थकहरु त ब्राजिलका महान खेलाडी पेले भन्दा पनि उनलाई सानदार खेलाडीका रुपमा मान्छन्।

म्यारोडोनाले ४९१ म्याचमा २५९ गोल गरेका थिए। अझ एउटा सर्वेक्षणमा त पेलेलाई पछि पार्दै २० औं शताब्दीको महान फुटबलरको गौरव आफ्नो नाममा गरेका थिए। यद्यपि, पछि भोटिङको नियम परिवर्तन गर्दै दुवै खेलाडीलाई सम्मान गरिएको थियो।

म्यारोडोनाले आफ्नो विलक्षण प्रतीभा बच्चा उमेरबाटै देखाएका थिए। त्यसैले त १६ वर्षको उमेरमै अन्तर्राष्ट्रिय फुटबलमा कदम राख्न सकेका थिए उनले।

कदले साना र केही मोटो शरीर : मात्र ५ फिट ५ इन्च उचाइ भएका म्यारोडोना सामान्य खेलाडी भने थिएनन्।

उनीसँग चलाखी, गति, सतर्क नजर, फुटबललाई नियन्त्रणमा राख्न सक्ने क्षमता थियो। ड्रिब्लिङमा त उनी अब्बल थिए नै। तर, उनको तौल बढी हुनाले केही समस्या पनि थियो।

 

हेन्ड अफ गड र गोल अफ द सेञ्चुरी

म्यारोडोनाले अर्जेन्टिनाका लागि ९१ म्याच खेले। जसमा उनले कुल ३४ गोल गरे। उनले अर्जेन्टिनालाई १९८६ मा विश्वकपको उपाधि दिलाए।

उनले करियर सन् १८८६ को विश्वकपमा क्वाटरफाइनलमा गरेको गोलको अझै चर्चा हुन्छ। म्याक्सिकोमा क्वाटरफाइनलमा इङ्ग्ल्याण्ड र अर्जेन्टिनाबीच म्याच चलिरहेको थियो। चार वर्षअघि फोकल्याण्डमा इङ्ग्लयाण्ड र अर्जेन्टिनाबीच युद्ध भएकाले पनि यो म्याच कम महत्वको थिएन।

२२ जुन १९८६ मा सास रोकिने किसिमको यो म्याचको ५१ मिनेट बित्यो। तर दुवै टिमबाट गोल हुन सकेन। त्यसैबेला म्यारोडोनाले विपक्षी टिमको गोलकिपर पिटर सेल्टन तर्फ उफ्रँदै हातले गोल गरे। हातले गोल गरेका कारण उनको यो गोल विवादास्पद बन्यो।

फुटबलको नियम अनुसर यो हेण्डबल थियो र म्यारोडोनाले पहेँलो कार्ड पाउनुपर्ने थियो तर त्यतिबेला भिडियो एसिस्टेन्ट रेफ्री (भीएआर) थिएन। र, रेफ्रीले हेण्डबल नदेखेका कारण यो गोल भयो। र, अर्जेन्टिनाले अग्रता लियो।

म्याचपछि म्यारोडोनाले उक्त गोल थोरै आफ्नो टाउकोले र थोरै भगवानको हातले गरेको बताएका थिए। त्यसपछि उक्त गोललाई 'हेण्ड अफ गड' भन्न थालियो।

त्यहीँ म्याचमा विवादित गोलको पाँच मिनेट पछि म्यारोडोनाले फेरि गोल गरे। जसमा उनले इङ्ग्लयाण्डका पाँच खेलाडी र गोलकिपरलाई छक्याउँदै गोल गरेका थिए। उक्त गोललाई 'गोल अफ दी सेन्चुरी' अर्थात शताब्दीको गोल भनेर पनि चिन्ने गरिन्छ।

यो म्याचपछि म्यारोडोनाले भनेका थिए: यो म्याच जित्नु भन्दा पनि बढी थियो। यसको नियत इङ्ग्ल्याण्डलाई विश्वकपबाट बाहिर पुर्‍याउनु थियो।

 

जब नापोलीका हिरो ड्रग्स र मदिराको लतमा परे

म्यारोडोनाले नापोली र बार्सिलोना जस्ता चर्चित फुटबल क्लबबाट खेले। र, त्यहाँ आफ्नो प्रभाव पनि राम्रोसँग जमाए।

सन् १९८२ मा तीन मिलियन पाउन्डमा स्पेनिस फुटबल क्लब बार्सिलोना र त्यस्तो दुई वर्षपछि ५ मिलियनमा नापोलीमा अनुबन्धित भएका थिए।

जब म्यारोडोना हेलिकप्टरमा चडेर नापोली पुगे त्यतिबेला ८० हजार भन्दाबढी समर्थकहरु आफ्नो नयाँ हिरोको स्वागतका लागि त्यहाँ पुगेका थिए।

क्लब फुटबलमा सबैभन्दा राम्रो करियर उनको इटलीमै रह्यो। त्यहीँबाट उनले राम्रो प्रसिद्धि पनि कमाए।

यद्यपि, इटलीमा सबै सेवा सुविधाहरु पाएर पनि म्यारोडोना खुशी हुन सकिरहेका थिएनन्। उनले एकपटक भनेका थिए, 'यो एकदमै राम्रो स्थान हो तर म यहाँ एकदमै मुस्किलले मात्र सास लिनसक्छु। म स्वतन्त्र र निसंकोच घुम्न चाहन्छु। म कुनै सामान्य मानिस जस्तै हुँ।'

यसैबीच उनी कोकिनको लतमा परे र इटलीको कुख्यात माफिया संगठन केमोरासँग पनि जोडिए।

सन् १९९१ मा एउटा डोप टेस्टमा पोजेटिभ पाइँदा १५ महिनाको प्रतिबन्धमा पनि उनी परेका थिए।

सन् १९९४ को विश्वकपमा प्रतिबन्धित ड्रग एफेड्रिन प्रयोग गरेको पाइँदा बीच प्रतियोगिताबाटै उनी प्रतिबन्धमा परेका थिए।

 

सन्यास पछिको जिन्दगी

तीन पटक डोपिङमा पोजेटिभ पाइएपछि म्यारोडोनाले आफ्नो ३७ औं जन्मदिनमा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिए। तर अफ्ठ्याराहरुले उनलाई पछ्यउन भने छाडेन।

म्यारोडोनाले एक पत्रकारलाई एयर राइफलले गोली पनि चलाएका थिए। जसका लागि उनलाई १० महिनाको जेलसजाय सुनाइएको थियो।

त्यस्तै, कोकिन र मदिराको नशाका कारण उनलाई स्वास्थमा समस्या देखिइरह्यो। उनको तौल बढेर १२८ किलोसम्म पुगेको थियो। सन् २००४ मा उनलाई हृदयघात भयो र आईसीयूमा पुग्नुपर्‍यो।

मोटोपन घटाउनका लागि उनले ग्यास्ट्रिक बाइपास सर्जरी गर्नुपर्‍यो भने ड्रग्सको लत छुटाउन पनि सहयोगको आवश्यकता पर्‍यो।

तमाम विवादास्पद घटनाक्रमका बाबजुद उनलाई सन् २००८ मा अर्जेन्टिनी राष्ट्रिय टिमको मेनेजर बने। त्यस पछि पनि चर्चाकै शिखरमा रहे।

एकपटक त कुकुरले उनलाई अनुहारमै टोकेर अपरेसनसमेत गराउनु परेको थियो।

उनले रुसको विश्वकपमा एक नाइजेरियन फ्यानसँग नृत्य गरेका थिए जुन फोटो सामाजिक सञ्जालमा निकै भाइरल भएको थियो। उनले उक्त म्याच सुरु हुनुभन्दा अघि आकाशतिर हेरेर प्रार्थन गरेका थिए। मेस्सीको गोलमा  झुमेर 'सेलिब्रेट' गरेका थिए भने अर्जेन्टिनाको दुई गोल पछि 'डबल मिडल फिंगर' ले स्यालुट गरेका थिए।

केही रिपोर्टहरुका अनुसार जीवनको अन्तिम वर्षहरुमा उनले आफ्नो जीवनशैली सुधार्नका लागि उनले उपचार पनि गराएका थिए।

अद्भुत, बदनाम, असाधारण, जिनियस र रिसाहा सबै थिए। असाधारण जीवन जिएका म्यारोडोना।

बीबीसी हिन्दीबाट भावानुबाद



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell