PahiloPost

Apr 19, 2026 | ६ बैशाख २०८३

एकै दिन सेयर बजारमा तीन रेकर्ड



पहिलोपोस्ट

एकै दिन सेयर बजारमा तीन रेकर्ड

काठमाडौं : सेयर बजारका लगानीकर्ताहरुले लामो समयदेखि पर्खिएको लयमा बजार फर्किएको छ। तीन दिनदेखि लगातार यसअघिको रेकर्ड नजिक पुग्ने दिशामा देखिएको सेयर बजारले आज यसअघिको उच्च सूचक विन्दु मात्र पार गरेर, त्यससहित तीनवटा नयाँ रेकर्ड बनाएको छ।

सेयर कारोबार सूचक नेप्सेले यसअघिको १८८१ अंकको विन्दु पार गरेर १८९३ को नयाँ रेकर्ड कायम गरेको छ। यससँगै नेपाल स्टक एक्सेचञ्जमा अहिलेसम्मै धेरै रकमको सेयर किनबेच भएको छ।

करीब साढे १८ अंकले बजार बढेर नयाँ रेकर्ड कायम गर्दा २०१ कम्पनीहरुको ७ अर्ब ६१ करोड ३० लाख रुपैयाँभन्दा धेरैको एक करोड ७१ लाख कित्ता सेयर किनबेच भएको छ। नेप्सेमा सूचीकृत कम्पनीहरुको बजार पुँजीकरणमा अर्को रेकर्ड बनेको छ।

बुधबार एकैदिन ६४ अंकको उछालसँगै १८७५ अंकनजिक पुगेर बन्द भएको सेयर बजार बिहीबार खुल्नेवित्तिकै पहिलो १० मिनेटभित्रै सूचकले १९०० अंक पार गरेको थियो।

बिहीबार एक समय सूचक अघिल्लो दिनको तुलनामा ५२ अंकले आकाशिँदै १९२७ विन्दूनजिकसम्म पुगेको थियो भने यो न्यूनतम १८८० अंकसम्म तल ओर्लिएको थियो। सोपछि पुनः उकालो लाग्दा उतारचढाव हुँदै अन्ततः १८९३ अंकमा पुगेर बन्द भएको हो।

बिहीबारको कारोबारमा नाफा बुक गर्नेहरु बजारमा सक्रिए रहँदा ५० अंकमाथिसम्मको उत्तरचढाव देखियो। सुरुआती तीव्र उछालपछि नाफा बुकका लागि पुनः बिक्रेताहरु बढ्दा रफ्तारमा उकालो लागेको परिसूचक तल ओर्लिन थालेको थियो।

एक बजेपछि बेपत्तासँग लगानीकर्ताको उपस्थिति बाक्लिएको थियो। बजार घट्दा बिक्री गर्नेहरु निष्क्रिय हुने र अलिकति बढ्दा हाबी हुने अवस्था आएपछि दिनभर नै बजार अस्थिर भएको थियो।

बिहीबारको कारोबारमा बैंकिङ, उत्पादन, हाइड्रोपवार र अन्य समुहको बृद्धिले मात्रै पनि बजारलाई हरियो बनाउन पर्याप्त देखिएको छ। बैंकिङ समुहको सूचक ३७ अंकले बढ्दा अन्य समुह १५ अंकले बढेको छ। हाइड्रोपवार ६ अंकले बढेको छ।

जीवन बीमा, निर्जिवन बीमा र ट्रेडिङ समुह उच्च अंकले घट्दा होटेल, फाइनान्स, माइक्रो फाइनान्स र विकास बैंकको सूचक पनि ओरालो लागेको छ।

बिहीबारको कारोबारमा सबैभन्दा धेरै निर्जीवन बीमा समुह १६५, जीवन बीमा समुह १३४ र ट्रेडिङ समुह १३० अंकले घटेको छ।

बजारमा धेरै पछि लघुबित्त कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेको छ। राष्ट्र बैंकको नयाँ नीतिका कारण बजारमा धेरै उत्तर चढाव गर्न नसकेको लघुवित्त कम्पनीले नेप्सेको ऐतिहासिक उचाईमा भने एउटा कम्पनीको सेयर मूल्य १० प्रतिशतको बृद्धि भएको हो।

यसका साथै पाँचथर पावर कम्पनी, हिमालयन ऊर्जा विकास र आखुखोला जलविद्युत कम्पनीको मूल्य पनि करिब १० प्रतिशतले बढेको छ।

नबिल बैंक, नेपाल पुनर्विमा कम्पनी, शिभम् सिमेन्ट, नेपाल बङ्गलादेश बैंक, चिलिमे जलविद्युत कम्पनी र कुमारी बैंकको मूल्य ५ देखि ८ प्रतिशत सम्म बढेको छ।

सर्वाधिक घट्ने कम्पनीमा भने साल्ट ट्रेडिङ, न्यादी ग्रुप पावर, सांग्रिला विकास बैंक, बोटलर्स नेपाल तराई र मल्टिप्रपोज फाइनान्सको मूल्य ४ देखि ६ प्रतिशत सम्मले घटेको छ।

बिहीबार सर्वाधिक कारोबार हुने कम्पनीमा नेपाल पुनर्विमाले सबैलाई उछिनेको छ। पुनर्विमाको ५८ करोड रुपैयाँको शेयर किनबेच हुँदा नबिल बैंकको ३८ करोड, शिवम् सिमेन्टको र नेपाल टेलिकमको २८/२८ करोड र नेपाल बैंकको २५ करोड रुपैयाँको शेयर किनबेच भएको छ।

प्रभु बैंक, नेपाल बैंक, कुमारी बैंक र नेपाल केरेडिट एण्ड कमर्स बैंक र पुनर्विमा कम्पनीको शेयर संख्यात्मक रुपमा धेरै किनबेच भएको छ।

२०१ कम्पनीको सेयर किनबेच हुँदा ४८ कम्पनीको सेयर मूल्य बढेको छ भने ११७ कम्पनीको मूल्य घटेको छ। ७ वटा कम्पनीको मूल्यमा कुनै परिवर्तन भएको छैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell