मकवानपुर : वाग्मती प्रदेश सरकारले संघीय राजधानी काठमाडौंलगायत विभिन्न सहरलाई प्रदेशको राजधानी हेटौँडासँग जोड्न सरकारी बस सञ्चालन गर्ने गृहकार्य शुरु गरेको छ।
भौतिक पूर्वाधार तथा विकासमन्त्री रामेश्वर फुयाँलले प्रदेशअन्तर्गत काठमाडौंलगायत विभिन्न सहरमा केही महिनाभित्रै विद्युतीय बस र अन्य सवारी साधन सञ्चालन गर्न सरकारले गृहकार्य शुरु गरिसकेको बताए।
उनले मन्त्रिपरिषद्को बैठकले प्रदेशमा यातायात व्यवस्था सञ्चालन गर्ने अध्यादेश-२०७७ लाई बुधवार स्वीकृत गरेपछि प्रदेशको १३ जिल्लाको ११९ स्थानीय तहमा विद्युतीय सवारी साधन सञ्चालन गर्ने क्रममा विद्युतीय चार्जिङ् स्टेशन निर्माण गर्न पत्राचार गरिसकिएको बताए।
उनले प्रदेश यातायात सञ्चालन तथा व्यवस्थापन बोर्ड गठन भइसकेकाले उक्त बोर्डको कार्यकारी निर्देशक र उपनिर्देशकको पदमा खुल्ला प्रतिस्पर्धाको माध्यमबाट नियुक्ती गर्ने प्रक्रिया शुरु भइसकेको जानकारी दिए।
मन्त्री फुयाँलले विद्युतीय सवारी साधनलाई तत्कालै सञ्चालन गर्ने प्रक्रियालाई सहजीकरण गर्न नेपाल विद्युत् प्राधिकरण, नगर विकास कोष, स्थानीय तहसँग सरकारले समन्वय गरी प्रक्रिया अघि बढाइसकिएको पनि स्पष्ट पारे।
उनले प्रदेशको काठमाडौं, ललितपुर, भक्तपुर, धादिङ, चितवन, मकवानपुरलगायत अन्य सहरमा विद्युतीय सवारी साधन सञ्चालनका लागि चार्जिङ स्टेशन लाइन विस्तार गर्न सरकारले नेपाल विद्युत् प्राधिकरणसँग सहकार्य गरिरहेकोे र छिट्टै ती सहरमा विद्युतीय लाइन विस्तार हुने विश्वास व्यक्त गरे।
मन्त्री फुयाँलले त्रिभुवन राजपथ एवं नौबिसे-मुग्लिन सडकखण्डमा पनि विद्युत् चार्जिङ स्टेशन निर्माणको लागि विद्युत् प्राधिकरणमार्फत सर्वे भइरहेको र कहाँ-कहाँ स्टेशन राख्न आवश्यक छ तथ्याङ्क संकलन भइरहेको जानकारी दिए।
उनले भैँंसे-भीमफेदी एवं भीमफेदी–कुलेखानी विस्तारित सडकखण्डको पनि बिहीवार निरीक्षण गरे। पोष्टबहादुर बोगटी भीमफेदी-कुलेखानी सुरुङ्मार्ग निर्माणको काम छिट्टै प्रारम्भ गर्ने र त्यस क्षेत्रमा पर्ने निजी घर जग्गाको हकमा कानुनी प्रक्रिया पूरा गरी सम्बन्धित व्यक्तिलाई क्षतिपूर्ति उपलब्ध गराउन भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामा र सरोकार समितिलाई समेत उनले निर्देशन दिए।