काठमाडौंः नेपाल वायुसेवा निगमको जहाजमार्फत हङकङ जाने यात्रुको पीसीआर परिक्षणको जिम्मा केन्द्रीय प्रयोगशालालाई दिइएको छ। बिहीबार स्वास्थ्य मन्त्रालय, नेवानि लगायत निकायका प्रतिनिधिबीचको छलफलपछि यो निर्णय भएको हो।
यसअघि निगममार्फत हङङक जाने यात्रुले ह्याम्स, स्टार लगायत निजी अस्पतालको प्रयोशालामा कोभिड-१९को परिक्षण गराउँदै आएका थिए।
उडानको नतिजाका आधारमा अर्को उडानदेखि केन्द्रीय प्रयोगशालासँगको समन्वयमा अन्य सरकारी प्रयोगशालालाई पनि यो जिम्मेवारी दिइने विषयमा छलफल भएको निगमका प्रबन्ध निर्देशक डिमप्रसाद पौडेलले बताए।
'अब निगमको नियमित उडानमार्फत हङकङ जाने यात्रुको पीसीआर केन्द्रीय प्रयोगशालाबाट गराइने निर्णय भएको छ। प्रयोगशालालले परिक्षण गराएको २४ घण्टाभित्र रिपोर्ट दिने जनाएको छ। अब हङकङ उडान गर्नका निजी प्रयोगशालाको रिपोर्ट मान्य हुनेछैन,' उनले भने।
यसअघि निजी अस्पताल तथा अन्य प्रयोगशालाबाट जारी नेगेटिभ पीसीआर रिपोर्ट बोकेर हङकङका साथै जापान र युएई उडेका यात्रुको गन्तव्य मुलुकमा पुन: कोभिड परिक्षण गर्दा रिपोर्ट पोजेटिभ देखिएको थियो।
एउटा उडानमा मात्र नभएर पटक-पटकको उडानमा निगमबाट यात्रा गर्ने विभिन्न यात्रुको पीसीआर रिपोर्ट नेपालबाट उड्दा नेगेटिभ तर गन्तव्य मुलुकमा पुनः गरिएको परिक्षणमा पोजेटिभ देखिएपछि हङकङले नेवानिको उडानमा मंसिर १० गतेसम्मलाई रोक समेत लगाएको थियो।
यसले निगमका साथै नेपालकै बदनाम हुने स्थिति बनेपछि नागरिक उड्डयन प्राधिकरणले निजी स्वास्थ्य संस्थाबाट जारी पीसीआरमा कैफियतको आशंका गर्दै छानबिन गरी कारवाही गर्न स्वास्थ्य मन्त्रालयलाई अनुरोध गरेको थियो।
कोभिड-परीक्षण विवरणमा चुकेर तीन पटकसम्म प्रतिबन्ध लगाइएपछि आउँदो ३० तारिखमा नेपाल वायुसेवा निगमले काठममाडौं-हङकङ उडान गर्दैछ।
हङकङ उडानका लागि दुई सयभन्दा बढी यात्रुले टिकट काटिसकेको निगमले जनाएको छ।
गत शुक्रबार (अक्टोबर २० तारिख) मा निगमले उड्डयन, स्वास्थ्य लगायत सम्बन्धित मन्त्रालयलाई सरकारी प्रयोगशालामा परीक्षण व्यवस्था गराइदिन पत्राचार गरेको थियो।
यात्रुले पेस गरेको कोभिड-१९ परिक्षण रिपोर्टमै विश्वसनीयताको आँच आएको भन्दै गत अक्टोबरदेखि हङकङ एयरपोर्टले तीन पटक नियमित उडानमा रोक लगाएको थियो।
उडानमा चारजनामा संक्रमण पुष्टि भएपछि सुरुमा हङकङले अक्टोबर ४ तारिखदेखि १७ तारिखसम्म प्रतिबन्ध लगाएको थियो। उडानमा संक्रमित संख्या बढेर नौजना पुगेपछि हङकङ एयरपोर्टले अक्टोबर २२ देखि नोभेम्बर ४ सम्म प्रतिबन्ध लगाएको थियो।
यसपछि एक साताकै अन्तरालमा भएको काठमाडौं-हङकङ उडानमा १४ जना संक्रमित पुष्टि भएका थिए। जसका कारण हङकङले नोभेम्बर १२ देखि २५ तारिखसम्म उडानमा प्रतिबन्ध लगाएको थियो।
निजी प्रयोगशालामा गराउँदै आएको परिक्षण नतिजालाई हङकङ एयरपोर्टले पुनः परीक्षणबाट गलत ठहर्याएपछि निगमले सरकारलाई ध्यानाकर्षण पत्र समेत बुझाएको थियो।
अन्तर्राष्ट्रिय उडान खुला भएसँगै निगमले काठमाडौं-हङकङतर्फ साताको एउटा उडान गर्दै आएको जनाएको छ।
