PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

बालुवाटारबाट कतिञ्जेल भ्रम फैलाइरहने प्रधानमन्त्रीज्यू, के सरकार साँच्चै नै बेबारिसे बनेको हो?



नेत्र तामाङ

बालुवाटारबाट कतिञ्जेल भ्रम फैलाइरहने प्रधानमन्त्रीज्यू, के सरकार साँच्चै नै बेबारिसे बनेको हो?

प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीवार तेस्रो सामाजिक सुरक्षा दिवसका अवसरमा सामाजिक सुरक्षा कोषले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै भने : हिजो झै आज सडकमा न सडक बालबालिका छन्। न सडकमा सहयोगापेक्षी मानवहरु छन्। न भिखमगुवाहरु छन्।

जगजाहेर छ - सत्तासीन सहर काठमाडौंमा एक छाक खानका लागि भिख मग्नेहरुको गाँस खोस्न सरकार कसरी लागिपरेको थियो।

'के यसरी जबरजस्ती समस्याको समाधान हुन्छ?' प्रधानमन्त्रीलाई नागरिकको प्रश्न थियो। चौतर्फी आलोचनापछि थापाथली सारियो खान खुवाउने ठाउँ।

केही समयअघि सुनेको थिएँ : कम्युनिस्ट सत्ताले गरिबहरुलाई मारेर गरिबी घटाउँछ। तर नेपाली कम्युनिस्टको चरित्र त्यस्तो नभएको बताइएको थियो। के अहिले यसरी सहरबाट जबरजस्ती सहयोगापेक्षी मानिसहरुलाई हटाएर प्रधानमन्त्रीले यस्तो दावा गर्न मिल्छ?

अभावमा पिल्सिएकाले खाना खाएको देखेर सरकारलाई आफ्नो सहरमा माग्नेहरु देखिए भन्ने डर लाग्यो। सत्तामा बसेर जनताको बेथा नबुझ्ने प्रधानमन्त्रीले यसरी जबरजस्ती गरेर देशमा न त सडक बालबालिका छन् त त भिखमागुवाहरु छन् भन्नु कतिको जायज हो?

यो घाम झैं छर्लंगा नै छ : सडक बालबालिकाको अवस्था कस्तो छ? भिखमागुवाहरुको अवस्था कस्तो छ भनेर। यस वर्ष बीबीसीको सार्वाधिक प्रभावशाली महिलाको सूचीमा परेकी सपना मगरको प्रश्न छ प्रधानमन्त्रीलाई : बालुवाटारको प्रधानमन्त्रीको घरको झ्यालबाट बेबारिसेलाई नदेखेको हो कि?

प्राइम टेलिभिजनमा पत्रकार ऋषि धमलासँग प्रश्न गर्दै उनले भनेकी छिन्, 'बेवारिसको व्यवस्थापन सरकारले गर्नुपर्ने हो। हाम्रो देशको राज्य सरकार आफै बेवारिसे छ। सरकाले जहिले पनि छैन नै भन्छ। उत्कृष्ट नै छ भन्छ। तर विश्वले देखाउँदा कस्तो लाग्यो होला।'

सपनाको भनाई छ : प्रधानमन्त्री पनि सडकमै पुग्नुपर्ने हो। उहाँले आफैले भोगेमात्र थाह हुने हो। आगोले पोल्नेको पीडा आगो बाल्नेलाई थाह हुँदैन।

सडकमा दीनदुखीको अवस्था कस्तो छ? सरकारलाई यसको डाटा थाह हुनुपर्ने हो। तर, नयाँ युगको शुरुवात गरेका प्रधानमन्त्रीलाई अहिले यी सबै कोरोना त्रासले रोकेको हुन सक्छ। यी सबै रोकिएका छन्।

सरकार दिनानुदिन झुटको पर्दा थपेर लुकिरहेको घटना योमात्र हैन। देशमा भ्रष्टाचारको प्यारामिटर उकालो ग्राफमा चढेको छ। कोरोनाकालमा सरकार जनतालाई जोगाउन हैन आफ्नो खल्ती भर्न लागेको छ। आरडीटी काण्डदेखि अनेकन काण्ड यही कोरोना कालमा भयो। अहिले कोरोना रोकथाम तथा नियन्त्रणमा सकारले हात उठाएको छ।

हालै ट्रान्सपरेन्सी इन्टरनेसनलको ग्लोबल करप्सन ब्यरोमिटर (जीसीबी) एसियाको प्रतिवेदनले पनि सरकार कति भ्रष्टाचारी छ भन्ने पुष्टि गरिसकेको छ। जीसीबीकाअनुसार भ्रष्टाचारको मुल कारण सरकार नै हो।

एसियाका १६ देशमध्ये नेपालमा सबैभन्दा धेरै ५८ प्रतिशतले भ्रष्टचार बढेको देखिन्छ।

यस्तो अवस्थामा पार्टीभित्र विवादको तरंग सिर्जना गरेर जनतालाई कहिलेसम्म ढाँटरहने? भ्रमको पर्दाभित्र कति दिन लुकिरहने?

कोरोना कहरको समयमा सबैभन्दा बढी भ्रामक समाचार फैलाउने काम सरकारबाटै भयो। कोरोना रोकथाममा सरकारी व्यवस्थापन केही देखिदैन। दैनिक २३/२३ हजार पीसीआर टेस्ट भएको दाबी गर्ने प्रधानमन्त्रीले पछिल्लो टेस्टको दर हेर्दा हुन्छ - १० हजार पनि कटेको छैन पीसीआर परीक्षण।

'कोरोना भनेको एउटा रुघाखोकीजस्तो हो, लागिहाल्यो भने हाँच्छ्युसाँछ्यु गर्नुपर्छ। तातोपानी खानुपर्छ। उडाइदिनुपर्छ,' प्रधानमन्त्री ओली आफैले यसो भने।

समुदायस्तरमा संक्रमण फैलिसक्दा पनि सरकारले धेरै समय गुपचुप राख्यो यो विषयलाई। अहिले यता थुने, उता बढ्ने, उता छेके यता बढ्ने भइरहेको छ। कोरोना रोकथाम तथा नियन्त्रणका लागि गठन भएको उच्चस्तरीय समिति अहिले के गर्दैछ?

यसरी जनतालाई भ्रमैभ्रम बाँडेर भ्रमैभ्रमको नयाँ युग शुरु गरेको हुन् हाम्रा प्रधानमन्त्रीले?

चुलाचुलामा पाइपबाट ग्यास पुर्‍याउने वाचा गरेका प्रधानमन्त्री पानीजहाजदेखि हावाबाट बिजुली निकाल्नेसम्मका सपना बाँडेका थिए।

तर विकासको कुराभन्दा पनि यो सरकारको पालामा घोटाला काण्ड नै बढी देखियो। वाइडबडी भ्रष्टाचार काण्ड, ३३ किलो सुन गायब काण्ड, बालुवाटार जग्गा काण्ड, मेलम्ची खानेपानी घोटाला काण्ड यसअघि नै भएको थियो। बालुवाटार जग्गा काण्डका मुख्य आरोपी भनिएका सत्ताधारी पार्टीका महासचिव अहिले अर्थमन्त्री भएका छन्।

तर सोही घटनामा मुछिएका प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका उपसभापति विजय गच्छदारको संसद पद खोसिएको छ। उनीमाथि मुद्दा चलेको छ।

यस्तो काण्डपछि प्रमुख प्रतिपक्षी दल अहिले नुन खाएको कुखुरा झैं झोक्रिएको छ। नभए बेलाबेला काण्डैकाण्डको सरकार भन्दै सडकमा वाइडबडी जहाज बनाएर प्रदर्शन गरिरहेको भेटिन्थ्यो। बालुवाटार काण्ड उछालेर चर्चामा आएको काँग्रेस आफ्नै उपसभापतिको सांसद पद खोसिएपछि अक्कनबक्क छ। हुन त काँग्रेस छाया सरकार गठन गरेर नेकपाको सरकारको छाया बनेर यिनकै लोरी गाउँदै हिडेँको आरोप पनि लाग्ने गरेको छ।

सीमा समस्यमा कहिलेसम्म राष्ट्रवादी बनिरहेन हो पत्तो छैन। कुनै बेला भारतबाट आएको कोरोना अलि कडा भएको भन्दै विवादमा आएको प्रधानमन्त्री ओलीको अहिले भारतीयहरुसँग हिमचिम बढेको छ। भारतीय सेना प्रमुखदेखि भारतीय विदेश सचिवसँग कोरोनाकालमै भेट भयो। यो भेटको राजनीतिक संक्रमण कतिको कडा गरी फैलाने हो त्यो त हेर्न बाँकी नै छ। तर झुटको पर्दा भने विस्तारै खुल्दै जाने छ नै।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell