PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

साताको दुई दिन पुलको ढोका उघ्रिँदा सीमानाका बासिन्दाको घट्यो सास्ती



कमलराज भट्ट

साताको दुई दिन पुलको ढोका उघ्रिँदा सीमानाका बासिन्दाको घट्यो सास्ती

दार्चुला : दार्चुलाको खलंगा नाका सातामा दुई दिन खुल्ने भएसँगै सीमावर्ती क्षेत्रका नागरिकको जीवन सहज हुने भएको छ। जिल्ला प्रशासन कार्यालय दार्चुला र भारतको धारचुला प्रशासनले बुधवार र शनिवार नाका खोल्ने सहमति गरेसँगै लकडाउन यता तालाबन्दी लाग्दै आएको झोलुङ्गे पुलको ढोका आंशिक रुपमा भए पनि खुल्ने छ।

प्रमुख जिल्ला अधिकारी शरद कुमार पोखरेलले नाकामा हुने भिडभाडलाई कम गर्न सातामा दुई दिन पुल खोल्ने सहमति भएको बताए। ‘नाकामा जथाभावी भिड नहोस्, व्यवस्थित गरौं भनेर भारतीय पक्षसँग समन्वय गरेर नियमित साताको दुई दिन खोल्ने प्रबन्ध मिलाएका छौं,’ सीडीओ पोखरेलले भने।

गत साताको सोमवार पनि छाङरु र तिंकरवासी कुञ्चा सर्नका लागि खलंगा नाकाको पुल खुलेको थियो। अब बुधवार र शनिवार प्रत्येक साता १० देखि ३ बजेसम्म पुलमा लाग्ने गरेको ढोका खुल्नेछ।

नाका खुलेसँगै दुवैतर्फ चहल पहल बढेको छ। दार्चुलाका पत्रकार नरेन्द्र कार्कीका अनुसार नेपाली मजदुरी गर्न भारततिर लागेका छन्। साथै सामान किनमेल गर्न पनि धारचुला बजार जान थालेका छन्। त्यसैगरी भारतीयहरु पनि किनमेल तथा मजदुरहरु आउन थालेका छन्।

त्यसैगरी जोलीजिवी र लालीको नाका पनि दैनिक एक घण्टा खुल्ने भएको छ। पेन्सन लिनेहरुलाई आवतजावतका लागि आजदेखि दिनको एक घण्टा नाका खुल्ने प्रशासन कार्यालयले जनाएको छ।

तिंकरका सय परिवार कुञ्जा सरे, छाङरुका आउँदै

प्रमुख जिल्ला अधिकारी पोखरेलका अनुसार ब्यास गाउँपालिका एक तिंकर गाउँका सय परिवार कुञ्जा सरेका छन्। नेपालतिरको घोडेटो बाटो जिर्ण भएकाले तिंकरवासीलाई भारतीय प्रशासनसँग समन्वय गरी भारतीय बाटोबाट खलंगा ल्याइएको सीडीओ पोखरेलले जानकारी दिए।

‘तिंकर र छाङरुका दुई सय घर परिवारमध्ये तिंकरका सय परिवारलाई भारतीयसँग समन्वय गरेर प्रवेश गराइसकेँ। गाईवस्तुसहित सय परिवारको अर्को बस्ती दुई चार दिनमा आउँदैछ,’ उनले भने। 

नेपाली सेनाले बाटो बनाएको भए पनि हिँड्न मिल्ने गरी छिचोल्ने काम भने पूरा भएको छैन। कोरोना भाइरसका कारण भारत र नेपाल दुवैतिर लकडाउन हुँदा सीमा पूर्णत सील गरिएको थियो। त्यसको असर सीमाका मानिसहरुमा परेको थियो।

कालापानीबारे पत्रले बिग्रिएको थियो सम्बन्ध

लिम्पियाधुरा, लिपुलेक र कालापानीको विवाद उत्कर्षमा पुगेका बेला जुलाई १४ मा भारतले सूचना दिन भन्दै जिल्ला प्रशासन कार्यालय दार्चुलालाई एउटा पत्र लेख्यो।

धारचुलाका उपजिल्ला अधिकारी अनिलकुमार शुक्लाले हस्ताक्षर गरेको पत्रमा विभिन्न नेपाली गुट/समूह मिडियाको ध्यानाकर्षण गर्न र दुवै राष्ट्रका प्रशासनको परेशानी बढाउन ‘भारतीय क्षेत्र’ गुञ्जी, कालापानी, लिम्पियाधुरामा अवैध रुपमा लुकिछिपी सीमा पार गर्न चाहेको सूचना विशेष सुत्रमार्फत प्राप्त भएको उल्लेख गर्दै नेपाली प्रशासनलाई कुनै सूचना प्राप्त भए तत्काल जानकारी गराउन अनुरोध गरिएको थियो।

लिम्पियाधुरा, लिपुलेक र कालापानी प्रकरणले काठमाडौं-दिल्ली सम्बन्ध बिग्रिएका बेला भारतीय पत्रले नेपालीलाई थप उत्तेजित बनायो। काठमाडौंको उत्तेजना एकातिर थियो भने सीमा क्षेत्रका बासिन्दाको दैनिकसँग जोडिएको नाकाको सम्बन्ध अलग। 

भारतीय पत्रको जवाफ लेख्नुपर्ने जिम्मेवारी भर्खरै सरुवा भएर दार्चुला पुगेका सीडीओ पोखरेलसामु थियो। गृह मन्त्रालयको अनुमतिमा पोखरेलले तत्कालीन सहायक प्रमुख जिल्ला अधिकारी टेकसिंह कुँवरलाई जवाफीपत्र लेख्न लगाए।

‘नेपाल र ब्रिटिस इन्डिया कम्पनीबीच सन् १८१६ मा सम्पन्न सुगौली सन्धिको धारा ५, त्यस समयमा प्रकाशित नक्साहरु र ऐतिहासिक तथ्य एवं प्रमाणहरु अनुसार काली (महाकाली) नदी र सोपूर्वका लिम्पियाधुरा, कुटी, नाबी, गुंजी, कालापानी र लिपुलेकलगायतका क्षेत्रहरु नेपालको भूभाग रहेको कुरा स्पष्ट नै छ। ती नेपाली भूभागहरुमा नेपालीहरुको आवत–जावत स्वाभाविकै रहेको र त्यसमा कहीँ कतैबाट बाधा अड्चन हुनु हुँदैन भन्ने नेपालको धारणा रहेको कुरा जानकारी आदेशानुसार गराउन चाहन्छु,’ पठाइको पत्रमा यही लेखियो।

पत्रपछि खलंगा र धारचुला प्रशासनबीचको सम्बन्ध पनि चिसोयो। भारतीय अधिकारीले नेपाली प्रशासनलाई ‘इग्नोर’ गर्न थाले। प्रमुख जिल्ला अधिकारी पोखरेलसहित अन्य नेपाली अधिकारीको फोन उठाउनै छाडे भारतीय समकक्षीले। कुनै रेस्पोन्स नै हुन छाड्यो। जति संवाद भए औपचारिक मात्र। सूचना आदान प्रदान पनि इमेलमा हुन थाल्यो। यो सिलसिला असोजसम्म चल्यो।

असोजमा भारतीयको काम परेपछि बल्ल भारतीय प्रशासन अधिकारीले फोन गरे। अहिले अहिले वारिपारि समन्वय राम्रो हुँदै गएको सीडीओ पोखरेलले बताए। ‘बीचमा केही असामञ्जयस्ता पैदा भएको थियो। अहिले समन्वय राम्रो छ। दुवै देशका नागरिकको हित हुनेगरी कोर्डिनेशन गरिरहेका छौं,’ उनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell