PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

नेकपा विवादको वारपार अब सचिवालय बैठकमै : १० दिनसम्म ओली प्रचण्डको भएन बोलचाल, 'प्रचण्डलाई जवाफ दिन कडा प्रतिवेदन तयार'



प्रकाश भण्डारी

नेकपा विवादको वारपार अब सचिवालय बैठकमै : १० दिनसम्म ओली प्रचण्डको भएन बोलचाल, 'प्रचण्डलाई जवाफ दिन कडा प्रतिवेदन तयार'

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक बस्न एक दिनमात्रै बाँकी छ। विवाद समाधानका लागि भोलि बैठक तय भए पनि समस्या झनै बढ्दै गएको छ। नेकपाका दोस्रो तहका नेताहरुले दुई अध्यक्षबीच संवादको प्रयास गरे पनि त्यो सफल हुन सकेको छैन। 

कातिक २८ गतेको सचिवालय बैठकमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहल प्रचण्डले अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीमाथि आरोप लगाउँदै राजनीतिक प्रस्ताव प्रस्तुत गरेपछि नेकपाको विवाद पछिल्ला दिनमा झनै चुलिएको छ। मंसिर ३ मा बसेको बैठकमा ओलीले प्रचण्डलाई जवाफ दिन १० दिनको समय मागेपछि बैठक मंसिर १३ सम्मका लागि स्थगित भएको थियो।

१० दिनसम्म पनि भएन ओली प्रचण्डको बोलचाल

नेकपाका दोस्रो तहका नेताहरुले दुबै अध्यक्षलाई भेटेर भेटघाटका लागि प्रयास गरे पनि बालुवाटारमा नभेट्ने प्रचण्डको अडानपछि उनीहरुबीच संवाद हुन सकेको छैन। ओली निकट एक नेताका अनुसार १० दिनसम्म भएका प्रयास सफल भएनन्। 'अहिलेसम्म हामी जे जति लागिरहेका छौं। एक पक्षले टसको मस नभएपछि सफल हुन सकेन। अहिले त दुई अध्यक्षबीच संवादको अवस्था नै छैन,' ती नेताले भने। प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले पनि १० दिनसम्म बोलचाल नभएको बताए। '१० दिनको अवधिमा पनि कुनै कुराकानी भएको छैन। भेटघाट त परको कुरा,' उनले भने। उनले प्रचण्ड अब बैठकभन्दा बाहिर ओलीसँग कुनै सम्झौता गर्ने पक्षमा नरहेको बताए। उनले भोलि बस्ने बैठककै लागि भने प्रचण्डले तयारी गरिरहेको बताए। 'अब जेजस्तो सहमति सम्झौता हुने हो बैठकमै हुने हो। त्यसैको तयारी भइरहेको छ,' उनले भने। 

ओली पछिल्लो दिनमा केही नरम भए पनि प्रचण्डले वारपारको अवस्थामा जाने अडान राखेपछि अब बस्ने सचिवालय बैठकमा झनै पेचिलो हुने देखिएको छ। वरिष्ठ नेता माधव नेपाल र प्रचण्ड पक्षले सचिवालयमा पेश भएको प्रस्तावलाई देशव्यापी रुपमा पार्टी कमिटीमा वितरण गरेपछि नेकपा विभाजनकै अवस्थामा पुगिसकेको ती नेताको दाबी छ।

कस्तो आउँदै छ ओलीको प्रचण्डलाई जवाफ?

प्रधानमन्त्री ओलीले सचिवालयमा प्रस्तुत गर्ने प्रस्ताव तयार भइसकेको ओली निकटका नेताहरुले बताएका छन्। प्रस्तावमा ओलीलाई प्रचण्डले जे जसरी आरोप लगाएका थिए त्यसरी नै ओलीले पनि प्रचण्डलाई आरोप लगाएका छन्। 'अब एक जना अध्यक्षले जसरी ठाडै आरोप लगाउनु भो त्यो हिसाबले अर्का अध्यक्षले पनि कम आरोपको प्रतिवेदन लेख्ने कुरा भएन। जवाफ भनेर भनिसकेपछि त्यो अलि कडा नै बनेको छ। प्रतिवेदन त तयार नै भइसक्यो,' ओली निकट ती नेताले भने। प्रस्ताव फिर्ता लिन पटक पटक ओली पक्षले आग्रह गरे पनि प्रचण्डले अस्वीकार गरेका छन्। ओलीसँग नेकपा विवादबारे छलफल गर्नसमेत प्रचण्ड तयार नरहेको ओली निकट ती नेताले बताए। अब बैठकबाटै विवादको छिनोफानो गर्ने अवस्थामा छन्, प्रचण्ड।

सहमतिको सम्भावना समाप्त

बहुमत अल्पमतका आधारमा पार्टीले निर्णय गरे प्रचण्ड-नेपालको अडानपछि तत्काल कुनै सहमति हुने सम्भावना छैन। ओली निटक ती नेताका अनुसार अब एक दिनको समयमा पनि सहमति/ सम्झौता हुने सम्भावना छैन। 'अब त बैठकमै हुन्छ भन्ने हिसाबले कुराहरु अगाडि भइरहेको छ। तत्काल त्यस्तो सम्भावना छैन,' ती नेताले भने। 

नेकपाका दोस्रो तहका नेताहरु सुवास नेम्वाङ, विष्णु पौडेल, शंकर पोखरेल, हरिबोल गजुरेल, टोपबहादुर रायमाझी, घनश्याम भुषाललगायतले ओली प्रचण्डबीच सहमतिका लागि प्रयास गरेका थिए। उनीहरुले विभिन्न विकल्पमा सहमतिका लागि प्रयास गरे पनि प्रचण्डले त्यसलाई अस्वीकार गरेका छन्। प्रचण्डले प्रस्ताव फिर्ता लिने र दुबै अध्यक्षको एउटै प्रस्ताव बनाउने, ओलीले आरोपको जवाफ नदिएर राजनीतिक प्रस्तावमात्र प्रस्तुत गर्ने र यसअघि दुई अध्यक्षबीच भएका सहमति पालना गर्न ओलीलाई सहमत बनाउनेलगायतका विकल्पमा छलफल भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell