PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

मुकेश चौरसिया हत्या प्रकरणमा २१ जनाविरुद्ध मुद्दा,पूर्वसभासद् गुप्तासहित ७ जनालाई सफाई



राधेश्याम पटेल

मुकेश चौरसिया हत्या प्रकरणमा २१ जनाविरुद्ध मुद्दा,पूर्वसभासद् गुप्तासहित ७ जनालाई सफाई

वीरगंज : मुकेश चौरसिया हत्याकाण्डमा संलग्न रहेको अभियोगमा प्रहरीले २१ जनाविरुद्ध मुद्दा दर्ता गरेको छ।

पर्सा प्रहरीले घटनाको अनुसन्धान गरी बुझाएको मिसिल उपर जिल्ला सरकारी वकिलको कार्यालयले विस्तृत अध्ययन गर्दै बिहीवार २१ जनाविरुद्ध जिल्ला अदालतमा अभियोग पत्र दायर गरेको हो। घटनामा संलग्न भनिएका पूर्व सभासद् राजकुमार गुप्तासहित ७ जनालाई भने सफाई दिइएको छ। पीडित परिवारले भने सत्ता र शक्तिको आडमा ७ जनालाई उन्मुक्ति दिइएको आरोप लगाएको छ।

जिल्ला सरकारी वकिलको कार्यालयका प्रमुख तथा जिल्ला न्यायधिवक्ता पद्यमबहादुर कार्कीका अनुसार दुबै पक्षबाट आएको जाहेरीको सम्बन्धमा पर्सा प्रहरीले अनुसन्धान गरी पठाएको प्रतिवेदनसहितको मिसिलको अधारमा २१ जना माथि अभियोग पत्र दायर भएको हो। ‘प्रहरीले पठाएको मिसिलमा घटनामा जो संलग्न देखिएका छन्, उनीहरुमाथि अभियोग पत्र दायर भएको छ,’ उनले भने, ‘जो संलग्न छैनन्, उनीहरुको नाम पर्सा प्रहरीले नै हटाएको हो।’

अभियोग पत्रमा पूर्वसभासद् गुप्ता, धीरज चौरसिया, वकील गद्दी तथा अर्को पक्षबाट नागेन्द्र चौधरी, रामचन्द्र साह तेली, छोटेलाल यादव, परशुराम साहलगायत ७ जनालाई घटनामा संलग्न नभएको भन्दै न्यायाधीवक्ताको कार्यालयले मुद्दा नचलाउने निर्णय गरेको थियो। यता, मुकेशका परिवारवारजनले घटनाको मुख्य योजनाकार पूर्बसभासद गुप्ताको नाम अभियोग पत्रबाट हटाएर सफाई दिएकोमा असन्तुष्टि जनाउँदै प्रहरी प्रशासन दबाब र प्रभावमा परेको आरोप लगाएका छन्।

पर्साकी प्रहरी उपरीक्षक गंगा पन्तले मुकेशको हत्यामा अभियोग पत्र दायर भएका २१ जना मध्ये अखिलेश प्रसाद चौरसियालाई मुख्य आरोपी बनाइएको र बाँकी २० जना जसको हातमा भाटा र घटना घटाउन सहयोग गरेका छन् उनीहरुलाई मतियार बनाइएको बताइन्। बाँकी ७ जनालाई राजनीतिक द्वण्द्वको कारण फसाउन खोजिएकोले उनीहरुको नाम अभियोग पत्रमा समावेश नगरिएको उनको भनाई छ।

‘हत्या प्रकरणको विस्तृत अनुसन्धानबाट मुख्य र मतियार पुष्टि भएकालाई अभियोग पत्र दायर गर्न प्रतिवेदन पठाएका थियौं,’ उनले भनिन्, ‘बाँकी सात जनाको घटनामा संलग्नता वा घटनास्थलमा उपस्थिति नभएकोले नाम समावेश भएन।’

मुकेशका परिवारले राजकुमार गुप्तासहित १२ जना माथि किटानी जोहेरी दर्ता गरेको थियो भने गुप्ता पक्षबाट पक्राउ परेका उत्तम तिवारीको परिवारबाट गुडिया देवीले १५ जनामाथि जोहेरी दिएकी थिइन्। जोहरी दर्ता गराउन सडक आन्दोलन र धर्ना कार्यक्रम गरेको नेकपा नेता नागेन्द्र चौधरी, पूर्ब सभासद रामचन्द्र साह तेली, छोटेलाल यादव, पशुराम साहलगायतलाई फसाउन र बार्गेनिङ गरी घटना मिलापत्र गराउन पनि १५ जनामाथि दोहोरो चरणमा जाहेरी दर्ता भएको मुकेशको परिवारजनको आरोप छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell