PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

नेकपाको सचिवालय बैठक : प्रचण्डको आरोपपत्र खारेज गरेका ओलीको कस्तो आउँला जवाफ?



प्रकाश भण्डारी

नेकपाको सचिवालय बैठक : प्रचण्डको आरोपपत्र खारेज गरेका ओलीको कस्तो आउँला जवाफ?

काठमाडौं :  सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी(नेकपा)को सचिवालय बैठक आज बस्दैछ। बैठकमा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको दस्तावेजको जवाफ दिने तयारी गरेका छन्।

प्रचण्डले १९ पृष्ठ लामो दस्तावेज प्रस्तुत गरेसँगै नेकपा विवादको तरंग सतहमा देखिएको हो।

उक्त दस्तावेजमा ओलीको प्रश्नको जवाफसमेत समेटिएका थिए। ओलीले कार्यकारी अध्यक्ष भएपछि पार्टीमा के जिम्मेवारी पूरा भयो भन्दै सोधेको प्रश्नको जवाफमा प्रचण्डले हलो अड्काएर गोरु चुट्ने काम भएको बताएका छन्।

उनले भनेका छन्, 'एकातिर कार्यकारी अध्यक्ष दिइसकेपछि गरेर देखाउनुपर्‍यो भन्नुहुन्छ। अर्कोतिर १ नम्बर पनि मै हो कार्यकारी पनि मै हो भनेर एकता प्रक्रियादेखि अन्य कुनै काम आफ्नो सहमतिबिना हुन नसक्ने अड्डी लिनुहुन्छ। यसलाई हलो अड्काउने र गोरु चुट्ने बाहेक के भनेर बुझ्ने कमरेड?'

उक्त पत्रलाई ओलीले आरोपपत्रको संज्ञा दिए। ओलीले आफ्नो राजनीतिक जीवन नै सिध्याउने गरी ल्याइएको आरोपत्रलाई अस्वीकार गर्नेसमेत बताइसकेका छन्। उनले आरोपत्रलाई खारेज गर्दै लिखित रुपमा जवाफ दिने पनि बताए। ओलीले जालझेल र तिकडमले पार्टी नबच्ने बताएका थिए।

'लडेर पार्टी बच्दैन, जालझेल र तिकडम गरेर पार्टी बच्दैन। गुटबन्दी गरेर पार्टी बच्दैन। सबै कुराहरुमा पछि छलफल गरौंला। आज चाहिँ म त्यो लाञ्छनापत्र, जो मलाई दिइएको थियो, त्यस पत्रका सम्पूर्ण आरोपहरु, अभियोगहरु, लाञ्छनाहरु, तिरस्कारहरु, अपमानहरु सबैलाई खारेज गर्छु, ओलीले भनेका थिए,' र, यो मेरो राजनीतिक जीवन नै सिध्याउने गरी ल्याइएको आरोपपत्रलाई म पूर्ण रुपमा अस्वीकार गर्छु। त्यसको यथोचित जवाफ म लिखित रुपमा नै प्रस्तुत गर्नेछु।'

कस्तो आउँदै छ ओलीको प्रचण्डलाई जवाफ?

प्रधानमन्त्री ओलीले सचिवालयमा प्रस्तुत गर्ने प्रस्ताव तयार भइसकेको ओली निकटका नेताहरुले बताएका छन्। प्रस्तावमा ओलीलाई प्रचण्डले जे जसरी आरोप लगाएका थिए त्यसरी नै ओलीले पनि प्रचण्डलाई आरोप लगाएका छन्। 'अब एक जना अध्यक्षले जसरी ठाडै आरोप लगाउनु भो त्यो हिसाबले अर्का अध्यक्षले पनि कम आरोपको प्रतिवेदन लेख्ने कुरा भएन। जवाफ भनेर भनिसकेपछि त्यो अलि कडा नै बनेको छ। प्रतिवेदन त तयार नै भइसक्यो,' ओली निकट ती नेताले भने। प्रस्ताव फिर्ता लिन पटक पटक ओली पक्षले आग्रह गरे पनि प्रचण्डले अस्वीकार गरेका छन्। ओलीसँग नेकपा विवादबारे छलफल गर्नसमेत प्रचण्ड तयार नरहेको ओली निकट ती नेताले बताए। अब बैठकबाटै विवादको छिनोफानो गर्ने अवस्थामा छन्, प्रचण्ड।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell