काठमाडौं : नालापानी युद्ध विशेष फिल्म निर्माण घोषणा भएको झण्डै ४ वर्ष बित्न लाग्यो। तर, फिल्म सार्वजनिक भएन। सार्वजनिक नभएको फिल्मलाई विशेष फिल्म घोषणा गर्न र आर्थिक सहयोग गर्न फिल्म सम्बन्धी संघ संस्थाले सरकारसँग सिफारिस गरेका छन्।
चलचित्र विकास बोर्डले एक पत्रमार्फत् फिल्मले ऐतिहासिक नालापानीको युद्धको कथावस्तुलाई उजागर गरी राष्ट्रिय गौरव, राष्ट्रिय प्रेम तथा देशभक्तिलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रचार प्रसार तथा प्रवद्र्धन गर्ने हेतुले निर्माण भएकाले ‘नालापानी’ लाई प्रदर्शन, प्रचार प्रचार लगायतका पाटोमा सहयोग उपलब्ध गराउन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई आग्रह गरेको हो।
सन् १८१४ मा देहरादुनस्थित नालापानी गढीमा भएको अङ्ग्रेज–नेपाल युद्धको कथा केन्द्रमा छ। नेपाली फौजका तर्फबाट कप्तानी गरेका वीर बलभद्र कुँवरले लडेको ऐतिहासिक लडाईंलाई आधार बनाएर बनाइएको छ। फिल्मलाई रिमेश अधिकारीले निर्देशन गरेका हुन्।
चलचित्र कलाकार संघ, चलचित्र निर्देशक समाज, चलचित्र निर्माता संघ, चलचित्र प्राविधिक संघ र राष्ट्रिय विभुति वीर बलभद्र कुँवर प्रतिष्ठान नेपालले पनि फिल्मलाई राष्ट्रिय विशेष चलचित्र घोषणा गरी आर्थिक सहयोग उपलब्ध गराउन सरकारसँग आग्रह गरेका छन्।
फिल्मका निर्माता तथा निर्देशक रिमेश अधिकारीले शुक्रवार चलचित्र विकास बोर्डसहित ६ वटा संस्थाले गरेको सिफारिस पत्र सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङलाई बुझाएका छन्। राष्ट्रिय गौरवको कथामा फिल्म निर्माण भएकोमा खुसी व्यक्त गर्दै मन्त्री गुरुङले मन्त्रालयबाट हुने सहयोग गर्ने आवश्वास दिएका छन्। यो फिल्मको अहिले पोस्ट प्रोडक्सनको काम भइरहेको छ।
‘नालापानी’ को लेखन रिमेश अधिकारी र कृष्ण आचार्यले गरेका हुन्। द्वन्द्व रोशन श्रेष्ठ, सिनेमाटोग्राफी रामशरण उप्रेती, सम्पादन बिपिन मल्लले गरेका छन्।
कलाकारहरु अर्जुनजंग शाही, नवल खड्का, मनोज शाक्य, विशाल श्रेष्ठ, दीपेन्द्र सिंह दर्नाल, विकेस श्रेष्ठ, विशाल पहाडी, बिष्णु मोक्तान, गीता अधिकारी, सुन्दर श्रेष्ठ, ईशान बिजु श्रेष्ठ, प्रनिश शाक्य, कृष्ण आचार्य, तुलसा थापाको अभिनय रहनेछ।
