काठमाडौं : प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सोधेका छन् - नीतिगत बहस हो कि वारपारको लडाईँ?
नेकपामा जारी पत्रयुद्ध अन्तर्गत आज बसेको सचिवालय बैठकमा अध्यक्ष ओलीले प्रचण्डमाथि प्रश्नहरु बर्षाएका छन्। ओलीले ५३ बुँदाबाट प्रचण्डको पत्रमाथि काउन्टर अट्याएक गरेका छन्। 'प्रचण्डले वितरण गर्नुभएको 'प्रस्ताव'को प्रस्तुती, तरिका, भाषाशैली र अन्तरवस्तुले पार्टीमा गम्भी संकट निम्त्याएको' भन्दै ओलीले सचिवालयमा आफ्ना धारणा पेश गरेका छन्।
ओलीले चौथो बुँदामा प्रश्न गरेका छन् : कमरेड प्रचण्ड, सुरुमै तपाईँलाई मेरो प्रश्न छ - पार्टीभित्र चलिरहेको यस बहसको चरित्र के हो? यो प्रश्नसँगै सुरु भएको अनुच्छेदमा प्रश्नै प्रश्नमात्र छन्।
- यो स्वस्थ नीतिगत वहस हो कि ‘वार कि पार' को लडाइँ?
- यो अन्तरविरोध नै हो भने पनि, यो मित्रतापूर्ण हो कि शत्रुतापूर्ण?
- तपाईँले रोजेको बाटोवाद–प्रतिवाद–संवादको हो कि वाद–प्रतिवाद र विग्रहको?
- एकता–छलफल र अझ उन्नतस्तरको एकतामा हिँड्न खोजिएको हो कि एकता–विग्रह र विघटनको बाटोमा?
- पार्टीभित्र हाम्रो सम्बन्ध पार्टीका दुई प्रमुख नेताको सम्बन्ध हो कि दुई भिन्न वर्ग र भिन्न पार्टीका प्रतिद्वन्द्वी नेताहरुको?
ओलीले प्रश्नको सिलसिला यही रोकेका छैनन्। उनले शान्ति प्रकृयादेखिका प्रसंग उप्काएका छन्। गिरिजाप्रसाद कोइरालादेखि माधवकुमार नेपालसम्मलाई धोका दिएको आरोप ओलीले प्रचण्डमाथि लगाउँदै प्रश्न गरेका छन्।
सातौं बुँदामा ओलीले लेखेका छटन् - उम्मेदवारी दाखिला गर्नुभन्दा केही मिनट अगाडि मात्र संसदीय दलको कार्यालयमा तत्कालीन नेकपा (एमाले) महासचिव झलनाथ खनाललाई बोलाएर माधवकुमार नेपाललाई राष्ट्रपतिमा समर्थन गर्न सकिँदैन भन्ने जनाउ दिएको सायद बिर्सनु भएको छैन होला। कसको इशारामा र योजनामा भएका थिए यी सबै दाउपेच?
संविधानसभा भंग भएको सन्दर्भ र त्यसपछिको निर्वाचनमा प्रचण्डलाई जिताउन गरिएको 'तिकडम'लाई लिएर पनि ओलीले प्रश्न वर्षाएका छन्। ओलीले सोधेका छन् - सहमतिका आधारमा संविधान बनाउन २०६९ साल जेठ २ गते गरिएको सहमति किन भङ्ग भयो, संविधानसभालाई निरन्तरता दिन अन्य दलले गरेको आग्रहलाई तपार्इंले कसरी लत्याउनु भयो र मुलुकलाई जनप्रतिनिधिविहीन शून्यतामा पुर्याउनु भयो, इतिहासले यति सजिलै भुल्नेछैन। तै पनि, राजनीतिक दलहरुले सुझबुझका साथ संविधानसभाको दोस्रो निर्वाचन गराए। निर्वाचनको परिणाम स्वीकार्न तपाईंलाई कति गाह्रो भएको थियो? कसरी ‘छानबीन समिति’ बनाएर तपाईंको ‘फेस सेभिङ’गर्नुपरेको थियो? सबै सम्झना छ नि, होइन र?
प्रचण्डको दोहोरो शैली भन्दै आलोचना गर्दै ओलीले नवौं बुँदामा फेरि प्रश्न गरेका छन् - कामरेड ‘प्रचण्ड', किन यस्तो अपारदर्शिता? किन यस्तो छलछाम?
पछिल्लो चुनावी प्रसंगलाई जोड्दै ओलीले बाह्य शक्तिको दवाव र प्रभावमा प्रचण्ड परेको आरोपसहित प्रश्नहरु गरेका छन्। दशौं बुँदामा ओलीले लामो चुनावी पृष्ठभूमिसहित प्रश्न गरेका छन् - अघिल्लो दिन एउटै चुनाव चिह्न ‘सूर्य’ मा चुनाव लड्ने भनेर गरेको हस्ताक्षरलाई अस्वीकार गर्न पुग्नुभयो। तर पनि मैले यसलाई तपाईंलाई अप्ठ्यारो परेको अर्थमा बुझेँ र यसबारे कुनै प्रश्न उठाइनँ। तर निर्वाचनमा हामीले यसको मूल्य चुकायौँ। नेकपालाई एक्लै दुई तिहाइ पुर्याउन सघाउने लाखौँ मतहरु यसै कारणले बदर भए। अरुबेला भए मैले सोध्ने थिइनँ, तर आज जब तपाईं प्रकारान्तरले एकताको औचित्य समाप्त भएको घोषणा गरेजसरी प्रस्तुत हुनुभएको छ, सोध्न मिल्छ होला नि– २४ घण्टामै सहमति उल्ट्याउने यो निर्णय तपाईंले कसको दबाब र प्रभावमा गर्नुभएको थियो? अनि, यसले पनि तपाईं सधैभरि सहमतिको पक्षधर भएको पुष्टि गर्छ र?
एघारौं बुँदामा प्रचण्डको सत्ता लिप्सामाथि ओली आक्रामक रुपमा प्रस्तुत भएका छन्। 'जनताले पहिलो गासमै ढुङ्गा लागेको अनुभव गरे। २०७४ फागुन ७ गते राति ‘दुई अध्यक्ष र आलोपालो प्रधानमन्त्री'को लिखतमा सही नहुञ्जेल सरकारले पूर्णता पाउने वातावरण बनेन। एउटै चुनावी घोषणापत्र सहित, वाम गठबन्धन बनाएर चुनाव लडेको पार्टीका नेताको हैसियतमा तपाईंले अर्को पार्टीको समर्थनमा प्रधानमन्त्री बन्ने प्रयाश गर्नु नैतिकताको कसीमा कहाँनिर उभिन पुग्थ्यो?,' ओलीले प्रश्नमाथि प्रश्न गरेका छन्, 'चुनावबाट तेस्रो पार्टीका रुपमा आएको पार्टीका अध्यक्षले ‘मैले प्रधानमन्त्री बन्न प्राप्त अवसर लत्याएँ’ भन्नु त्याग थियो कि तपार्इँभित्र सुषुप्त रुपमा लुकेको सत्तालिप्सा?'
भारतमा गएर आलोपालो प्रधानमन्त्री बन्ने सहमति भएको खुलासा गरेको विषयलाई लिएर पनि ओलीले प्रचण्डमाथि कडा अभिव्यक्ति दिएका छन्।
'निर्वाचन परिणाम, नयाँ सरकार गठन र एकीकरणले ल्याएको उत्साहमा चिसो पानी खन्याउने गरी तपाईंले आफ्नो भारत भ्रमणको क्रममा आलोपालो प्रधानमन्त्रीको सहमति भएको ‘खुलासा’ गर्नुभयो। यसबाट राष्ट्रिय स्वाधिनता, हित र स्थायित्वमाथि गम्भिर प्रतिकूल असर पर्दैन? त्यही कुरा अभिव्यक्त गर्नु थियो भने पनि त्यसभन्दा अघि वा पछि समय उपलब्ध हुन सक्दैन थियो र?,' ओलीले सोधेका छन्। त्यसपछि लगातार प्रश्न वर्षाएका छन् ओलीले -
'विदेशी भूमिमा गएर राजनीतिक अस्थिरताको सन्देश दिनु पर्ने खण्डखातिर किन पर्यो, मैले आजसम्म पनि तपाईंलाई सोधेको छैन। तर के त्यसकोकुनै गंभीर अर्थ थिएन र?
त्यस यता तपाईंले कतिचोटि मन्त्रिपरिषद्पुनर्गठनको घोषणा गर्नुभएको छ, कतिचोटी सरकार परिवर्तनको खुल्ला अभिव्यक्ति दिनुभएको छ र कतिचोटी छिटै आफू सरकारको नेतृत्वमा आउने भएको हुनाले कतिपय विषय पछि सल्टाउँला भन्दै मित्र राष्ट्रसँगका कतिपय विषयलाई अल्झाउनु भएको छ, सम्झना गर्नुभएको छ नि?
एकलव्य जस्तै खालि सरकारमा मात्रै तपाईँकोध्यान दृष्टि र प्रधानमन्त्री र सरकारको स्थायित्व विरुद्ध निरन्तर रागका कारण राजनीतिक स्थिरता विरुद्ध कस्तो सन्देश गइरहेको छ, ख्याल गर्नुभएको छ नि?'
ओलीले प्रचण्डलाई एकता भए पनि नेकपा एमाले र पूर्व माओवादीको गणितीय समीकरण उल्लेख गर्दै चुनौती दिएका छन्।
'आज तपाईंले अलिकति ‘पायक’ परेको हिसाब गरेर कमिटीमा अल्पमत बहुमतको विधि कार्यान्वयन गर्ने वकालत गर्न थाल्नुभएको छ। आफ्ना सहयोद्धा कमरेडहरुको भावना होइन, टाउका गन्न थाल्नु भएको छ। कित्ताकाट गर्न थाल्नुभएको छ। सम्झिनुहोस त, केन्द्रीय सचिवालयदेखि स्थानीय कमिटीसम्म अधिकांश ठाउँमा साबिक एमालेको एकजना भए पनि बढी सङ्ख्या छ। बहुमतको त्यो अङ्कगणित तपाईंका विरुद्ध प्रयोग गरिएको भए के हुन्थ्यो? ठिकै छ, यो विधि अवलम्बन गर्ने हो भने पनि पहिले एकताको आधार फेरौं, अनि विधान संशोधन गरौँ। मैले त पार्टीका हुन कि राज्यका, हरेक जिम्मेवारी प्रतिष्पर्धामा विजय हासिल गरेरै प्राप्त गरेको हुँ। महाधिवेशनबाट विचार, सङ्गठन संरचना र नेतृत्व खुल्ला प्रतिष्पर्धाका आधारमा चयन गर्न तपाईँ तयार हो?'
ओलीका अन्य प्रश्नहरु :
हामी दुबैजना कार्यकारी अधिकार सहितकै अध्यक्ष हौँ, तर अहिले मैले आफूलाई कार्यकारी अध्यक्षका हैसियतलेसरकारको काममा केन्द्रित गराउँछु, पार्टीको काम कार्यकारी अध्यक्षका हैसियतले अध्यक्षका रुपमा प्रचण्डले गर्नुहुन्छ।’ यसमा आपत्ति जनाउनु पर्ने कारण के छ?
के त्यस बैठकले मलाई अध्यक्ष पदबाटै निलम्बन या बर्खास्त गरेको थियो र?
के सचिवालयले विधान संशोधन गरेर पार्टीमा एकजना सेरेमोनियल अध्यक्ष, अर्को एक्जेक्युटिभ अध्यक्ष हुने व्यवस्था गरेको थियो र?
आज पनि मेरो प्रश्न छ, कमिटीमा खुल्ला खुलस्त छलफल गरेर निष्कर्षमा पुगिने ठाउँ हुँदाहुँदै, नेताहरुलाई निश्चित मान्यतामा ‘खः’ गराएर मात्रै बैठकमा आउनु पर्ने यस्तो अविश्वास र दाउपेचको आवश्यकता किन पर्यो?
कमिटीमा विषयगत रुपमा हुने छलफल, सहमति र असहमति तथा त्यस आधारमा हुने गतिशीलतालाई बन्धित बनाउनु पर्ने आवश्यकता किन पर्यो?
प्रधानमन्त्री बनाउने, तर उसले विश्वास गरेको टिम छनोट गर्न नपाउने, उपयुक्त ठाउँमा नियुक्ति गर्न पनि नपाउने, मन्त्रीहरुलाई उसले होइन अरु कसैले चलाउने, उसका हातखुट्टा चारैतिर बाँधिने, तर परिणाम भने उसैले दिनु पर्ने, जवाफदेही पनि उही हुनुपर्ने?
हामी यो कस्तो खालको प्रणाली बसाउन खोजिरहेका छौँ? कस्तो खालको लोकतन्त्रको हामी अवलम्बन गर्न खोजिरहेका छौँ?
कार्यकारी अधिकार सहित पार्टी सञ्चालनको जिम्मा पाउनु भएको अध्यक्ष कमरेडले आफ्नो भागमा परेको काममा प्रगति कति गर्नु भयो? पछिल्लो चोटी १५ दिन भित्र सम्पन्न गर्ने भनिएको एकीकरणको काम अहिले कहाँ पुग्यो? सचिवालय बैठकमा १० दिनभित्रका यस सम्बन्धी लिखित प्रस्ताव ल्याउँछु भन्नु भएको प्रस्ताव तयार भयो? त्यसको रोडम्याप के कस्तो बन्यो? मेरा कारणले हुन नसकेको भए, तपाईंले गर्नु भएको ‘गृहकार्य’मा के के मा र कहाँ मेरो अवरोध रह्यो?
महाधिवेशनको तयारीको लागि बस्ने केन्द्रीय कमिटी बैठकका एजेण्डा तय गर्न के के गृह कार्य गर्नुभयो? र, त्यसमा मसँग तपाईंले के सहयोग माग्नु भयो? या मैले कहीँ बाधा अवरोध पो पुर्याएँ कि?
म स्पष्ट पार्न चाहन्छु– मेरा आँखा अगाडि सिङ्गो नेकपा छ, मेरा निम्ति नेकपाका सबै कमरेडहरु बराबर हुनुहुन्छ। तर पार्टी एकता भएको साढे दुई वर्षपछि पनि तपाईंले बोकेर हिँडेको यो कस्तो ‘पूर्व’ मान्यता हो?
नेकपा एक पार्टी हो कि संयुक्त मोर्चा? अब पनि यही ‘पूर्व’ मान्यता बोकेर हामी कहाँ पुग्छौँ ?
मैले स्थायी कमिटीको बैठकमा औपचारिक रुपमै आगामी महाधिवेशनबाट अध्यक्षको जिम्मेवारीमा नरहने र आगामी निर्वाचन पश्चात् प्रधानमन्त्री नबन्ने जानकारी गराइसकेको छु। यो भन्दा बढी मैले के त्याग गर्नु पर्ने हो?
चार महिनापछि हुने महाधिवेशनबाट सहज नेतृत्व हस्तान्तरण र चयनको बाटो छाडेर हरबखत नेतृत्व परिवर्तनको चलखेल किन? के
कमरेडहरुलाई महाधिवेशनमा आउने प्रतिनिधिहरुको विवेकमाथि विश्वास छैन?
दुई वर्षपछि आम निर्वाचन हुन्छ। मेरो विश्वास छ– नेकपाको विजय यात्रा जारी नै रहने छ। त्यसपछि नयाँ नेतृत्वको खोजी त हुने नै छ। के कमरेडहरुमा दुई वर्षपछि नेकपाको भविष्य सुरक्षित छ भन्ने विश्वास टुटिसकेको हो? होइन भने, फेरि किन सधैभरि सरकार परिवर्तनको दौडधुप? चार महिनापछि हुने महाधिवेशन र दुई वर्षपछि हुने निर्वाचनमा नेकपाको भविष्य देख्न छाडेका हौँ भने हामीसँग लाखौँ कार्यकर्ताहरुको नेतृत्व गर्ने नैतिकता कहाँ बाँकी रहन्छ?
म यही दस्ताबेजलाई मेरो अध्यक्षको जिम्मेवारी हस्तान्तरणको औपचारिक लिखत बनाउन तयार छु ! के तपाईं तयार हो?
कहिलेकाँही आफै छक्क पर्छु, कम्युनिष्ट आन्दोलनमा यो कस्तो सङ्क्रामक रोग हो, जसले सामान्य असहमतिलाई पनि जबर्जस्ती कटु, विद्वेषपूर्ण र विग्रहकारी बनाउँछ?
यति धेरै आरोप र अभियोग लगाइसकेपछि तपाईंले आफ्नो कथित प्रस्तावको अन्त्यमा मबाट फेरि ‘गंभीर आत्मसमीक्षा’ र ‘आत्मालोचना’को माग गर्नुभएको छ। यदि यी आरोप सत्य हुन् भने, यति ‘गंभीर अपराध’ गरेपछि पनि, ‘आत्मालोचना’ गरेर उम्किन पाइन्छ?