PahiloPost

May 2, 2024 | २० बैशाख २०८१

बिजुलीका पोल र रुख सडक निर्माणमा यसरी बाधक बन्दै : वन विभाग र विद्युत प्राधिकरणको आरोप, 'निर्माण जिम्मा पाएकाले समन्वय नै गरेन'



पी बी खड्का

बिजुलीका पोल र रुख सडक निर्माणमा यसरी बाधक बन्दै : वन विभाग र विद्युत प्राधिकरणको आरोप, 'निर्माण जिम्मा पाएकाले समन्वय नै गरेन'

सुर्खेत : वीरेन्द्रनगरस्थित रत्नराजमार्ग हुदैँ मध्यपश्चिमाञ्चल विश्वविद्यालयको इन्जिनियरिङ संकायसम्म जोड्ने सडक अघिल्लो आर्थिक वर्षभित्रै कालोपत्र भइसक्नुपर्ने थियो। तर सडकको बिच भागमा रुखहरु भएकै कारण सडक कालोपत्रे हुन सकेको छैन।

करिब ६ मिटरको चौडा सडकलाई विस्तार गरेर १० मिटरसम्म पुर्‍याउँदा सडकको बिच भागमा भएका रुखहरु कटान गर्नुपर्ने भएकाले काममा ढिलाई भएको हो। सोही सडक निर्माणका लागि चालु आर्थिक वर्षको आधा समय बितिसक्दा पनि अझै काम अघि बढ्न सकेको छैन। सडक कालोपत्रे गर्न थप गरिएको म्याद सकिने संकेत देखिए पनि काम हुने छाँट छैन। विश्वविद्यालयको इन्जिनियरिङ संकायसम्म जोड्ने ६ किलोमिटर सडक कालोपत्रेका लागि झण्डै २२ करोड रुपैयाँ लागतको हो।

यो सडकजस्तै सुर्खेत उपत्यकाभित्र खानेपानी लाइन, रुख कटान र विद्युतका पोल स्थानान्तरण गर्नुपर्ने शहरी सडकहरु छन्।  सुर्खेतमा सडक निर्माणमा रुख, विद्युतका पोल र पानीका पाइपजस्ता बाधक बनेको देखिन्छ।

‘सडक निर्माण गर्दा खानेपानी पाइप लाइन, रुख, र विद्युतका पोल सार्नुपर्ने देशभरीकै समस्या हो,’ संघीय आयोजना कार्यान्वयन इकाई, सुर्खेतका इन्जिनियर नारायण पोखरेलले भने, ‘यसले गर्दा काम समयमै सकिदैँन भने भैरहेका कामसमेत गुणस्तरीय हुदैनन्।’ उनी थप्छन्, ‘विद्युतका पोल सार्नुपर्ने, रुख काट्नुपर्ने, पाइप लाइन सार्नुपर्ने जस्ता शहरी सडकहरु धेरै छन्।’

शहरी सडक निर्माणका लागि आफुहरुले सरोकारवाला निकायसँग समन्वय गरेर समस्या समाधान गर्ने गरिएको उनले बताए।

समयमै समन्वय नहुदाँ करोडौँ लागतका सडक निर्माणको काम अलपत्र छन्।

सडकको विचभागमा परेका विद्युतका पोल, रुख खानेपानी लाइनजस्ता समस्या भएका हाल उपत्यकाभित्र एक दर्जन बढी छन्।

वीरेन्द्रनगरको मुख्य बजार क्षेत्रभित्र, नेता चोक–बुद्ध पथ हुदैँ प्रशासन जाने सडक, आँखा अस्पताल देखि जिल्ला प्रहरी हुदैँ कालिन्चोक जाने सडक, कालिन्चोकदेखि दक्षिण रत्नराजमार्ग, घण्टा घर चोक हुदैँ हटिया लाईन, सरकारी कार्यालय क्षेत्र लगाएत जस्ता सडकहरुमा विद्युतका पोल, रुखहरु परेका छन्।

सडकभित्र पर्ने रुखहरुको लगत संकलन गरेर कटानका लागि प्रारम्भिक वातावरणीय परीक्षण गरेर मात्रै रुखहरु कटानको प्रक्रिया अगाडि बढ्ने गर्छ।

‘हामीलाई पत्राचार भएका सडकहरुमा पर्ने रुखहरुको लगत संकलन गरेर रुख कटानको काम गरिरहेकै छौँ,’ डिभिजन वन कार्यालय, सुर्खेतका प्रमुख गोविन्दप्रसाद दाहालले भने,‘जसले सडक बनाउने हो, उसैले समन्वय गर्नुपर्यो। हामीले खोज्दै जाने कुरा त हुदैँन।’

रुखहरुकै कारण आयोजनाहरु नरोकिएको वन कार्यालयको दावी छ। समयमै पत्राचार भई आएका सडकहरुमा तत्काल खाली गर्ने काम भइरहेको जनाएको छ।

यता, विद्युतको पोल स्थानान्तरणका लागि पनि प्राविधिक जाँचसहित स्थानान्तरणमा लाग्ने खर्चसहित प्राधिकरणमा बुझाएको तीन महिनाभित्र कार्यालयले सार्नुपर्ने हुन्छ।

विद्युत कार्यालयले पनि आयोजनाको सुरुवाती चरणदेखिनै समन्वय गरे काममा ढिलाई नभएको प्राधिकरणको दावी छ।

‘सडक निर्माण गर्ने सरोकारवाला निकायले योजनाको सुरुवात देखि नै हामीसँग समन्वय गरेर यो, यो सडकमा समस्या छ भने, जानकारी गराए सोहीअनुसार लागत अनुमान स्टिमेट गरेर पठाउँछौँ।’ विद्युत प्राधिकरण वितरण केन्द्र, सुर्खेतका प्रमुख टंकराज गिरीले भने,‘जब फिल्डमा गएर काम गर्न थाल्नुहुन्छ, अनि हामीलाई पोल हटाइदिनु पर्यो भनेर खबर आउँछ। जसले गर्दा समस्या हुन्छ।’

उनका अनुसार कार्यालयमा नियमित काम गर्ने कर्मचारीबाहेक अरु नहुने हुदाँ यस्ता काम गर्न समय मिलाउनुपर्ने बाध्यता भएको हो।

‘हामीसँग नियमित काम गर्ने कर्मचारीमात्रै हुनुहुन्छ,’ उनले भने,‘पोल सार्ने भनेको त हाम्रो नियमित कामभित्र पनि पर्दैन, कर्मचारीको व्यवस्थापन पनि गर्नुपर्ने हुन्छ।’

तर, आफुहरुले समयसीमा अगावै काम गरिरहेको दाबी छ। सडकको बिचभागमा पर्ने भएपछि रुख कटान र पोल स्थानान्तरणका लागि सडक निर्माण गर्ने सम्बन्धित निकाय, वन र विद्युत कार्यालयसँगको समन्वय अभावले सडक निर्माणको काममा ढिलाई हुने गरेको छ।

सडकको बिचभागमा परेका खानेपानी पाइप, रुख र विद्युतका पोल नहटाएर आयोजना निर्माण गर्दा दीर्घकालिन हुदैनन् भने, अर्कातिर पटक पटक सडक भत्काउनुपर्दा दोहोरो खर्च हुने गरेको छ।

कतिपय सडक निर्माण कम्पनीले सम्झौता मिति मै काम सम्पन्न गर्नका लागि रुख नकाटेर र विद्युतका पोल नहटाएर कालोपत्रे गरेको समेत भेटिन्छ। त्यसैले सम्बन्धित सरोकारवाला निकायवीचको समन्वय र सहकार्यमा यस्ता समस्या दोहोरिन नदिन बेलैमा दीर्घकालिन योजना सहितको विकास निर्माण गर्न आवश्यक हुने जानकार बताउँछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell