PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

मंगलबजारमा नरबलि छल्न नाच, मध्यरातमा हिरण्यकश्यपुको वध गर्न निस्किए नृसिंह

मंगलबजारमा नरबलि छल्न नाच, मध्यरातमा हिरण्यकश्यपुको वध गर्न निस्किए नृसिंह

रोजन श्रेष्ठ/पहिलोपोस्ट


ललितपुर : गएराति मंगलबजारमा कात्तिक नाच सम्पन्न भएको छ। कात्तिक डबलीमा नृसिंहद्वारा हिरण्यकश्यपु वध गरेसँगै यो वर्षको कात्तिक नाच समापन भएको हो। पहिला १२ दिनसम्म चल्ने यो नाच यो वर्ष कोरोना संक्रमणका कारण दुई दिनमा सीमित गरिएको थियो।

शुक्रवार राति बरहा अवतार देखाइएको थियो। शनिवार राति भने नृसिंह अवतार देखाइएको थियो।  

अरु बेला कात्तिक नाचको समयमा मंगलबजार परिसरमा यो नाच हेर्न थामिनसक्नुको भिड हुन्थ्यो। तर कोरोना संक्रमणलाई मध्यनजर गर्दै यो वर्ष सर्वसाधरणलाई डबली क्षेत्रमा प्रवेश दिइएन। सर्वसाधरणकालागि फेसबुक र नेपालमण्डल टेलिभिजनबाट नाच लाइभ हेर्ने व्यवस्था गरिएको थियो।

पाटनका राजा सिद्धिनरसिंह मल्लले यो नाच सुरु गरेका थिए। एक जमानामा एक महिनासम्म यो नाच हुने गरेको जानकार बताउँछन्।

दर्शकबिहिन मंगलबजार क्षेत्रमा शनिवार राति नृसिंह अवतार देखाउने क्रममा सुरुमै कृष्ण नाच देखाइयो। कालो लुगामा कृष्णलाई अरुले साथ दिएका थिए। कृष्ण नाच कात्तिक नाचको हरेक दिन हुने गर्छ। कृष्ण नाचपछि हिरण्यकश्यपु र प्रह्लाद नाच देखाइयो। हिरण्यकश्यपु र उनका छोरा प्रह्लादका साथ दुई दैत्य नृत्य गर्छन्।

प्रह्लादलाई दैत्य गुरुहरु ओम् नमः शिवाय् भन्न सिकाउँछन्। तर उनले ओम् नमः शिवाय‌ साटो ओम् नमो भगवते बासुदेवाय् मात्र भन्छन्। सिकाउँदा सिकाउँदा गुरुहरु थाक्छन्। हिरण्यकश्यपुले आफ्ना छोरालाई बाँध्न आदेश दिन्छन्। नाचको चरमोत्कर्ष अब सुरु हुन्छ।

मसालहरु दन्काइन्छन्। पाटन दरबारबाट नृसिंह बाहिर ल्याइन्छ। खम्बा फोरेर नृसिंह अवतार बाहिर निस्कन्छ। नृसिंहको छायाँ पर्न नहुने भएकोले डबलीमा मसाल दनदनी दन्काइन्छ। नृसिंहले नाच्दै हिरण्यकश्यपुलाई खेदाउँछन्। नाचको महत्त्वपूर्ण दृश्य नै यही हो।

नाच्दानाच्दै नृसिंहले दैत्यलाई फन्दामा पार्ने प्रयास गर्छ। तर पटक पटक दैत्य उम्कन्छ। अन्त्यमा नृसिंहले दैत्यलाई भाग्नै नसक्ने गरी घेरामा पार्छ।

नृसिंहले यसो छोएको मात्र के हुन्छ, हिरण्यकश्यपु साँच्चिकै अचेत हुन्छन्। उनलाई तान्त्रिक विधिबाट डबलीभन्दा अलि पर ब्युँताइन्छ।

यता डबलीमा भने नृसिंहको पूजा हुन्छ। परी पनि त्यहाँ देखिन्छ।

नरबलि छल्ने नाच

सिद्धिनरसिंह मल्लले पाटनमा कृष्ण मन्दिर बनाइसकेपछि यो नाच सुरु गरेका हुन्। नेपाल संवत् ७६१ देखि यो नाच चलिरहेको छ। नेपालको सबैभन्दा लामो नाच महोत्सवका रुपमा यसलाई लिइन्छ। अहिले यो नाच कात्तिक नाच प्रबन्ध समितिले सञ्चालन गर्ने गर्छ।

त्यसबखत देशमा पूरै शान्ति छाएको थियो। तर जनताको मुहारमा भने चमकै थिएन। सरसल्लाह गर्दा पुरोहितले नरबली दिएमात्र सुख हुने उपाय सुझाए। त्यही नरबली छल्नका लागि विष्णुको दश अवतारमध्ये बराह र नृसिंहको अवतारले गर्ने वधलाई नाचका रुपमा देखाए हुने उपाय निकालिएछ र यो नाच सुरु भएको जानकारहरु बताउँछन्।



ट्रेन्डिङ पोस्ट

Ncell