PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

बालुवाटारमा ओलीलाई प्रचण्डको जवाफ : चिमोटेको पक्कै हो तर सिध्याएको होइन



प्रकाश भण्डारी

बालुवाटारमा ओलीलाई प्रचण्डको जवाफ : चिमोटेको पक्कै हो तर सिध्याएको होइन

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आन्तरिक विवाद दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल 'प्रचण्ड'को फरक प्रस्ताव सचिवालयमा पेश भएसँगै लिखित रुपमै अघि बढेको छ। कातिक २८ मा प्रचण्डले ओलीमाथि आरोप लगाउदै प्रस्ताव पेश गरेपछि ओलीले पनि मंसिर १३ को बैठकमा काउन्टर जवाफ प्रस्तुत गरे।

पार्टी एकता तोडेको ओलीले प्रचण्डलाई आरोप लगाउँदा प्रचण्डले पनि ओलीले सहमतिको उल्लंघन गरेर धोका दिएको बताए। शनिवारको सचिवालय बैठकमा ओलीले ३८ पेजको जवाफ पेश गरेसँगै ओली प्रचण्ड फेरि पनि एकअर्काप्रति आक्रामक देखिएका छन्।

बैठकमा प्रचण्डले ओलीलाई एमाले दर्ता गराएर, स्थायी कमिटीको सहमति भंग गरेर, मदन भण्डारी फाउण्डेशनलाई सक्रिए गराएर, निर्वाचन आयोगमा पूर्व एमालेलाई दर्ता गराएर तथा राजनीतिक दल सम्बन्धी अध्यादेश ल्याएर अलग पार्टीको अभ्यास गरेको आरोप लगाए। 

सहमतिमा बेइमानी

प्रचण्ड निकट स्रोतका अनुसार शनिवारको बैठकमा प्रचण्ड ओलीप्रति आक्रामक रुपमा प्रस्तुत भएका थिए। ओलीले प्रस्तुत गरेको प्रस्तावबारे बोल्दै उनले बिवाद समाधानका लागि गठित कार्यदलका संयोजक महासचिव विष्णु पौडेललाई ओलीले आफूलाई घिसारेर सहमतिमा ल्याएको भनेको भन्दै आपत्ति जनाएका थिए।

'कार्यदल गठन र स्थायी समितिको निर्णयसम्मलाई अर्को अध्यक्ष र तिमीहरुले मलाई घिसारेर ल्याएको हो भन्ने शब्द तपाईंले प्रयोग गरेको सायद महासचिव कमरेडले बिर्सनुभएको छैन होला,' प्रचण्डको भनाई उदृत गर्दै स्रोतले भन्यो।

प्रचण्डले बैठकमा पार्टीको विवाद समाधानका लागि भएका सहमतिमा आफू इमान्दार भएको बताएका थिए। उनले ओलीलाई बेइमानी गरेको आरोप लगाए।

'कार्यदलले मलाई र तपाईं समेतलाई यो बीचमा विवादास्पद अभिव्यक्ति नदिन र नियुक्तिहरु नगर्न सुझाव दिइसकेपछि गरिएका नियुक्तिहरुको प्रकृतिमात्रै हेर्ने हो भने अहिले कार्यदल र स्थायी समितिप्रति म चाहिँ इमान्दार छु भनेको कुरालाई पुष्टि गर्छ र तपाईंको व्यवहारले?,' प्रचण्डले बैठकमा प्रश्न गरे।

भदौं २६ गते सहमतिका साथ स्थायी कमिटी बैठक सम्पन्न भए पनि २ दिनमै ओलीले सहमति तोडेको प्रचण्डको आरोप छ। 'कार्यदल र स्थायी समितिका निर्णयप्रति तपाईंको अरुचि त्यतिबेला नै झल्किएको हैन र? २६ गते निर्णय भयो,२८ गते तपाईं र बस्दाखेरिका तपाईंका अभिव्यक्ति मैले मात्र होइन महासचिवले पनि सुन्नुभएको छ,' प्रचण्डले ओलीको जवाफी प्रतिवेदन प्रस्तुत भएपछि भने।

५ जनाको गुटभेला रोक्दा पनि सहमति पालना भएन

प्रचण्डले भदौ २६ को स्थायी कमिटीको निर्णयपछि आफूपक्षका नेताहरुको भेला रोकिएको दाबी गरेका छन्। उनले ओलीले सहमति उल्लंघन गरेसँगै आफूहरु फेरि सक्रिय भएको बताए। उनले सचिवालयका सदस्य बसेर छलफल गर्नु गुट भेला नभएको दाबी गरे।

'कार्यदल बनेपछि र स्थायी समितिको निर्णय भएपछि हामी सचिवालयका पाँच जना सदस्यहरु जो प्रायः छलफल गर्ने गर्थ्यौ, त्यो रोकिएको थियो,' उनको भनाई उदृत गर्दै स्रोतले भन्यो।

माओवादीलाई फुटाउन गुटको खेती होइन?

प्रचण्डले आफ्ना पूर्व सहकर्मीलाई ओलीले आफूतिर तानेर गुटको खेती गरेको आरोप लगाए। आफ्नो अध्यक्षतामा केन्द्रीय समितिको दोस्रो बैठक सफलताका साथ समापन भएको र त्यसमा ओलीले डाह गरेको  प्रचण्डको भनाई थियो।

'केन्द्रीय समितिको दोस्रो बैठकपछिबाट देशभरिका नेता-कार्यकर्तामा एउटा सकारात्मक सन्देश जानु पार्टी एकतामा अर्को नयाँ उचाईमा आउनु थियो। अब पार्टी निर्माणको प्रक्रिया अगाडि बढ्ने भयो भन्ने भएपछि तपाईं र तपाईं नजिकका कमरेडहरुले भेला गरेर अबचाहिँ प्रचण्डका विरुद्ध र माओवादीलाई फुटाउनतिर केन्द्रित हुनुपर्छ भन्ने निर्णय गर्नु गुटको खेति थाल्नु हैन र? ' बैठकमा प्रचण्डले भने।

प्रचण्डले ओलीले अध्यादेश ल्याएर फुटको कदम चालेको धारणा बैठकमा राखेका थिए। अध्यादेश ल्याएर सरप्राइज दिएकोले त्यो फुटकै कदम भएको प्रचण्डको आरोप थियो।

'सचिवालयलाई त कुरै छोडौं अर्को अध्यक्ष र वरिष्ठ नेताहरुलाई समेत जानकारी नदिइकन सरप्राइज दिँदै जसरी अध्यादेश ल्याउनुभयो त्यो फुटतिरको कदम थिएन र?,' ओलीलाई प्रश्न गर्दै उनले भने।

नेकपा एमाले निर्वाचन आयोगमा दर्ता गराउनु ओलीको अर्को पार्टी फुटाउने कदम भएको प्रचण्डको तर्क थियो।

'स्थायी समितिको बैठक चल्दाचल्दै तपाईंकै निर्देशनमा नेकपा एमाले दर्ता गर्नु फुटतिरको कदम होइन र? अनि मैले तपाईंलाई गम्भीर ढंगले ध्यानाकर्षण गराउनको निम्ति सामान्य कुराले मात्रै पुगेन र अल्लि स्ट्रङली भन्नुपर्ने रहेछ भन्ने निष्कर्षमा पुगेर पार्टी एकताकै निम्ति यहाँ यहाँ गल्ती भएको छ भन्नु एकता सुदृढ गर्ने कुरा हो,' उनले भने।

मदन भण्डारी फाउन्डेशनमार्फत देशभर गुट चलाएको प्रचण्डको आरोप थियो।

निर्णय बहुमतबाट मात्रै

प्रचण्डले महाधिवेशनसम्म सहमतिबाट जाने भने पनि ओलीले घात गर्दा समस्या आएको बताए। उनले सधै सहमति मात्रै भएर पार्टी नचल्ने तर्क गरे।

'हामीले पक्कै पनि सहमतिबाट जाने भनेकै हो। तर फेरि पनि यो कम्युनिस्ट पार्टी हुनुको नाताले सबै विषयमा सधैँ नै सहमति नै हुन्छ भन्ने जरुरी नभएकै कारण तपाईं हामीले राजनीतिक प्रतिवेदनमा हाम्रो संगठनात्मक सिद्धान्त जनवादी केन्द्रीयता हुनेछ भनेको होइन? बहुमतको निर्णय पार्टीको निर्णय हुनेछ भनेर विधानमा त्यतिबेलै लेखेको होइन र ! एकातिर सहमतिको कुरा हामीले गरेकै हो त्यो आवश्यक पनि हो,' उनले भने, 'कैयौं विषयमा छलफल गर्दै जाँदा सहमति भएन भने निर्णय गर्ने विधि के हो? बहुमतको निर्णय पार्टीको निर्णय पनि त भनेका छौँ।'

दम्भ र अंहकार दोहोरियो

ओलीले जवाफ दिएर राम्रो काम गरे पनि प्रस्तुतिमा दम्भ देखिएको प्रचण्डको धारणा थियो। 'आजकै प्रस्तुतिमा पनि एकताको त कुरा गर्नुभयो तर प्रस्तुतिमा दम्भ र अहंकार नै झल्कियो। कहीँ पनि आत्मसमीक्षा गर्ने,आफ्नो पनि केही कमजोरीको शेयर लिन्छु भन्ने तपाईंको बानी छैन,' उनले बैठकमा भने।

ओलीले सर्वसम्मत निर्णयलाई समेत चुनौती दिएको प्रचण्डले आरोप लगाए।

'तपाईंले बहुमतको निर्णय त छोडिदिऊँ कमरेड,यही समितिको सर्वसम्मत निर्णय पनि ठाडै अस्वीकार गर्नुभयो,' उनले भने। आलोपालो सरकार र पार्टी नेतृत्वमा सहमति भएको भए पनि अब त्यसमा फर्किने अवस्था नै नरहेको प्रचण्डको दाबी छ। अब पार्टी एकतालाई केन्द्रबिन्दुमा राखेर समाधान निकाल्नुपर्ने विकल्प प्रचण्डले बैठकमा प्रस्तुत गरेका थिए।

'हामीले अब अल्ली अर्को उचाईमा गएर पार्टी एकतालाई सुदृढ गर्ने आवश्यकतालाई केन्द्रविन्दुमा राखेर धेरै मेहनत र छलफल गर्नुपर्ने भएको छ। त्यसकारण म अहिले त्यहीँ मागमा फर्केको भन्ने अर्थ नलगाइदिनोस्,' प्रचण्डले बैठकमा भनेका थिए।

आलोचना गर्दा भएन, त्यसैले चिमोटेको हुँ

उनले सरकारलाई सच्चिन, सरकार र पार्टीबीच समन्वय गराउन आफूले सचिवालयमा प्रस्ताव प्रस्तुत गरेको स्पस्टिकरण दिए। उनले ओलीलाई आलोचनाले नछोएको बताए।

'कहिलेकाहीँ मैले तपाईंलाई आलोचना गर्दा त्यसले छुँदै छोएन भने चिमोट्न र अलिकति घोच्न पर्ने हुन्छ। मेरो दृष्टिमा मैले तपाईंलाई यही घोच्न खोजेको पक्कै हो। तर अहिले सिध्याएकै हो भन्ने अर्थ तपाईंले लगाउनुभयो। र,अब सिद्धिसक्यो भनेजस्तो गर्नुभयो भने त्योचाहिँ फेरि सत्य हुँदैन,' ओलीको आलोचना गर्दै उनले भने।

प्रचण्डले बैठकमा ओलीलाई त्याग गर्न आग्रह पनि गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell