PahiloPost

Apr 19, 2026 | ६ बैशाख २०८३

नेकपा विवादबारे मन्त्री अर्याल भन्छिन्, ‘तातोपानीले घर जल्दैन, ओली सरकारको विकल्प छैन’



पहिलोपोस्ट

नेकपा विवादबारे मन्त्री अर्याल भन्छिन्, ‘तातोपानीले घर जल्दैन, ओली सरकारको विकल्प छैन’

स्याङ्जा : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले केपी ओली सरकारको विकल्प नभएको बताएकी छन्।

आइतवार वालिङ – १२ को छाप कौलाशे लिफ्टिङ खानेपानी उप–योजनाको शिलान्यास गर्दै मन्त्री अर्यालले पार्टीभित्र चलिरहेको विवादलाई लिएर सरकारको भविष्य के हुन्छ भनेर प्रश्न उठे पनि ओली सरकारको विकल्प नरहेको र यसमा दुविधा नहुन आग्रह गरिन्।

वर्तमान सरकार ५ वर्षसम्म निरन्तर रहने भन्दै मन्त्री अर्यालले सरकार देशलाई परिर्वतन गर्ने दिशामा अगाडि बढेको दाबी गरिन्। कम्युनिस्ट पार्टी एक गतिशील पार्टी भएकाले छलफल र विवाद स्वभाविक भएको उनको भनाई थियो। ‘पार्टीभित्र बहस घनिभूत रुपमा चल्छ तर, पार्टी फुट्ने कुरा हुँदैन। दुवै अध्यक्षले आ–आफ्नो प्रतिवेदन प्रस्तुत गरेका छन्। सदस्यहरुको तहमा प्रतिवेदन पुगेको छ। बहस र छलफल चल्दैमा पार्टी फुट्ने कुनै सम्भावना छैन,’ उनले भनिन्।

तातोपानीले घर नजल्ने भन्दै मन्त्री अर्यालले कम्युनिस्ट पार्टी एक ढिक्का रहने दावी गरिन्। ‘जनताको चाहनाले दुई ठूला पार्टी एक भएकाले जनता पार्टी फुटोस भन्ने चाहँदैनन्,’ मन्त्री अर्यालले भनिन्, ‘जनता कम्युनिस्ट सरकारको विकास अनुभूत गरिरहेका छन्। यही सरकारको निरन्तरता जनताको पनि चाहना हो।’

सरकारले सन् २०३० सम्म दिगो विकास लक्ष्य हाँसिल गर्ने उद्देश्यका साथ जनताको आधारभूत आवश्यकता पुरा गर्न अगाडि बढेको मन्त्री अर्यालले बताइन्। जनताको आधारभुत आवश्यकता स्वास्थ्य, शिक्षा, खानेपानी जस्ता आवश्यकतालाई परिपूर्ति गर्न विभिन्न योजनाका साथ अगाडि बढेको उनको भनाई छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell