चितवन : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेशकुमार भट्टराईले मध्य नेपालको सम्भावना र यस क्षेत्रको पर्यटन विकासमा टेवा पुर्याउन भरतपुर विमानस्थलको विस्तार अपरिहार्य रहेको बताएका छन्।
आइतवार भरतपुर महानगरमा आयोजित छलफल कार्यक्रममा उनले भरतपुर विमानस्थल विस्तारको काम शुरु भइसकेको भन्दै यसलाई सम्पन्न गर्न आइपर्ने असजिला तथा अवरोधहरुलाई व्यवस्थापन गर्दै जानुपर्ने बताए।
विभिन्न चरणमा विमानस्थल विस्तारका लागि छलफल र संभाव्यता अध्ययन पूरा गरी निर्माणको निचोडमा पुगिरहेको बताउँदै विमानस्थल विस्तार गर्न चारैतिरबाट तीव्र दबाब आइरहेको उनले बताए। उनले अब निर्माण गर्न आइपर्ने समस्याहरू कसरी समाधान गर्ने भन्नेमा केन्द्रित हुनुपर्ने बताए।
नेपाली सेनाको ब्यारेक र घोडाफर्म अन्यत्र हट्ने र सो स्थानमा विमानस्थलको गुरूयोजना नबिग्रने गरी नेपाली सेनाको आपतकालिन एयर बेसक्याम रहने उनले बताए। हालको अवस्थामा भरतपुर विमानस्थल जोखिममा रहेको बताउँदै अब भरतपुर महानगरपालिकाले मापदण्ड विपरितका घर तथा अग्ला घरहरू भत्काउनुपर्ने उनले बताए।
सुविधा सम्पन्न विमानस्थल पनि चाहिने र घर पनि अग्लो चाहिने कुरा उपयुक्त हुन नसक्ने बताउँँदै उनले विमानस्थल निर्माणमा सबैको सकारात्मक सहयोग हुनुपर्ने बताए।
भरतपुर महानगर प्रमुख रेनु दाहालले महानगरपालिकाले भरतपुर विमानस्थललाई रात्रिकालिन उडानसहितको व्यवस्थित र सुविधा सम्पन्न विमानस्थलको विस्तार गर्न चाहेको बताइन्। उनले यो विमानस्थलको विस्तार र विकासले चितवन र यस आसपासका जिल्लाहरूको समग्र विकासमा उल्लेख्य टेवा पूग्ने बताइन्।
विस्तारको लागि थुप्रै चरणका छलफल गरी काम अगाडि बढाएको बताउँदै उनले भरतपुर महानगरपालिकाले गर्नुपर्ने सबै काम गरिरहेको र आवश्यक कामहरू गर्दै जाने बताउँदै सबैको जोडबलबाट छिट्टै विस्तारको काम अगाडि बढाउन मन्त्री भट्टराई समक्ष आग्रह गरिन्।
भरतपुर महानगरपालिकाले विमानस्थल विस्तारको क्षेत्रमा पर्ने कालीबहादुर गण र नेपाली सेनाकै गोडा प्रजनन केन्द्रलाई सेनासँगकै समन्वयमा उचित स्थानमा व्यवस्थापन गर्ने सहमति भइसकेको उनले बताइन्। सोको सम्पूर्ण विवरण पर्यटन मन्त्रालयमा पठाइसकिएको पनि उनले बताइन्।
