PahiloPost

Nov 23, 2024 | ८ मंसिर २०८१

पुष्पा भण्डारीको जुत्ताको कथा : जो दौडिइरहिन्



मुकुन्द घिमिरे

पुष्पा भण्डारीको जुत्ताको कथा : जो दौडिइरहिन्

तिहार सुरु हुँदै थियो। सरकारले स्वास्थ्य मापदण्ड अपनाएर कोरोना संक्रमणले महिनौंदेखि ठप्प खेलकुद गतिविधि सञ्चालनको अनुमति दियो। त्यहीबेला नेपालगञ्जमा म्याराथन आयोजना गरियो। सागका स्वर्णपदक विजेतासमेत रहेका एपीएफका गोपीचन्द्र पार्कीले म्याराथन जित्दै ओलम्पिकमा स्थान सुरक्षित गरे। उता महिलातर्फ हाफ म्याराथनमा प्रथम भएकी थिइन् पुष्पा भण्डारी।

म्याराथन आयोजना हुँदै गर्दा म आफ्नै घरमा थिएँ। दशैंमा घर नगएकाले तिहारमा बसाइ अलि लम्बियो। घर गए पनि खेलकुदमा अपडेट भइरहेकै थिएँ। त्यसैबीच म्याराथन विजेता भण्डारीले एउटा स्टाटस लेखिन् जसमा यथार्थ, व्यङ्ग्य, संघर्ष, कठिनाइ, बिडम्बना सबै मिश्रित थियो।

उनले लेखेकी थिइन् :  ३५ हजारका जुत्ता लगाएर ३० हजारको गेम जितियो। मेहनत र लगानी, दुखाइ सहेको प्रतिफल जो मिठै देखियो। कति जितेउ भन्नेहरुका लागि मात्रै है।

उनले अगाडि लेखेकी छिन्:  मेरा बाआमा भएरै त देशले मलाई पाएको हो। मलाई भौतिक मानसिक रुपमा बैशाखी दिएर झुक्न नदिनेहरुले अनि मर्नेजस्ता परिस्थिति र पक्षपातपूर्ण व्यवहार आइपर्दा पनि रिसमा 'क' थपेर रिस्कमा हिँड्दा र बाँच्दा नै आज यो स्थानमा छु धन्य धन्य सबै जनालाइ हार्दिक नमन।

उनका यी शब्दहरुले उनका संघर्ष, चुनौति र जोखिम सबै देखाएका छन्।

आखिर को हुन् त उनी? कसरी आइन एथ्लेटिक्समा?

घरको उनको सल्यान। उनी सम्झिन्छिन् ६ कक्षामा पढ्दा विद्यालयमा आयोजना भएको दौड प्रतियोगितामा भाग लिएको। त्यही दौड त हो जसले उनलाई जीवनको ट्र्याकमा दौडिन सिकाएको।

त्यही दौडमा देखाएको प्रदर्शनकै आधारमा उनी छैटौं नेसनल गेमको छनोटका लागि आएका रवीनकुमार राईको नजरमा परिन्। त्यसपछि गाविस स्तरीय, जिल्ला स्तरीय, क्षेत्रीय हुँदै छैटौं राष्ट्रिय खेलकुदमा सहभागी भइन् उनी। पहिलो अनुभवमै म्याराथनमा दोस्रो स्थान बनाउन सफल भइन्। ५ किमीको दौडमा तेस्रो भइन्। त्यस्तै १५ सय मिटरमा पनि सहभागिता जनाइन्।

तर त्यो पछि खेलकुदको भेउ नपाउँदा राष्ट्रिय स्तरमा नआइ उनको २ वर्ष ग्याप भयो। त्यही ग्यापमा उनले पढाइलाई निरन्तरता दिइन्। प्लस टू सकिन्।

त्यसपछि २०६९ सालको लुम्बिनी च्याम्पियनसिपमा सहभागी भएर प्रथम भइन्। र, त्यसैको अर्को साल विभागीय टोली एपीएफमा करारमा पुगिन्।

+++

अन्तर्राष्ट्रिय स्तरमा उनले सहभागिता जनाएको पहिलो प्रतियोगिता हो १२ औं साग। जसमा उनले सहभागिता त जनाइन् तर सोचेजस्तो नतिजा निकाल्न सकिनन्।

गत वर्ष नेपालमा १३ औं दक्षिण एसियाली खेलकुद (साग) सम्पन्न भयो। त्यसमा रजत पदक हात पारिन्। पदक मात्र होइन उनले पदकसँगै राष्ट्रिय कीर्तिमान पनि बनाइन्। २ घण्टा ५० मिनेट ११ सेकेन्टमा म्याराथन पुरा गर्दै उनले राष्ट्रिय कीर्तिमान बनाइन्। पहिलो हुने खेलाडीभन्दा १० मिनेटपछि परेकी उनलाई पहिलो हुन नसकेकोमा धेरै गुनासो छैन।

'मैले मेरो बेस्ट दिएको थिएँ। आफ्नो प्रदर्शनबाट सन्तुष्ट छु,' उनले भनिन्, 'अब अर्को साउथ एसियन गेममा चाही गोल्ड ल्याउने र टाइमिङ अझै घटाउने लक्ष्य छ।'

मीठा कुरा, नमीठा कुरा

खेलमा सफलता र असफल्ताबारे उनको आफ्नै व्याख्या छ। जसले उनलाई दौडिन प्रेरित गरिरहन्छ।

'जितिराख्यो भने त ठीकै छ। हार्न थालियो भने त गाह्रो हुन्छ,'कम बोल्ने भण्डारीले भनिन्।

खेल जीवनमा धेरैपटक करियर छाडेर हिँड्न पो पर्छ कि भन्नेसम्म मनस्थिति बनाएकी उनलाई दौडेरै केही गर्न सक्छु भन्ने हुटहुटीले रोकेर राख्यो।

अझ पछिल्लो समय त कोरोना महामारीले ट्रेनिङ रोकिदियो। प्रतियोगिता पनि। लकडाउन चलिरहँदा उनी अरु जस्तै घरभित्रै रहिन्। सामान्य घरमै गरेको सामान्य अभ्यासबाहेक उनको ट्रेनिङ भएन त्यतिबेला।'

एकहप्ता आराम हुँदा त गाह्रो होला जस्तो हुन्छ। यो पाली त ६ महिनासम्म अभ्यास गरिएन। एकैपटक प्रतियोगितामा जाँदा नेपालगञ्जमा गाह्रो भएको थियो' प्रतियोगितामा प्रथम भएकी उनले अनुभव साटिन्।

खेलमा टिकीरहन उनलाई अझै सजिलो छैन। घर र आफन्तबाट कुराहरु आइरहन्छ : यति गर्न सकिहालिस्, अब कति खेल्ने हो र?

हुन त उनी विभागीय खेलाडी। विभागमा रहँदा उनले त्यति आर्थिक संकटसँग जुध्नु पर्दैन जति बाहिरका खेलाडीले ब्यहोर्नुपर्छ।

उनी भन्छिन्, 'विभागीय भएरै पनि गाह्रो छ यहाँ। बाहिरकोलाई त झनै गाह्रो हुन्छ नि। डाइटिङ, जुत्ता, ट्रेनिङमा ठूलो लगानी हुन्छ।'

लगानी त उनले पनि गरेकी छिन्। आफ्नो खुट्टाको भार बोक्ने जुत्तामा। ट्रयाकमा दौडिन सस्तो जुत्ताले काम दिँदैन। राम्रो र टिकाउ जुत्ता भने महंगो। जुन किन्न सुरुसुरुमा विदेशमा रहेका दाईहरु र सेनामा रहेका दाईबाट सहयोग पाइन्। उनीहरुबाट सहयोग पाएकाले मात्र खेलमा टिक्न सकेको उनी बताउँछिन्।

'कमसल जुत्ता लगाएर दौडिए घाइते हुने सम्भावना हुन्छ। गेम पनि सुधार हुँदैन। राम्रो ट्रेनिङका लागि महँगो जुत्ता चाहिन्छ नै,' उनी भन्छिन्, 'गेम जितेको पैसा राम्रो जुत्ता किन्दैमा जान्छ।'

म्याराथनमा लागेर उनका कति नमिठा अनुभवहरु पनि छन्। उनी सम्झिन्छिन् काठमाडौं म्याराथनका ती दिन। कुरा सायद ०७४ सालतिर हुनुपर्छ।

'त्यतिबेला राम्रो फर्ममा थिएँ। त्यसपटक प्रतियोगिता जित्छु भन्ने थियो। तर प्रतियोगिताको १० दिन अघि घाइते भएँ,' उनी सम्झिन्छिन्, 'भूकम्पका कारण रंगशालामा क्षति पुगेको थियो। पुनर्निर्माण भइसकेको थिएन। हामी अभ्यास त्यहीँ गर्थ्यौं। दौडिँदा दौडँदै त्यहाँको एउटा टुक्रा खुट्टामा आयो। र, खुट्टा फ्याक्चर भइदियो।'

त्यही एउटा टुक्राका कारण उनी म्याराथनमा दौडिन पाइनन्। उनले त्यतिबेला दौडन नपाएको अझै बिर्सिएकी छैन। तर त्यसपछि ठूला सफलताहरु भने हात पारेकी छिन्।

'चोट' सँग अघि बढ्न उनलाई अहिले बानी परिसकेको छ। उनी दौडिएरै खुशी खोजिरहेकी छिन्। उनलाई विश्वास छ अर्को सागमा उनले स्वर्ण जित्ने छिन् र रेकर्ड अझै सुधार गर्नेछिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell