काठमाडौं : क्रमिकरूपमा ओरालो लागेको सुन सोमवार प्रतितोला ९० हजार रूपैयाँ भएको छ। लगातार उकालो लागेको मूल्य करिब ६ महिनापछि पुनः घटेर ९० हजारमा आइपुगेको हो।
आइतवारका तुलनामा सोमवार तोलामा ७ सय रुपैयाँले घटेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। साताको पहिलो दिन आइतवार प्रतितोला ९० हजार ७ सय रुपैयाँ थियो। गत शुक्रवारका तुलनामा आइतवार ६ सय रुपैयाँ घटेको थियो। यसअघि सुनको मूल्यमा उतारचढाव भएर तोलाको एक लाख ३ हजार ५ सय रुपैयाँ पुगेको थियो भने घट्दा पनि प्रतितोला ९३ हजार ५ सय रुपैयाँभन्दा तल विरलै ओर्लिएको थियो।
कोरोना संक्रमण नियन्त्रणका चरणहरू सुरू भएर अन्तर्राष्ट्रिय बजारमा लगानीका क्षेत्र सहज हुँदै जाँदा सुन चाँदीको मूल्यमा गिरावट आएको व्यवसायीले बताएका छन्। लगानीका अन्य क्षेत्र खुम्चिँदा लगानीकर्ताहरू सुन चाँदीतर्फ आकर्षित थिए। सेयर बजारले पुनः गति लिएपछि अन्तर्राष्ट्रिय बजारमा सुन चाँदीको भाउ क्रमिक घट्दा नेपालमा पनि सोझो असर परेको व्यवसायीहरूको भनाइ छ।
अन्तर्राष्ट्रिय बजारमा लगानीका अन्य क्षेत्र सबल भइरहे सुनचाँदीको मूल्य अझै घट्न सक्ने अनुमान विश्लेषकहरूको छ। कोरोना भाइरसविरुद्धका खोपको परीक्षणले सफलता पाउन थालेका खबर आइरहँदा संसारका शक्ति राष्ट्रहरूमा स्वास्थ्य क्षेत्रमा लगानी बढेको छ।
चाँदीको मूल्य सोमवार अघिल्लो दिनको भन्दा ३० रुपैयाँले घटेर तोलाको एक हजार २० रुपैयाँ भएको छ। आइतवार चाँदी तोलामा १५ रुपैयाँले घटेर एक हजार एक सय ५० रुपैयाँमा कारोवार भएको थियो। यस अघि बढेर तोलाको १४ सय रुपैयाँसम्म पनि पुगेको थियो। घट्दा ११ सय ५० रुपैयाँसम्म भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा सोमवार सुन प्रतिऔंस १७६९.७२ डलर र चाँदी २२.१२ डलरमा कारोवार भएको छ।
