PahiloPost

Dec 27, 2024 | १२ पुष २०८१

कैलालीमा बढ्यो एचआइभी संक्रमितको संख्या, ‘देशमै रोजगारीको सुनिश्चितता नभएसम्म नियन्त्रण गर्न कठिन’



एम बम

कैलालीमा बढ्यो एचआइभी संक्रमितको संख्या, ‘देशमै रोजगारीको सुनिश्चितता नभएसम्म नियन्त्रण गर्न कठिन’

धनगढी : कैलालीमा पछिल्ला चार वर्षको तथ्यांक हेर्दा गत आर्थिक वर्षमा एचआइभी संक्रमितको संख्या उकालो लागेको छ। आर्थिक वर्ष २०७५/०७६ अघिका तीन वर्षसम्म वार्षिक रूपमा निरन्तर ओरालो लागेको नयाँ संक्रमितको संख्या गत आवमा भने बढेको हो।

आव ०७३/०७४ मा १ सय २५ नयाँ संक्रमित थपिएको कैलालीमा आव ०७४/०७५ मा १ सय १५ र आव ०७५/०७६ मा १ सय ७ जना नयाँ संक्रमित थपिएका थिए। तर, गत आवमा भने त्यो संख्या बढेर १ सय ५२ पुगेको छ।

जिल्ला स्वास्थ्य कार्यालय कैलालीले सोमवार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गरी यस बारेमा जानकारी दिएको छ। कार्यालयका प्रमुख लालबहादुर धामीका अनुसार गत आवमा परीक्षणको दायरा बढाउँदा तथा बसाइसराइको दर बढेकाले नयाँ संक्रमितहरू थपिने क्रम समेत बढेको हो।

‘हामीले जोखिम रहेको क्षेत्रमा सबैको परीक्षण गर्नुका साथै कतिपय ठाउँमा समुदायमा समेत परीक्षण गरेका थियौँ’, उनले भने, ‘यसरी परीक्षणको दायरा बढाउँदा समुदायमा सामाजिक सचेतनाको कमीका कारण सिर्जना भएको डरले जाँचको दायरामा नआएका संक्रमितहरू अहिले फेला परेका हुन्।’

साथै कैलालीमा पहाडी जिल्लाहरूबाट बसाइसराइ गरेर आउने क्रम बढी हुनु तथा एचआइभी संक्रमितहरूले सेवन गर्ने औषधि एआरटी प्रयोगका लागि कैलाली रेफरल जिल्लाका रूपमा समेत रहेकाले यो संख्या बढेको उनको भनाइ छ।

कैलालीमा गत आवमा ६ हजार १ सय १३ जनाको एचआइभी जाँच गरिएको थियो।

सुदूरपश्चिम प्रदेशमा भारतमा लामो समयसम्म रोजगारीका लागि बस्नुपर्ने बाध्यता रहेकाले एचआइभी संक्रमणको दरलाई पूर्ण रूपमा रोक्न भने कठिन रहेको सरोकारवालाको भनाइ छ।

सेती प्रादेशिक अस्पतालका वरिष्ठ कन्सल्टेन्ट फिजिसियन डा शेरबहादुर कमर भन्छन्, ‘प्रदेशमा भारतमा रोजगारमा जानेको संख्या निकै बढी छ। यो एचआइभी एड्स भनेको हाम्रा लागि पूर्ण आयातित रोग हो र सुदूरपश्चिममा सबैभन्दा बढी भारतबाटै जोखिम बढेको हो। त्यसैले जबसम्म प्रदेशमा रोजगारीको सुनिश्चितता भएर भारत जानुपर्ने बाध्यताको अन्त्य हुँदैन तबसम्म एचआइभीको नयाँ संक्रमण दरलाई समेत नियन्त्रणमा ल्याउन कठिन छ।’

उनले सबै संक्रमितहरूलाई चिकित्सकको सम्पर्कमा आउन समेत आग्रह गरे।

सुदूरपश्चिम प्रदेशमा गत आवमा एचआइभी संक्रमित ३५ जनाको मृत्यु भएको छ। जसमध्ये ६ जना नयाँ संक्रमित हुन्।

जिल्लामा तीन ठाउँमा रहेका एआरटीमा हालसम्म २ हजार ८८५ एचआइभी संक्रमितको संख्या दर्तामा रहेको जिल्ला स्वास्थ्य कार्यालय कैलालीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell