PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

ओलीसँग कुनै सम्झौता नगर्ने प्रचण्डको अडान, प्रचण्ड पक्ष गलाउने ओली रणनीति यस्तो



प्रकाश भण्डारी

ओलीसँग कुनै सम्झौता नगर्ने प्रचण्डको अडान, प्रचण्ड पक्ष गलाउने ओली रणनीति यस्तो

काठमाडौं : मंगलवार नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक बस्दै छ। प्रधानमन्त्री निवास बालुवाटारमा* दिउँसो १ बजेका लागि बोलाइएको बैठकमा   प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गरेको प्रतिवेदनमाथि छलफल हुँदै छ।

कार्यकारी अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधव नेपाल समूह प्रतिवेदनलाई केन्द्रीय कमिटीसम्मै लानुपर्ने अडानमा छन् भने ओली सचिवालयमै सहमति गर्नुपर्ने अडानमा छन्। मंसिर १३ गते ओलीले प्रचण्डलाई दिएको जवाफबाट प्रचण्ड आक्रोशित भएको र आजको बैठकमा ओलीको प्रतिवेदनमाथि प्रचण्डले टिप्पणी गर्ने उनी निकट नेताले बताएका छन्। १३ गते प्रचण्डले जवाफ आउनु सकारात्मक भएको भएपनि ओलीले अहंकार नत्यागेको भन्दै आलोचना गरेका थिए।

पार्टी कमिटीको निर्णयमात्रै मान्ने प्रचण्डको अडान

मंसिर ३ मा ओलीमाथि विभिन्न आरोप लगाउँदै प्रतिवेदन प्रस्तुत गरपछि प्रचण्डले अब पार्टी कमिटिको निर्णयमात्रै मान्य हुने अडान राखेका छन्। ओलीसँग सहमति हुन नसक्ने र विवादलाई पार्टीका कमिटीले निष्कर्षमा पुर्‍याउनुपर्ने प्रचण्ड नेपाल समूहका नेताको भनाई छ। आइतवार आफूनिकट केही नेतालाई खुमलटार बोलाएर प्रचण्डले अब बैठकको निर्णयमात्रै आफ्ना लागि मान्ने हुने बताएका थिए। भेटमा सहभागी एक नेताले अब ओली प्रचण्डका प्रतिवेदनमा अब अल्पमत र बहुमतको निर्णय हुने बताए। 'सबै विवाद अब प्रक्रियागत ढंगले अघि बढिसकेको छ। अब दुई प्रतिवेदन मध्य जसकोमा बहुमतले समर्थन गर्छ त्यो पारित हुन्छ। प्रचण्ड ओलीसँग अब कुनै सम्झौता गर्ने पक्षमा छैनन्,' ती नेताले  भने।  प्रचण्ड निकट मानिने नेता मात्रिका यादवले विवाद अब ओली प्रचण्डबाट मात्रै हल नहुने बताए। 'यसअघि जति सम्झौता भए भए अ‍ब यो दुई अध्यक्षको मात्रै कुरा रहेन। त्यसैले अब सम्झौता हुदैन,' उनले भने।

ओली समूहले पार्टीको हालको अवस्थामा बहुमतले निर्णय गर्ने कुनै व्यवस्था नभएको दाबी गरिरहँदा प्रचण्ड नेपाल भने बहुमतकै निर्णयमार्फत ओलीलाई एक पदबाट हटाउने रणनीतिमा छन्। सचिवालय, स्थायी कमिटी र केन्द्रीय कमिटीमा आफूहरुको स्पष्ट बहुमत रहेको प्रचण्ड नेपाल गुटको दाबी छ।

ओलीको रणनीति नेता फकाउने

वैशाख यता भदौ अन्तिमसम्म लगातारजसो संवादमा रहेका ओली प्रचण्ड हाल भने टाढिन थालेका छन्। ओलीले संवादका लागि पठाएको निम्तोसमेत प्रचण्डले अस्वीकार गरेपछि संवाद हुन सकेको छैन। विवादका सुरुवाती दिनमा नेपालप्रति कडा नीति अबलम्बन गरेका ओलीले अहिले भने नरम नीति अपनाएका छन्। बालुवाटारमा बोलाएर बेलाबेला अध्यक्षको आस्वासन देखाए पनि नेपालले भने समर्थन जनाएका छैनन्।

उपाध्यक्ष वामदेव गौतमको बेलाबेला साथ पाएर पद जोगाउन सफल भएका ओलीले यसपटक पनि उनलाई फकाउन हर सम्भव कोशिश गरे पनि सफल भएका छैनन्। सकेसम्म आफ्नो समूहमा बहुमत जुटाउने रणनीतिमा छ,ओली गुट।

भदौ २६ मै ओलीको अडान

नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ दुबै अध्यक्षले फेरि पनि केही न केही सहमति गर्ने दाबी गर्छन्। 'जे जति विवाद भए पनि गर्नुपर्ने त सहमतिमात्रै हो। अर्को बाटो त छैन,' उनले भने। उनका अनुसार प्रचण्ड आफ्नो प्रस्तावलाई सचिवालयबाट अघि नबढाउन तयार भए फेरि पनि सहमति हुने छ। बहुमतको निर्णय गर्ने व्यवस्था हाल पार्टीमा नभएको र एक अध्यक्षले ल्याएको प्रतिवेदन राजनीतिक प्रतिवेदन नभएको उनको तर्क छ।

ओली समूहले प्रचण्डको प्रस्ताव फिर्ता र भदौ २६ कै सहमतिलाई बटमलाइन बनाएको छ।

*यसअघि सचिवालय बैठक नेकपाको केन्द्रीय कार्यालय धुम्बाराहीमा हुने सूचना प्राप्त भएकोमा सच्चाइएको। सं.



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell