PahiloPost

Nov 23, 2024 | ८ मंसिर २०८१

सम्झनामा भीमबहादुर तामाङ : पूर्वश्रीमतीलाई नमस्कार गरेर भोट मागे होलान्?



नेत्र तामाङ

सम्झनामा भीमबहादुर तामाङ : पूर्वश्रीमतीलाई नमस्कार गरेर भोट मागे होलान्?

नेपाली काँग्रेसको बाह्रौ महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिए भीमबहादुर तामाङले। त्यही मेसोमा भेट्न उनको निवास पुग्नु थियो मलाई। ‘नयाँ बानेश्वरको थापागाउँमा आइपुगेपछि राधेश्याम अधिकारीको घर सोध्नु, मेरो बसाँई त्यहीँ हो,’ मलाई भेट्ने समय पनि दिए।

पूर्वमन्त्रीहरुलाई सम्बोधन गर्न मलाई निकै गाह्रो हुने। ‘मन्त्री ज्यू’ कसरी भनौं ?  दाई भनौ धेरै पाको, अंकल भनौं या हजुरबुवा भनौं वा नेताज्यू। यसअघि कहिल्यै नभेटेकोले मलाई निकै नै अप्ठेरो भयो। तैपनि सहज बनाउन कहिले मन्त्रीज्यू, कहिले दाई कहिले सर भनेर सकेसम्मको नाता लगाए।

भदौको महिना थियो २०६७ को। पहिलोपटक भेट्न पुग्दा उनी भर्खरै कपडा लगाउने तयारीमा रहेछन्। केही बेर अघिमात्रै नुहाएर पुराना गम्छा बेरेका उनी अन्डरवेयर हातमा बोकेर लगाउने तयारी गर्दै थिए। मलाई भेट्नसाथ एकैछिन बाँसको मेचमा बस्न भने र कपडा लगाउन थाले। सिंगो कोठाका भित्ताभरी किताबका र्‍याक देखिन्थे। सुत्नेखाने त्यही ठाउँ रहेछ। ‘कपडा फेर्ने एउटा जाबो अर्को कोठा पनि नभएको कस्तो पूर्वमन्त्री,’ मनमा कुरा आइहल्यो।

हुन त यसअघि तामाङ निकै इमान्दार नेता हुन भनी सुनेका थिएँ, तैपनि कानुन तथा न्याय मन्त्री भइसकेका उनी यत्तिकै ल्याङफ्याङे त थिएनन् होला नि भन्ने सोच मेरो मस्तिस्कमा थियो। सहयोगी कोही थिएनन्। डेरामा महिला नभएर होला उनी सहजै गम्छा बेरेरे अन्डरवेयर लगाइरहेका थिए। महाधिवेशनको चटारोले उनलाई त्यति समय निक्लेन जस्तो छ। त्यहाँबाट मलाई नयाँ बानेश्वरमा आउन भन्दै निस्के।

नयाँ बानेश्वरको संविधानसभा हल अहिलेको संघीय संसद् भवन नजिकै शंखमुल जाने बाटोमा प्रचार कार्यालय रहेछ। दिउँसो भेट्न पुगे। कार्यकर्ताको भीडभाड देखिन्थ्यो। भेट्नेको ताँती पनि त्यतिकै थियो। तर त्यो भीडमा मलाई देखेर बर्दालीतिर बोलाए र छलफल गर्न थाले। उनले कान अलि कम सुन्ने भइसकेछ जस्तो लाग्यो मलाई। त्यसैले नजिकै बसेर ठुलो स्वरमा बोल्नुपर्ने भयो।

कार्याकर्ताको भीड देखिएपनि प्रचारमा भने बुढा एक्लै लागेका छन् जस्तो मेरो ठम्याई थियो। करिब एकघन्टे बसाईमा तामाङले मेरा प्रश्नको जवाफ स्वादिलो र सन्तुलित तवरले दिए। नेपाली काँग्रेसमा रहेर ५५ वर्ष अविरल इमान्दार राजनीति गरेर स्पष्ट उचाई बनाइसकेका भनिएका तामाङको क्रियाशीलताले मलाई धेरै उर्जा दियो।

भेटपछि मैले उनको उम्मेदवारी केवल हारको लागि थियो भनेर ब्लग पनि लेखें। किनकि कुनै लक्षण नै थिएन चुनाव जित्ने। चुनावमा पैसा र पहुँच चाहिने भएकोले ती कुराहरुको कमी थियो। नरहरि आचार्य र चक्रप्रसाद बाँस्तोलाबाहेक अरुको साथ थिएन। संस्थापन पक्ष नै भनेर प्रचार गरिएपनि ७७ वर्षको उमेरमा सभापतिमा उठेका उनका प्रतिस्पर्धी थिए सुशील कोइराला।

तैपनि पार्टीमा प्रशस्तै मत बटुल्ने सम्भावना बोकेका वरिष्ठ नेता शेरबहादुर देउवा, कार्यकारी सभापति कोइरालाको उम्मेदवारी पर्दा पनि उनको उम्मेदवारी पृथक थियो। यसबारे यसो तामाङ भन्थे, ‘गुटबन्दी र खेमालाई बाँध्नको लागि मैले उम्मेदवारी दिएको हुँ। गुट उपगुटको राजनीति त्याग्नुपर्छ। यसका लागि परिवर्तन आवश्यक छ। पुरानै ढर्रामा पार्टी सञ्चालन हुनुहुदैन।’

युवालाई नेतृत्व दिनुपर्छ भन्नेमा उनको जोड थियो। बीपीकालीन राजनीति देखि सक्रिय नेतृत्व गर्नुभएको तपाईले यो उमेरमा उम्मेदवारी दिनुभएको छ, कसरी पत्याउने युवालाई नेतृत्व दिनुपर्छ भन्ने कुरा?

तामाङको जवाफ यस्तो थियो, 'शारीरिक रुपले मात्र हेरेर हुदैन। म विचारले युवा नै छु। अहिले काँग्रेसमा जति पनि युवाले नेतृत्व पाएका छन्। त्यो सबै हामीले नै अभियान चलाएर भएको हो। जोशजाँगर भएको युवाले नै कांग्रेसलाई सही दिशामा लैजानेछ। अरु कसैले पनि युवालाई नेतृत्व दिनुपर्छ भनी उम्मेदवारी दिएका छैनन्।'

त्यहीबेला काँग्रेसले आफूलाई अझ बढी समावेशी देखाउन महाअधिवेशन प्रतिनिधिमा जनजाति र आदिवासी थपेका थिए। पक्कै त्यही भोटको आशामा उहाँले उम्मेदवारी दिएको हुनपर्छ भन्ने सोचे मैले र प्रश्न पनि गरेको थिए।

उहाँको उत्तर यस्तो थियो, ‘म जनजातिभन्दा बढी कांग्रेस हुँ। जनजाति धेरै छन् भन्ने आशाले मैले उम्मेदवारी दिएको हैन। कांग्रेसको नीति अनुसार सबैलाई समावेशी गराउनुपर्छ। बीपीले नै उहिल्यै समावेशी बनाउनुभएको थियो। तर अहिले आएर यो समावेशी टाठाबाठाका लागि मात्र भएको छ। जति जनजाति आए पनि अझै समावेशी भएको छैन। तैपनि यही नीति अनुसार यसपाला धेरै साथीहरू जनजाति, आदिवासी प्रतिनिधिमा चुनिएका छन्। उहाँहरूले जसलाई मन पराउँछन्, त्यसैलाई नै सभापतिमा चुन्ने हो।’

काँग्रेस सभापतिका लागि भएको निर्वाचनमा ७८ मत पाए उनले।

दुईवर्ष अघि उनलाई भेट्न जानुअघि एउटा कथा पुनस्मरण गरें। जो जनमानसमा तामाङबारे चल्ने गरेको उक्ति थियो, ‘पञ्चायतमा जेल परेपछि श्रीमती अर्कैसँग गइन्, अर्कोसँगको घरजममा पुग्दा उनले निकै दुःख पाइन्, प्रजातन्त्रको पुनःस्थापनापछि तामाङ भोट माग्न गाउँ पुग्दा पूर्वश्रीमतीलाई समेत नमस्कार गरी भोट मागेछन् त्यसपछि उनकी पूर्वश्रीमती भक्कनिएर रोएकी थिइन् रे।’ यो कथाबारे मैले सोध्न खोजे। अन्तरंग सोध्ने आँट आएन। अर्को भेटमै सोध्ने विचार गरी फर्के। तर दोस्रो भेट हुन सकेन। २०६९ मंसिर १६ गते उनको निधन भएको खबर आयो।

हृदयघातबाट निधन भएका तामाङको चर्चा जातीय संघसंस्थाले गर्न चाहेन। राजनीतिमा ठाउँ खोजिरहने तर नेतृत्वमा देखिएन भनेर कराइरहने तामाङ संघसंस्थाले पार्टीगत दाग लाग्ला भन्ने डरले हो कि सम्झने आँट गरेका छैनन् उनलाई। मैले पनि भीमबहादुर तामाङसँगको भेट १० वर्षपछि आज मात्रै सम्झेछु। त्यो पनि दुई चार जनाले फेसबुकमा उनको फोटो घुमाइदिएकाले।

तर, भीमबहादुर तामाङ प्रतिष्ठानले भने हरेक वर्ष उनलाई सम्झने रहेछ। यसपटक काठमाडौंको बौद्धमा रहेको घ्याङगुठी गुम्बामा १०८ बत्ती बालेर उनलाई श्रद्धाञ्जली दिइएको प्रतिष्ठानका अध्यक्ष बर्मा लामाले बताए। कोरोना महामारीका कारण तामाङको सम्झना यसपटक भव्य कार्यक्रम भने हुन सकेन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell