काठमाडौं : रोल्पामा भरपर्दो र गुणस्तरीय विद्युत् आपूर्ति हुने भएको छ। नेपाल विद्युत् प्राधिकरणले रोल्पाको लाँकुरीमा निर्माण गरेको ३३/११ केभी सवस्टेशन सोमवारदेखि चार्ज भएको छ। सो सवस्टेशनको निर्माणपछि रोल्पामा सहजरुपमा विद्युत् प्रवाह हुुने र भोल्टेजमा देखिने समस्यासमेत समाधान हुने भएको छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले रोल्पा नगरपालिका-३ लाँकुरीमा निर्माण भएको सवस्टेशनको उद्घाटन गरेका थिए। सवस्टेशनको निर्माणपछि विद्युतीकरण भएका रोल्पाका अधिकांश स्थानीय तहका ग्राहकले भरपर्दो विद्युत् सेवा पाउने प्राधिकरणको विश्वास छ। सवस्टेशनको अभावमा यसअघि रोल्पामा सामान्य पानी पर्दा वा हावाहुरी चल्दासमेत विद्युत् अवरुद्ध हुने गरेको थियो।
भारतको ए टू जेड इन्फ्रा इञ्जिनियरिङ र नेपालको त्रिपुरेश्वर-जयदुर्गे जेभीले निर्माण गरेको उक्त सवस्टेशन एशियाली विकास बैंकको १० करोड रुपैयाँ सहयोगमा निर्माण सम्पन्न भएको हो। सवस्टेशनबाट रोल्पाका सुनिल स्मृति गाउँपालिका, लुङ्ग्री गाउँपालिका, सुनछहरी गाउँपालिका, रुण्टीगढी गाउँपालिका र रोल्पा नगरपालिकाका ग्राहकले विद्युत् सेवा पाउनेछन्। यसअघि रोल्पामा प्यूठानको झिम्रुक शवस्टेशनबाट विद्युत् वितरण हुँदै आएको थियो। मन्त्री पुनले आगामी दुई वर्षभित्र देशका अधिकांश भू-भागमा विद्युतीकरण भइसक्ने बताउँदै सवस्टेशनको क्षमता विस्तार तथा नयाँ निर्माणलाई तीव्र पारिएको उल्लेख गरे।
‘उज्यालो समृद्धिको प्रतीक हो, समृद्धिको ढोका हो’, मन्त्री पुनले भने, ‘सरकारले दुई वर्षभित्र हरेक नेपालीको घरमा विद्युत् पुर्याउने गरी काम गरिरहेको छ।’
रोल्पामा कूल १५६ मेगावाट क्षमताको माडी जलाशययुक्त आयोजनाको विस्तृत आयोजना अध्ययन करिब करिब सम्पन्न भएको छ। सो आयोजनाको शीघ्र निर्माण कार्य शुरु गर्ने तयारीमा सरकार लागिपरेको छ।
आगामी दुई वर्षभित्र रोल्पाका हरेक गाउँमा विद्युतीकरण हुने गरी काम भइरहेको उनले जानकारी दिए।
उनले भने, ‘म मन्त्री हुनुअघि जिल्लामा विद्युतका आठ हजार ५०० ग्राहक रहेकामा हाल २३ हजार पुगेको छ। विद्युतको सहज उपलब्धता र संचरना विस्तारसँगै यही वर्ष ग्राहक सङ्ख्या बढेर ३० हजार पुग्ने अनुमान छ।’
नेपाल विद्युत् प्राधिकरणका कायममुकायम कार्यकारी निर्देशक हीतेन्द्रदेव शाक्य प्राधिकरण जनताको घरमा बिजुली पुर्याउने मात्र नभई विद्युत् सेवालाई थप गुणस्तरीय र भरपर्दो बनाउने काममा सक्रिय रहेको बताउँछन्। प्राधिकरण विद्युत् उत्पादनका साथै वितरण प्रणालीको विस्तार र सुदृढीकरणमा विशेष योजनाका साथ लागिपरेको उनको भनाइ छ। विद्युत् अर्थतन्त्रको इन्जिन भएकाले कायममुकायम कार्यकारी निर्देशक शाक्यले लाँकुरी सवस्टेशन चार्ज भएसँगै घरेलु र ठूला उद्योग सञ्चालन भई जिल्लामा आर्थिक गतिविधि बढ्ने विश्वास व्यक्त गरे।