PahiloPost

May 7, 2024 | २५ बैशाख २०८१

अन्तिम अवस्थामा मात्रै अस्पताल पुग्दा संक्रमितको मृत्यु दर बढ्दो, 'परीक्षण गर्ने घट्दा प्रदेश १ मा कम देखियो कोरोना संक्रमित'



फूलमाया पुरी

अन्तिम अवस्थामा मात्रै अस्पताल पुग्दा संक्रमितको मृत्यु दर बढ्दो, 'परीक्षण गर्ने घट्दा प्रदेश १ मा कम देखियो कोरोना संक्रमित'
फाइल फोटो : रासस

विराटनगर : प्रदेश १ मा कोरोना संक्रमण दर घट्दो छ। असोजको अन्त्यतिर दैनिक ५ सयको हाराहारीमा संक्रमित देखिएको थियो। प्रदेश १ को सामाजिक विकास मन्त्रालयको पछिल्लो तथ्यांकअनुसार कोरोना संक्रमितको संख्या २७ हजार २६२ पुगेको छ। यो समाचार तयार पार्दासम्म जसमध्ये २२ हजार २८५ जना कोरोना संक्रमणमुक्त भइसकेका छन्। ३७६ जना संक्रमितको मृत्यु भइसकेको छ। चार हजार ६०१ जना सक्रिय संक्रमित छन्।

'संक्रमण फैलिरहेकै छ, परीक्षणको माग भने घट्दो'

तथ्याङ्कले कम देखाए पनि संक्रमित संख्या बढी हुन सक्ने सरकारी अधिकारी नै बताउँछन्। समुदायमा संक्रमण फैलिइसकेको र परीक्षण घटेकोले संक्रमित बढी हुन सक्ने प्रदेश १ सामाजिक विकास मन्त्रालयका सचिव गोविन्दबहादुर कार्कीले बताए।

शुरुवाती चरणमा लक्षण नदेखिए पनि चिनजान र भनसुनको भरमा परीक्षण गर्थे। अहिले लक्षण देखिए पनि परीक्षण नगराउने पक्षमा देखिन्छन् सर्वसाधारण।

‘परीक्षणको डिमान्ड नै कम छ’ उनले भने ‘लक्षण देखिएकालाई मात्रै परीक्षण गर्ने गराउने सरकारको पोलिसी छ, त्यसैले संक्रमण कम देखिएको हो।’

यसअघि १५ सयदेखि दुई हजार जनामा परीक्षण गर्दा पाँच सय भन्दा बढीमा संक्रमण देखिन्थ्यो। अहिले हजारको हाराहारीमा परीक्षण गर्दा दुई सयदेखि ४ सयसम्म संक्रमण देखिन्छन्।

अधिकांश संक्रमित होम आइसोलेसनमा छन्। होम आइसोलेसनमै बसेकालाई कुनै जटिल समस्या नदेखिएमा १४ दिनपछि स्वत संक्रमणमुक्त भइ डिस्चार्ज भएको तथ्यांकमा समावेश गरिने उनले बताए। ‘१४ दिनपछि संक्रमित व्यक्तिले अर्को व्यक्तिमा भाइरस सर्ने जोखिम कम हुन्छ भन्ने सरकारको पोलिसीअनुसार डिस्चार्ज भनिएको हो,’ उनले प्रस्टाए।

किन बढ्दैछ मृत्युको दर?

संक्रमितको संख्या कम भए पनि मृत्युको दर भने घट्दो छ। यसको कारण अन्तिम अवस्थामा अस्पताल पुग्नु भएको बताउँछन् कार्की।

यता विराट मेडिकल कलेज तथा शिक्षण अस्पतालका कोभिड आइसोलेसन इन्चार्ज सुनिल देव पनि सचिव कार्कीसँग सहमत छन्। देवकाअनुसार यसअघि संक्रमितहरु लक्षण देखा पर्नसाथ अस्पताल आउँथे। अहिले सकेसम्म उनीहरु अस्पताल आउँदैनन्। अन्तिम अवस्थामा मात्रै अस्पताल आउँछन्। जसले गर्दा संक्रमितको सफल उपचार हुन गाह्रो हुने उनको बुझाइ छ।

विराट मेडिकल कलेज तथा शिक्षण अस्पतालका छातीरोग विशेषज्ञ डा. पुरु कोइरालाका अनुसार पछिल्लोपटक अस्पताल आउनेमा संक्रमण भएको ११ देखि १२ दिनपछि स्वास्थ्यमा समस्या हुनेहरु छन्। अहिलेमा अस्पताल आउने ९० प्रतिशत संक्रमितहरु आइसीयू र भेन्टीलेटरमा उपचार गर्नुपर्ने अवस्थाका हुने उनले बताए। जसमध्ये ५० प्रतिशतको त सफल उपचार हुने सम्भावना नै कम हुने उनको भनाई छ।

‘कतिपय त आफैं सतर्क पनि भएका छन्, समयमै पीसीआर गरी मल्टीभिटामिनको प्रयोग गरेर पनि रिकभर भएका छन्’ उनले भने।

उनकाअनुसार सामान्य अवस्थामा जस्तो अस्पताल आउने कतिपय बिरामी जसमा कुनै लक्षण नै हुँदैन। तर उसको इन्डोस्कोपी वा कुनै शल्यक्रिया जस्ता अन्य परीक्षणका लागि आउँदा कोरोना पनि परीक्षण गरिन्छ जतिबेला रिपोर्ट पोजेटिभ आइदिन्छ।

तर सिकिस्त अवस्थाका संक्रमितहरुमा ५० देखि ६० प्रतिशतमा मृत्यु हुने देखिन्छ। जसलाई तेस्रो पटकसम्म प्लाज्मा थेरापीले पनि बचाउन सक्दैन।

विराट अस्पतालको अहिले पनि १८ बेडको आइसीयू सिकिस्त संक्रमितले भरिएको छ। त्यसमा ७ वटा भेन्टीलेटरमा भएकामध्ये ५ जना जति त अन्तिम अवस्थामा उपचाररत रहेको डा. कोइरालाले जानकारी दिए।

रेम्डिसिभिर भन्दा प्लाज्मा थेरापी प्रभावकारी

डा. कोइराला कोरोना संक्रमितहरुको उपचारमा खटिइरहँदा पछिल्लो समय रेम्डिसिभिरभन्दा प्लाज्मा थेरापी प्रभावकारी देखिएको बताउँछन्। १० जना संक्रमितलाई प्लाज्मा दिँदा ६ जनामा यसको नतिजा राम्रो देखिएको उनले बताए।

‘धेरैजसोमा त पहिलो प्लाज्मा थेरापीमै निकै स्वास्थ्य सुधार भएको देखिन्छ,’ उनले भने, ‘४ जनामा हामीले तीन पटकसम्म पनि गर्यौं तर पनि कुनै सुधार हुन सकेन।’

रेम्डिसिभिरसँगै अन्य औषधिहरु पनि संक्रमितको उपचारका लागि प्रयोग गरिरहेको हुँदा यसले नै सुधार ल्याएको हो भनेर भन्न नसिकने उनको तर्क छ।

‘ट्रायलमा भएको दबाइ भएकाले क्रिटिकल अवस्थामा दिए पनि हुन्छ भनेकाले राखिएको हो’ डा.कोइरालाले भने ‘नत्र त रेम्डिसिभिर भन्दा प्लाज्मा नै उत्तम देखिन्छ।’

पछिल्लो दिनमा रेम्डिसिभिरको आकर्षण घटिसकेको उनी बताउँछन्। तर विश्व स्वास्थ्य संगठन र हाम्रो सरकारबाट पनि यसको बारेमा पहिले भनेकाले जनतामा यसको प्रभावकारिता छैन भनेर विश्वास दिलाउन समय लाग्ने उनको बुझाइ छ।

कम उमेरकाको मृत्यु किन?

दीर्घ रोग नभएका कम उमेरका संक्रमितहरुको पनि मृत्यु किन भइरहेको छ? यसका दुई कारण भएको बताउँछन् फोक्सो रोग विशेषज्ञ डा.रामहरी घिमिरे।

एक बाहिरी रुपमा कुनै स्वास्थ्य समस्या देखिदैन तर आन्तरिक रुपमा समस्या हुन सक्छ र कोरोना भाइरसले थप समस्या उत्पन्न गराएकाले मृत्युको मुखमा पुगिरहेका हुन्छन्।

अर्को वंशाणुगत रुपमै कमजोर व्यक्ति जो कोरोना भाइरसको सिकार भइरहेका छन्।

‘वंशाणुगत रुपमै कमजोर भएका व्यक्तिमा कोभिड-१९ जस्तो जटिल भाइरसले अट्याक्ट गरेपछि हाम्रो कुनै पनि उपचारले काम गर्दैन,’ उनले भने, ‘जुन पछिल्लो समयका यूवाहरु जसलाई कुनै किसिमको दीर्घ रोग नभइ कोरोना संक्रमणकै कारण ज्यान गुमाउन पुगे उनीहरुमा यसरी व्याख्या गर्न सकिन्छ।’

डा.घिमिरेका अनुसार कीटाणु प्रवेश गरिसकेपछि शरीरलाई तहसनहस गर्ने एउटा मोड हुन्छ। जुन जेनेटिकल डिटरमाइन्ड हुन्छ।

उदाहरणका लागि त्यसका आधारमा भन्न सकिन्छ कि कसैलाई एकै ठाउँमा हुँदा पनि कोरोना संक्रमण देखिने वा नदेखिने। देखिए पनि कसैलाई कडा त कसैलाई सामान्य अवस्थामा देखिने हुन्छ।

कोरोना संक्रमण भएपछि छातीमा समस्या देखिनु र सिटिस्क्यान गर्दा फोक्सोमा खराबी देखिनु नै भाइरल निमोनिया भएको उनी बताउँछन्। ‘जुन कोरोना भाइरसले गर्ने भाइरल निमोनिया हो’ उनले भने, ‘अन्य भनेको ब्याक्टेरिय निमोनिया हुन्छ जसलाई एन्टीबायोटिकले काम गर्छ।’

कोरोना संक्रमण हुनु भनेको भाइरल निमोनियाकै कारण एक ठाउँबाट अर्कोमा सर्ने र संक्रमण फैलिइरहँदा कुनै पनि एक औषधिले काम गर्न नसकेकाले नै धेरै संक्रमितको मृत्यु भएको उनको भनाई छ। ‘सबैभन्दा बढी समस्या भनेको श्वासप्रश्वासमा हो,’ उनले भने। त्यसैले सचेत हुनु नै यसको मूल औषधि हो।’

संक्रमितको उपचारमा प्रदेश सरकारको प्रयास

मृत्यु संख्या घटाउन सरकारी तथा नीजि अस्पतालको कोभिड उपचारका लागि क्षमता बढाउनु पर्नेमा उनको जोड छ। विराटनगरस्थित कोशी अस्पतालको कोभिड १९ उपचार केन्द्र र धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पताल संक्रमितको उपचारका लागि ठूला सरकारी अस्पताल हुन्।

नीजि क्षेत्रमा विराटनगरको न्यूरो–कार्डियो एण्ड मल्टिस्पेसालिटी अस्पताल, नोवेल मेडिकल कलेज तथा शिक्षण अस्पताल र बुढीगंगास्थित विराट मेडिकल कलेज तथा शिक्षण अस्पताल रहेका छन्।

प्रदेश सरकारले पनि एचडियूसहितको एक सय बेड क्षमताको कोरोना अस्पताल स्थापनाका लागि नागरिक समाजको सहकार्यमा भवन बनाइराहेको कार्कीले जानकारी दिए।

त्यसैगरी बीपी प्रतिष्ठान धरानले पनि अक्सिजनसहितको बेड संख्या विस्तार गर्दै गरेको र नीजि क्षेत्रको न्यूरो अस्पतालले पनि सामाजिक विकास मन्त्रालयको सहकार्यमा कोभिड उपचार गरिरहेको छ उसको अहिले ५० बेडको क्षमतामा अब एक सय बेड बनाउन पनि उनले बताए।

त्यसो त मन्त्रालको प्रत्यक्ष नरहे पनि विराट मेडिकल कलेज तथा शिक्षण अस्पतार र नोबेल मेडिकल कलेज तथा शिक्षण अस्पतालले पनि कोभिड उपचारका लागि क्षमता वृद्धि गरिरहेको उनको भनाई छ।

यता नीजि क्षेत्रका अस्पतालको उपचारशैली र प्रभावकारिताका लागि जिल्ला प्रशासन कार्यालयले अनुगमन गरिरहेको पनि उनले बताए।

केन्द्र सरकारले संक्रमितको उपचार खर्च सरकारले नदिने भने पनि प्रदेश सरकारले कोभिड उपचार निशुल्क गर्न परिपत्र गरिसकेको सचिव कार्कीले जानकारी दीए। ‘यदि कसैले स्वत तिर्न सक्ने र चाहेमा पीसीआर परीक्षण र उपचारको खर्च ब्यहोर्न सक्छन्। तर अन्य नसक्नेलाई भने निशुल्क उपचार हुनेछ’ उनले भने।

यता विराट मेडिकल कलेज तथा शिक्षण अस्पतालका कोभिड आइसोलेसन इन्चार्ज सुनिल देवले भने संक्रमितले बेड चार्जमात्र निशुल्क पाउने बताए। ‘बिरामीले स्वत घोषणा गर्नुपर्छ म उपचार खर्च ब्यहोर्न सक्दिन भनेर’ देवले भने’ बेड चार्ज निशुल्क हो तर औषधिको खर्च लाग्छ।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell