संयुक्त राज्य अमेरिकाका महान्यायाधीवक्ता विलियम बारले राष्ट्रपति डोनाल्ड ट्रम्पले दावी गरेजस्तो २०२० निर्वाचनमा बदमासी भएको कुनै प्रमाण फेला नपरेको बताएका छन्।
'आजसम्म हामीले मत परिणाममा असर पर्नेगरी कुनै पनि बदमासी भएको प्रमाण फेला पारेका छैनौं,' उनले भने।
चुनावी परिणामलाई लगातार अस्वीकार गर्दै आएका ट्रम्पका लागि विलियम बारको भनाइले थप खराब अवस्थातिर धकेलेको छ। ट्रम्प र उनका समर्थकहरुले विभिन्न राज्यमा चुनावमा धाँधली भएको भन्दै मुद्दा दायर गरेका छन्। जोय बाइडेनलाई निर्वाचनबाट जित हासिल गरेको प्रमाणिकरण रोक्नका लागि उनीहरु सक्रिय छन्।
बाइडेनले ३०६ इलेक्ट्रोअल मत हासिल गरेर जित निकाल्दा ट्रम्पले २ सय ३२ मतमात्र ल्याउन सकेका छन्। लोकप्रिय मतकै हिसाबमा पनि बाइडेनले ट्रम्पले भन्दा ६२ लाख बढी मत पाएका छन्।
नोभेम्बर ३ को निर्वाचनपछि लगातार रुपमा ट्रम्पले आधारहीन तर्क गर्दै निर्वाचनमा धाँधली भएको बताउँदै आएका छन्। त्यसैका आधारमा लामो समयसम्म पनि बाइडेनलाई संक्रमणकालीन अधिकार दिइएको थिएन। आज महान्यायाधीवक्ताको वक्तव्य सार्वजनिक भएको हो।
'चुनावी परिणामलाई प्रभावित पार्ने गरी सिस्टममा ह्याक गरिएको आरोप थियो,' ट्रम्पको सहयोगीसमेत रहेका बारले ब्यालेट मेसिन ह्याक गरेर बाइडेनलाई बढी मत पार्न धाँधली भएकोबारे प्रस्ट्याउँदै भने, 'डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटीले यसबारे अनुसन्धान गरेको छ। र, अहिलेसम्म यस्तो आरोपको पुष्टि हुने आधार भेटिएको छैन।'
