PahiloPost

Jan 10, 2025 | २६ पुष २०८१

आक्रामक बन्ने कि रक्षात्मक? प्रचण्ड समूहको 'मुभ' कुर्दै ओली



प्रकाश भण्डारी

आक्रामक बन्ने कि रक्षात्मक? प्रचण्ड समूहको 'मुभ' कुर्दै ओली
फोटो : PMO

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आफूविरुद्ध विभिन्न आरोप लागेपछि ५३ बुँदे प्रतिवेदन मंसिर १३ गतेको सचिवालय बैठकमा पेश गरे। कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उनीविरुद्ध १९ बुँदे राजनीतिक प्रस्ताव सचिवालय बैठकमा पेश गरेपछि उनी प्रचण्डमाथि खनिएका हुन्।

दुई अध्यक्षको पत्रदोहोरीपछि नेकपाको सचिवालय बैठक मंगलबाट प्रधानमन्त्री निवास बालुवाटारमा शुरु भएको छ। मंगलवारको बैठकमा दुई अध्यक्षबीच चर्काचर्की परेको थियो।

'प्रचण्डले बैठकमै छलफल हुनुपर्ने बताउँदा प्रधानमन्त्रीले पहिला प्रचण्डले माफी माग्नुपर्ने बताए,' प्रचण्ड निकट स्रोतले भन्यो। छलफलमा प्रवेश गर्न नचाहेका ओलीमाथि प्रचण्डले बैठक छल्न खोजेको आरोप लगाएका थिए।

बैठकमा प्रस्तावबारे छलफल हुन नसक्ने बताएपछि प्रचण्डले के ओली पार्टी कमिटी भन्दा ठुलो हो? भन्दै प्रश्न गरेका थिए।

'प्रस्तावबारे जे गर्छ पार्टी कमिटीको बैठकले गर्छ। छलफल नै नगरौं भन्ने पार्टी कमिटी भन्दा ठुलो तपाईं को हो?, ' प्रचण्डको भनाइ उद्दत गर्दै स्रोतले भन्यो।

प्रवक्ता नारायणकाजी श्रेष्ठले भने पत्र दोहोरीबारे औपचारिक छलफल शुरु भएको बताए। उनले बैठक आज पनि जारी रहने बताएका छन्।

प्रचण्ड पक्ष नझुक्ने अडानमा देखिएपछि अब के गर्ने भन्ने रणनीति बनाउने तयारीमा ओलीपक्ष जुटेको छ। ओली प्रचण्ड र वरिष्ठ नेता माधव नेपालले अब चाल्ने कदम पर्खिरहेका छन्। बालुवाटार स्रोतका अनुसार अब कसरी अगाडि बढ्ने भन्नेबारे आजको बैठकमा प्रचण्ड समूहको 'मुभ' कुरिरहेका छन्। 'सबै कुरा प्रचण्डमा भर पर्छ। सायद आजको बैठकले धेरै अर्थ राख्ने छ,' स्रोतले भन्यो।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बैठक कसरी अगाडि बढ्छ त्यसले ठुलो अर्थ राख्ने बताए। 'बैठक अब कसरी बस्ने भन्ने हो,' उनले भने। नेकपामा पछिल्लोपटक सचिवालय बैठकमा प्रधानमन्त्री ओली अल्पमतमा पर्दै आएका छन्। मंगलवारको बैठकमा ओलीको बचाउनमा अर्थमन्त्री एवं नेकपा महासचिव विष्णु पौडेलमात्र उत्रिएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell