काठमाडौं : डिसेम्बर ५ मा भारतको बेंग्लोरमा आयोजना हुन लागेको अन्तर्राष्ट्रिय बडी बिल्डिङ च्याम्पियनसिप मसल मेनियामा सहभागी हुन जाने नेपाली टोलीका सदस्य रोजिन बज्राचार्यलाई बुधवार बिदाइ गरिएको छ।
नेपाली फिटनेसन टिमका सदस्य रोजिनलाई तारकेश्वर युवा क्लबले एक कार्यक्रमको आयोजना गरी बिदाइ गरेको हो। रोजिनलाई नागार्जुन नगरपालिकाका प्रमुख मोहनबहादुर बस्नेत र तारकेश्वर युवा क्लबका अध्यक्ष सन्तोष बुढाथोकीले राष्ट्रिय झण्डा हस्तान्तरण गर्दै बिदाइ गरेका थिए।
अन्तर्राष्ट्रिय बडी बिल्डिङ च्याम्पियनसिप मसल मेनियामा नेपालका रोजिनसहित धिरज घर्तीमगर, प्रकाश केसी र सुभम थापाले प्रतिस्पर्धा गर्ने छन्।
रोजिनले यसअघि विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा विभिन्न पदक जितेका छन्। उनले सन् २०१६ मा भएको मिस्टर काठमाडौंमा रजत पदक जितेका थिए। यसैगरी सन् २०१७ मा आयोजना भएको मिस्टर हिमालयमा स्वर्ण पदक जितेका थिए। यस्तै सन् २०१८ मा मिस्टर एभरेष्ट, मिस्टर बुल्समेन, धर्मश्री र दक्षिण एसियाली बडीबिल्डिङ च्याम्पियनसिपमा रजत पदक जितेका थिए।
नेपाली टोली बुधवार नै बेंग्लोर प्रस्थान गरेको छ।
