काठमाडौं : नेपाल प्रहरीले दुई एसपी र एक इन्सपेक्टरलाई निलम्बन गरेको छ।
महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा कार्यरत प्रहरी उपरीक्षक बिमल बस्नेत, महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथमा कार्यरत प्रहरी उपरीक्षक रामेश्वर प्रसाद यादव र ईलाका प्रहरी कार्यालय कपिलकोट सिन्धुलीमा कार्यरत प्रहरी निरीक्षक मेघराज प्रसाद चौरसियालाई निलम्बन गरिएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ।
प्रहरी संगठनको छविमा आँच आउने एवं अन्य प्रहरी कर्मचारीहरुलाई असर पुर्याउने किसिमको कार्य गरेको बुझिन आई प्रारम्भिक छानविन गर्दा तीनै जनाले आफूलाई सुम्पिएको जिम्मेवारी/दायित्व पूरा नगरी प्रहरी नियमावली, २०७१ विपरित आचरण व्यवहार तथा गैर व्यवसायिक कार्य गरेको पुष्टि भएको प्रहरीको भनाई छ।
बद्मासी गरेको प्रारम्भिक पुष्टि भएसँगै तीनै जनाविरुद्ध उपर थप जाँचबुझ एवं छानबिन गर्न प्रहरी नियमावली, २०७१ को नियम ११५ को (४) बमोजिम मंसिर १६ गतेको (सचिवस्तर) को निर्णय अनुसार बढीमा ६ महीनाको लागि निलम्बन गरिएको गृह मन्त्रालय, प्रहरी कर्मचारी प्रशासन शाखाले जनाएको छ।
