PahiloPost

Apr 19, 2026 | ६ बैशाख २०८३

कांग्रेस वरिष्ठ नेता पौडेल प्रहरी हिरासतमा, पुल उद्घाटन गर्न जाँदा विवाद



पहिलोपोस्ट

कांग्रेस वरिष्ठ नेता पौडेल प्रहरी हिरासतमा, पुल उद्घाटन गर्न जाँदा विवाद

काठमाडौं : प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रहरीले आफूलाई नियन्त्रणमा लिएको सूचना पौडेलले आफ्नो फेसबुक पेजमार्फत सार्वजनिक गरेका छन्।

‘भर्खर प्रहरी परिचालन गरी मलाई समेत हिरासतमा लिएको जानकारी दिन्छु। साधारण जनता र नेपाली कांग्रेसका कार्यकर्ता माथिको प्रहरी लाठीचार्ज र दमन तत्काल बन्द होस्,’ उनले भनेका छन्।

पौडेलसँगै प्रहरीले तनहुँ जिल्ला कार्यबाहक सभापति जितप्रकाश आलेलाई पनि हिरासतमा लिएको जानकारी फेसबुकमार्फत दिइएको छ।

व्यास १ र ११ जोड्ने पक्की पुल उद्घाटन कार्यक्रमले आजको घटना निम्तिएको प्रशासनले जनाएको छ। पौडेलले भने उद्घाटन कार्यक्रममा नेकपाको अवरोध र प्रशासन लगाएर रोक्ने प्रयास भएकाले त्यसको विरोधमा जनस्तरीय भेलालाई सम्बोधन गर्ने क्रममा प्रहरीले नियन्त्रणमा लिएको बताएका छन्।

पुल उद्घाटन रोक्न प्रशासनले सो क्षेत्रमा १२ बजेदेखि साँझ ६ बजेसम्म निषेधाज्ञा लगाएको छ।

व्यास नगरपालिकाले उक्त पुल आज दिउँसो १ बजे वरिष्ठ नेता पौडेलबाट उद्घाटन गर्ने कार्यक्रम राखेको र नेकपा निकट राष्ट्रिय युवा संघले रोक्नुपर्ने भनेपछि पुल उद्घाटन विवाद भएको हो।

यता गण्डकी प्रदेश प्रहरी कार्यालयले भने नेता पौडेलको सुरक्षाका लागि उनलाई प्रहरी कार्यालयमा राखिएको जनाएको छ।

प्रदेश प्रहरी प्रवक्ता डीएसपी राजेन्द्रबाबु रेग्मीले भने, 'पुल उद्घाटन गर्ने क्रममा दुई पक्षबीच हुनसक्ने सम्भावित घटनालाई आंकलन गर्दै व्यक्तिगत सुरक्षाका लागि उहाँलाई प्रहरी कार्यालयमा राखेका छौं। उहाँलाई नियन्त्रणमा लिइएको होइन। व्यक्तिगत सुरक्षा प्रबन्ध मिलाएका हो।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell