PahiloPost

Apr 19, 2026 | ६ बैशाख २०८३

संक्रमण बढी भएका क्षेत्रमा एन्टिजिन आरडीटी परीक्षण सुरु, पहिलो चरणमा तीन हजारको परीक्षण गरिने



पहिलोपोस्ट

संक्रमण बढी भएका क्षेत्रमा एन्टिजिन आरडीटी परीक्षण सुरु, पहिलो चरणमा तीन हजारको परीक्षण गरिने

काठमाडौं :  कोभिड–१९ संक्रमणको पहिचानका लागि एन्टिजिन र्‍यापिड डायग्नोस्टिक टेस्ट (एजी-आरडीटी) परीक्षण सुरु गरिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले राष्ट्रिय परीक्षण निर्देशिकालाई परिमार्जन गरी एन्टिजिनमा आधारित परीक्षणबाट कोभिड संक्रमणको पहिचान गर्ने व्यवस्था गरेसँगै काठमाडौं उपत्यकामा परीक्षण शुरु भएको हो। गत सोमबार देखि शुरु गरिएको कार्यक्रम अन्तर्गत पहिलो चरणमा उपत्यकाका ३ हजार व्यक्तिमा एन्टिजिन परीक्षण गरिने छ।

इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका जनस्वास्थ्य निरिक्षक कोशलचन्द्र सुवेदीले काठमाडौं उपत्यका भित्रका बढी संक्रमण देखिएको ६ वटा वडामा ३ हजार नमुना लिएर परीक्षण गर्न लागिएको जानकारी दिए।

मन्त्रालयबाट स्वीकृत भए अनुसार ५ सय भन्दा बढी संक्रमित भएका क्षेत्रहरुमा एन्टिजिन मार्फत परीक्षण गरिनेछ। जसअनुसार सक्रिय संक्रमितहरुको नजिकमा रहेकाहरुको मात्रै परीक्षण गरिनेछ। यो विधि अन्तर्गत पीसीआर परीक्षणका लागि नमुना लिए जस्तै गरी नाक वा घाँटीबाट स्वाब संकलन गरिने छ र किटमा राखेर आधा घण्टामै रिपोर्ट प्राप्त गर्न सकिने छ।

महाशाखाका निर्देशक डा. बासुदेव पाण्डेले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) र फुड एण्ड ड्रग एडमिनिस्ट्रेसन (एफडिए)बाट प्रमाणित भइसकेकोले एन्टिजिन परीक्षणलाई विश्वसनिय मानिएको बताए। नेपालमा अहिलेसम्म कोभिड संक्रमणको पहिचान गर्न पीसीआर विधि मात्र भएको अवस्थामा कम लागत र कम समयमा एन्टिजिन परीक्षण गर्न लागिएको बताए।

एन्टिजिन परीक्षण गरिसकेपछि पीसीआर परीक्षण गर्न नपर्ने पनि उनले बताए।

पछिल्लो समय उपत्यकामा संक्रमण दर बढ्दै गएको छ। यस्तो अवस्थामा एकैपटक समुदायमा परीक्षण गर्नुपर्ने अवस्थामा एन्टिजिनमा आधारित परीक्षणलाई प्रयोग गरिने पनि महाशाखाको भनाई छ। एन्टिजिन परीक्षण खासगरी समूहमा बसेर काम गर्ने क्षेत्रमा प्रयोग गरिने छ।

मास स्क्रिनिङ, अस्पतालमा उपचाररत विरामीहरुको तत्काल रिपोर्ट आवश्यक पर्ने अवस्थामा, सफाइकर्मी, तरकारी बजार, कारागार, विभिन्न आवस गृह, सुरक्षाकर्मीमा एन्टिजिनको प्रयोग गरी परीक्षण गरिनेछ।

एन्टिजिन परीक्षणले शरीरमा भाइरसको जिनको अवस्थालाई पत्ता लगाई नतिजा दिन्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell