काठमाडौं : राष्ट्रिय सभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिले राष्ट्रिय गौरवका आयोजनाहरुमा कोभिडको असर सम्बन्धी अध्ययन गर्न उपसमिति गठन गर्ने निर्णय गरेको छ।
समितिको मंगलबार बसेको बैठकले राष्ट्रिय गौरवका आयोजनाहरुमा कोभिडले पारेको असर सम्बन्धमा स्थलगत अनुगमन गरी अध्ययन गरेर सरकारलाई उपयुक्त सुझाव दिन उपसमिति गठन गर्ने निर्णय गरेको हो।
समिति सभापति दिल कुमारी रावल थापाले राष्ट्रिय गौरवका आयोजनाहरुको स्थलगत अनुगमन गर्ने, सरोकारवाला पक्षसँग छलफल गर्ने र सरकारलाई निर्देशन एवं सुझाव दिने गरी उपसमिति गठन गरेर समितिका क्रियाकलापलाई अगाडि बढाउने निर्णय भएको जानकारी दिइन्। कोभिड संक्रमणको जोखिमका कारण समितिका नियमित बैठकहरु प्रभावित भएको र अवदेखि बैठकलाई निरन्तरता दिनका लागि उपसमिति बनाएर काम गर्ने तयारी गरिएको सभापति रावलको भनाइ छ।
त्यस्तै पछाडि परेको क्षेत्र, समुदाय, मानवअधिकारको सन्दर्भमा, राष्ट्रिय सम्पदा, राष्ट्रि सुरक्षा, विभिन्न सन्धि सम्झौता लगायतका विषयमा पनि समितिले छलफललाई अगाडि बढाउने गरी कार्ययोजना निर्माण गरिएको सभापति रावलले बताइन्।
यस्तै लैङ्गिक हिंसा विरुद्धको विषयमा तीन तहका सरकार र जनप्रतिनिधिको भूमिका सम्बन्धमा पनि छलफल चलाउने निर्णय बैठकले गरेको छ। समितिले प्रस्ताव गरेको संघ, प्रदेश र स्थानीय तह अन्तर सम्बन्धको विषयमा गोष्ठी गर्ने सम्बन्धमा समेत छलफल भएको सभापति रावलले बताइन।
