PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

ओलीले बैठकमा सहभागी नै नहुने अडान राखेपछि प्रचण्ड-नेपाल समूहले दियो तीन दिनको अल्टिमेटम



प्रकाश भण्डारी

ओलीले बैठकमा सहभागी नै नहुने अडान राखेपछि प्रचण्ड-नेपाल समूहले दियो तीन दिनको अल्टिमेटम

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीको बुधवारको बैठक केही बेर बसेर स्थगित भएको छ। १ बजेका लागि बोलाइएको सचिवालयको बैठक प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षको आग्रहपछि २ बजेको लागि सारिएको थियो।

तर, २ बजेको बैठकमा पनि ओली सहभागी नभएपछि केही बेर बसेर ओली बाहेकका सचिवालयका सदस्यले मंसिर २० गतेसम्मका लागि बैठक सारेका हुन्। १८ गतेका लागि तय भएको स्थायी कमिटी बैठक समेत प्रभावित भएको छ। फेरि २१ गते स्थायी कमिटी बैठक बस्ने तय भएको छ।

ओलीलाई ३ दिनको अल्टिमेटम

कार्यकारी अध्यक्ष प्रचण्डको अध्यक्षतामा बालुवाटारमा बसेको स्थायी कमिटी बैठक लामो समय चल्न सकेन। ओलीको बहिस्कारका कारण बैठक स्थगित गर्नुपर्ने प्रचण्ड र बरिष्ठ नेता माधव नेपाल समूहका नेताको आग्रहपछि २० गते सम्मका लागि बैठक स्थगित गरिएको थियो। बैठकमा प्रचण्डले फेरि पनि ओलीलाई कुर्नुपर्ने धारणा राखेका थिए।

उनी निकट स्रोतका अनुसार ओली नआएपछि प्रचण्डले अरु नेतालाई आक्रोशित नहुन र फेरि पनि ३ दिन कुर्नुपर्ने धारणा राखेका थिए।

‘हामी आक्रोशित हुनु हुँदैन। अर्का अध्यक्षको कार्यशैली माथि छलफल गर्नुपर्ने छ। उहाँको उपस्थितिमै छलफल गर्न उपयुक्त हुन्छ,’ प्रचण्ड निकट स्रोतले भन्यो।

बैठकमा ओलीलाई अनिवार्य उपस्थितिको चेतावनी

प्रवक्ता तथा सचिवालयका सदस्य नारायणकाजी श्रेष्ठले २० मंसिरको बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओली अनिवार्य उपस्थित हुनुपर्ने बताए। पार्टीमा देखिएको संकट समाधानका लागि ओलीको उपस्थिति अनिवार्य भएको श्रेष्ठको भनाइ छ।

‘पार्टीमा देखा परेको संकट र समस्याको समाधानका लागि प्रधानमन्त्रीको उपस्थति आवश्यक हुन्छ भन्ने निष्कर्शकाका साथ आगामी बैठकमा अनिवार्य उपस्थतिका लागि अनुरोध गर्ने निर्णय भएको छ,’ उनले भने।

उनले ओली आगामी बैठकमा उपस्थति नभएमा के हुन्छ भन्नेबारे आफूले केही नसोचेको बताएका छन्। पार्टीमा देखिएको विवादबारे ओलीकै उपस्थतिमा निर्णय गर्नु उपयुक्त भएकाले बैठकमा आउन अनुरोध गरिएको श्रेष्ठले जानकारी दिए।

‘छलफलबाटै निर्णय लिनु उपयुक्त हुन्छ। आउनु भएन भने के हुन्छ भन्ने बारे सोचेका छैनौं। आउनुहुन्छ भन्ने आशा गरेका छौं,’ उनले भने।

अबको बैठकमा पनि ओली सहभागी हुने सम्भावना कम

मंगलवारकै बैठकमा ओलीले बैठकको औचित्यमाथि प्रश्न उठाएका थिए। तर, अरु सचिवालयका सदस्यले छलफल गर्नुपर्ने धारणा राखेपछि उनले कार्य व्यस्तताका कारण बुधवारको बैठकमा सहभागी नहुने बताए।

तर, बैठकको केही समय अघि भएको दुई पक्षका नेताको छलफलपछि २ बजेसम्म बैठक सार्ने सहमति भएको थियो। २ बजेको बैठकमा पनि ओली उपस्थित भएनन्। प्रधानमन्त्री निकट स्रोतका अनुसार अबका बैठकमा पनि ओली सहभागी हुने सम्भावना कम छ।

‘अबका बैठकको पनि औचित्य खासै छैन। त्यसैले २५ गते पनि केन्द्रीय कमिटी भनिएको छ, त्यो पनि सर्ने होला,’ स्रोतले भन्यो।

ओलीको कार्यशैलीको विषयलाई लिएर आक्रोशित बनेका प्रचण्ड-नेपाल समूहका नेताले भने ओलीबिना नै पनि बैठक बस्नुपर्ने र निर्णयमा पुग्नुपर्ने अडान राखिरहेका छन्। आजको सचिवालयको बैठकमा पनि वरिष्ठ नेता झलनाथ खनालले बैठक सधैँ निर्णयविहीन हुनु नहुने भन्दै आक्रोश व्यक्त गरेका थिए।

प्रचण्ड समूहको दावी : दुई प्रस्ताव माथि छलफल नै शुरु भइसक्यो

प्रचण्डले कात्तिक २८ को र ओलीले मंसिर १३ गते पेश गरेको राजनीतिक प्रस्तावमाथि छलफल शुरु भइसकेको प्रचण्ड-नेपाल समूहको दावी छ। आजको सचिवालय बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले दुई प्रतिवेदनमाथि छलफल शुरु भइसकेको दावी गरे।

‘पार्टीको प्रवक्ताले जे भन्यो त्यो सत्य हो। दुई अध्यक्षको प्रतिवेदनमा छलफल शुरु नै भइसकेको छ,’ उनले भने।

तर, ओली समूह भने छलफल शुरु भइनसकेको भन्दै प्रचण्डको आरोप पत्रमा छलफल हुन नसक्ने अडानमा छ। प्रचण्डले प्रस्तुत गरेको प्रतिवेदन राजनीतिक प्रस्ताव नै नभएको भन्दै ओली समूहका नेताहरुले फिर्ता लिन प्रचण्डलाई दबाब दिएका थिए।

तर, प्रचण्डले आफ्नो प्रस्ताव फिर्ता नलिने अडान लिएपछि नेकपाको सचिवालय, स्थायी कमिटी र केन्द्रीय कमिटिका बैठकमा प्रस्तावमाथि छलफल हुने नहुने भन्ने अन्यौल भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell