PahiloPost

May 9, 2024 | २७ बैशाख २०८१

खराब वर्ष भुलाउने भ्याक्सिन: बेलायतले कोरोनाविरुद्ध 'फाइजर'को प्रयोग गर्न दियो स्वीकृति



खराब वर्ष भुलाउने भ्याक्सिन: बेलायतले कोरोनाविरुद्ध 'फाइजर'को प्रयोग गर्न दियो स्वीकृति
Photo : Reuters

अमेरिकी औषधि उत्पादन कम्पनी ‘फाइजर’ र जर्मनीको ‘बायोएनटेक’ले कोरोना भाइरसविरुद्ध निर्माण गरिरहेको भ्याक्सिनलाई प्रयोग गर्न बेलायतले स्वीकृति दिएको छ।

विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस नियन्त्रणका लागि भ्याक्सिन प्रयोग गर्न स्वीकृति दिने बेलायत पहिलो राष्ट्र बनेको छ।

बेलायतमा औषधिलाई मान्यता दिने ‘द मेडिसिन्स एन्ड हेल्थकेयर प्रोडक्टस् रेगुलेटरी एजेन्सी’ले ‘फाइजर भ्याक्सिन’ लाई आपतकालिन अवस्थामा प्रयोग गर्न स्वीकृति दिएको हो। भ्याक्सिनको क्लिनिकल ट्रायलबाट आएको नतिजाको अनुसन्धान गरेपछि एजेन्सीले फाइजरको प्रयोगलाई ‘ग्रिन सिग्नल’ देखाएको हो। क्लिनिकल ट्रायलको तथ्यांकमा फाइजर ९५ प्रतिशत प्रभावकारी देखिएको थियो। यस्तै, यो भ्याक्सिनबाट वृद्धवृद्धाहरुलाई सुरक्षित राख्न सकिने र भाइरसकै कारण मृत्यु हुने अवस्था कम हुने देखिएको थियो।

  यद्यपि, यो भ्याक्सिनको ‘फाइनल’ परीक्षण भने हुन बांकी नै रहेको एपीले उल्लेख गरेको छ।

चथम हाउस थिकं ट्याकंका सिनियर कन्सल्टिङ फेलो भन्छन् ‘यो विश्वका लागि एतिहासिक दिन हो। यो विज्ञानको अभूतपूर्व खोज हो।’

बीबीसीका अनुसार अर्को हप्तादेखि नै बेलायतमा फाइजर भ्याक्सिनको खोप दिन सुरु हुनेछ। उक्त खोपबाट सर्वाधिक जोखिममा रहेका मानिसहरु सुरक्षित रहने अपेक्षा गरिएको छ।

बेलायतले हालसम्म करिब ४ करोड भ्याक्सिनको डोजको अर्डर दिइसकेको छ। जसबाट २ करोड मानिस लाभान्वित हुनेछन्। बेलायतले प्रयोगका लागि स्वीकृति दिएपछि केही समयभित्रै करिब १ करोड भ्याक्सिन पहिलो चरणमा उपलब्ध हुनेछ।

बेलायतका स्वास्थ्य मन्त्री म्याट ह्यानककले भ्याक्सिन प्रयोगका लागि स्वीकृति दिएपछि अब महामारीबाट मुक्त हुने बेला आएको संकेत दिँदै भने, ‘ २०२० निकै खराब वर्ष रह्यो। २०२१ निकै सुखद् हुनेछ।’

ह्यानककका अनुसार अर्को हप्तासम्म करिब ८ लाख खोप बेल्जियमबाट बेलायत आइपुग्नेछ। यसअर्थ पहिलो चरणमा ४ लाख मानिसलाई फाइजर भ्याक्सिनको डोज दिइनेछ। २१ दिनको अन्तरालमा एक व्यक्तिलाई दुईपटक यो भ्याक्सिनको डोज दिनुपर्ने हुन्छ।

नयाँ वर्षमा आवश्यक संख्यामा भ्याक्सिन आउने उनको विश्वास छ।

पहिला को होला भ्याक्सिनेट ?

कोरोना भाइरसले विश्वभर कहर मच्चाइरहेको समयमा अहिले विभिन्न भ्याक्सिनहरु निर्माण भइरहेका छन्। यसबीच भ्याक्सिन प्रमाणित भए पहिलो डोज कसले लगाउलान् भनेर सर्वत्र चासो रहेको छ।

बेलायतले भ्याक्सिन प्रमाणित गरिसकेको अवस्थामा ‘फाइजर’ को पहिलो दुई सट उमेर समूहको आधारमा र कोरोना संक्रमणको जटिलता हेरेर प्रदान गर्ने तयारी गरिएको छ।

ह्यानककका अनुसार ‘टु सट’ भ्याक्सिन पहिलो चरणमा ८० वर्षभन्दा माथिका व्यक्ति र उनीहरुको हेरचाह गरिरहेका व्यक्तिका साथै स्वास्थकर्मीहरुलाई दिइनेछ।

भ्याक्सिनका बारेमा गठन गरिएको संयुक्त कमिटीले घरमा रहेका वृद्धवृद्धा र उनीहरुको हेरचाहमा रहेका व्यक्तिलाई भ्याक्सिनेट गर्न सिफारिस गरेको थियो। त्यसपछि ७५ वर्ष, ७०, ६५,६०,५५ र ५० वर्षभन्दा माथि उमेर समूहका व्यक्तिलाई पालैपालो यो भ्याक्सिन दिइने जनाइएको छ। १६ देखि ६४ वर्ष उमेर समूहका कोभिड १९ संक्रमित वा सिकिस्त विरामीलाई अवस्था हेरेर भ्याक्सिन दिइनेछ।

भ्याक्सिनको ‘सप्लाई’ का आधारमा ‘टु सट’ दिने बारे प्राथमिकता निर्धारण हुनेछ।

फाइजरले नोभेम्बर १८ मा आफ्नो भ्याक्सिन कोभिड १९ विरुद्ध ९५ प्रतिशत प्रभावकारी देखिएको दाबी गरेको थियो।

सन् २०२० को अन्त्यसम्म विश्व करिब ५ करोड भ्याक्सिन उत्पादन गर्ने लक्ष्य राखेको फाइजरले सन् २०२१ मा १ अर्ब भ्याक्सिन निर्माण गर्ने लक्ष्य लिएको छ।

कहाँकहाँ बन्दैछ भ्याक्सिन?

भ्याक्सिन बनाउन धेरै देशहरुमा वैज्ञानिक र चिकित्सकहरु टोली खटिएका छन्। कोभिड-१९ विरुद्ध परीक्षण चरणमा रहेका केही भ्याक्सिनहरु प्रभावकारी समेत देखिएका छन्।

अमेरिकी भ्याक्सिन निर्माता कम्पनी ‘मोडर्ना’ले तयार गरेको भ्याक्सिन ९५ प्रतिशतसम्म प्रभावकारी पाइएको दाबी गरिएको छ। यो भ्याक्सिनको परीक्षण अमेरिकामा गरिएको थियो, जसमा ३० हजार मानिसहरु सहभागी थिए। जसमध्ये पनि आधालाई चार हप्ताको फरकमा दुई डोज खोप दिइएको थियो। र, बाँकीलाई नमुना खोप दिइएको थियो।

भ्याक्सिन परीक्षण गरिएका पहिलो ९५ जनाको नतिजाको आधारमा यो विश्लेषण आएको हो। जसमध्ये पाँच जनामा मात्रै कोभिड-१९ संक्रमण देखिएको थियो भने ९० जना नमुना भ्याक्सिन दिइएकामध्येका थिए। कम्पनीका अनुसार भ्याक्सिनले ९४.५ प्रतिशत सुरक्षा प्रदान गरेको देखिएको छ।

यस्तै, अक्सफोर्ड विश्वविद्यालयले तयार पारिरहेको भ्याक्सिनले पनि सकारात्मक नतिजा देखाएको बताइएको छ। परीक्षणको चरणमा रहेको अक्सफोर्ड भ्याक्सिन ६० देखि ७० उमेर समूहमा प्रभावकारी देखिएको प्रारम्भिक रिपोर्टहरुले देखाएको छ। ५६० जना स्वस्थ व्यक्तिमा गरिएको परीक्षणमा उक्त नतिजा आएको हो। हाल ‘अक्फोर्ड एस्ट्राजेनेका’ भ्याक्सिनले कोभिड १९ संक्रमण हुन रोक्नसक्छ वा सक्दैन भनेर ट्रायल भइरहेको छ।

उक्त भ्याक्सिन यो वर्षको क्रिसमस अघि नै प्रयोग गर्न तयार हुने अनुमान अक्सफोर्ड विश्वविद्यालयका प्रोफेसर एन्ड्रिउ पोलार्डले बताएका छन्।

पोलार्डले अन्य भ्याक्सिनसँग आफूहरुले प्रतिस्पर्धा नगर्ने समेत बताएका छन्। कोरोना संक्रमण रोक्न एक भन्दा बढी भ्याक्सिन चाहिने भन्दै उनले विश्वभरका जनतालाई बचाउन सबै भ्याक्सिन चाहिने बताएका छन्।

यस्तै, रसियाले उत्पादन गर्दै गरेको ‘स्पुटनिक भी’ भ्याक्सिनले समेत परीक्षण चरणमा सकारात्मक नतिजा देखाएको छ। क्लिनिकल ट्रायलको तेस्रो चरणमा रहेको उक्त भ्याक्सिनका निर्माता कम्पनीले परीक्षणमा उक्त भ्याक्सिनले कोरोना संक्रमण रोक्न सक्ने देखिएको दाबी गरेका छन्। गमलेया नेशनल सेन्टर अफ इपिडिमिओलोजी, मस्कोको माइक्रोबायोलोजी एन्ड रसियन डाइरेक्ट इन्भेसमेन्ट फन्डले ट्रायलमा सहभागी भएकाहरु मध्ये २० जना कोभिड संक्रमणका केसहरुमा अनुसन्धान गरेपछि ‘स्पुटनिक भी’ ७२ प्रतिशत प्रभावकारी देखिएको जनाएको छ।

विश्वमा नै कोभिड १९ विरुद्ध पहिलो भ्याक्सिनको रुपमा दाबी गर्दै रसियले ‘स्पुटनिक भी’ घोषणा गरेको थियो। तर यो भ्याक्सिनको क्लिनिकल ट्रायल लगायतका परीक्षणमा अन्य राष्ट्रहरुले सवाल उठाएपछि विवादित बनेको थियो। अहिले पनि उक्त भ्याक्सिनको ट्रायलमा धेरै कम संख्या मानिसहरु सहभागी भएको कारण त्यसको प्रभावकारिता विश्वसनीय हुन नसक्ने सरोकारवालाहरुले बताएका छन्।

कोरोना संक्रमण नदेखिएकाहरुमा गरिएको परीक्षणमा उक्त भ्याक्सिनले संक्रमणविरुद्ध इम्युनिटी विकास गर्न ९० प्रतिशत प्रभावकारी देखिएको जनाएको छ। फिजरले अमेरिकाको फुड एन्ड ड्रग एडमिनिस्ट्रेसनसँग यो महिनाको अन्त्यसम्म उक्त भ्याक्सिनको प्रयोगको लागि ‘एमर्जेन्सी अथोराइजेसन’ माग्ने भएको छ। उक्त कम्पनीले यो वर्षको अन्त्यसम्म करिब २० करोड भ्याक्सिन बनाउने लक्ष्य लिएको छ।

कोरोनासँग जुध्न भारतले भ्याक्सिन निर्माणमा काम गरिरहेको जनाएको छ। हाल भारतमा पाँचवटा भ्याक्सिनको क्लिनिकल ट्रायल भइरहेको छ।

ती मध्ये तीनवटाको ट्रयाल अन्तिम चरणमा रहेको छ। बेलायतको अक्सफोर्ड एस्ट्राजेनेका, रसियाको स्पुटनिक भि सहित भारतमै उत्पादन भइरहेको ‘बायोटेक कोभासिन’ भारतमा तेस्रो चरणको ट्रायलमा रहेको छ। अर्को दुई भ्याक्सिन ‘क्याडिला’ दोस्रो चरणको ट्रायलमा रहेको छ भने ‘बायोलोजिकल इ’ ले पहिलो चरण पार गरेको बताइन्छ। ड्रग कन्ट्रोलर जेनरल अफ इन्डियाले इन्डियन काउन्सिल अफ मेडिकल रिसर्चसँगको सहकार्यमा भारत बायोटेक इन्टरनेश्नलले तयार गरिरहेको ‘बायोटेक कोभासिन’ र जाइडास क्याडिला हेल्थकेयरले उत्पादन गरिरहेको भ्याक्सिनलाई ‘ह्युमन क्लिनिकल ट्रायल’ को अनुमित दिइसकेको छ। बायोटेक कोभासिनको ट्रायलमा करिब २६ हजार व्यक्ति सहभागी हुने बताइएको छ।

भाइरस उत्पत्ति स्थल चीन पनि कोरोना विरुद्ध भ्याक्सिन बनाउने प्रयासमा छ। ट्रायलमा नै रहेको ‘सिनोभाक बायोटेक’ भ्याक्सिनले कोभिड १९ विरुद्ध छिट्टो ‘इम्युनिटी’ विकास गरेको दाबी गरिएको छ। यो भ्याक्सिनसँगै चारवाट भ्याक्सिन फाइनल क्लिनिकल ट्रायलमा रहेको छ।

चीनले तयार गरेको भ्याक्सिन हाल ब्राजिल, इन्डोनेसिया, टर्की लगायतका केही देशमा परीक्षण समेत भइरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell