PahiloPost

Jan 20, 2025 | ७ माघ २०८१

विदेश पठाउन गैरकानुनी रुपमा अन्तर्वार्ता लिएको भन्दै तीन म्यानपावर कम्पनीलाई कारबाही



रासस

विदेश पठाउन गैरकानुनी रुपमा अन्तर्वार्ता लिएको भन्दै तीन म्यानपावर कम्पनीलाई कारबाही

काठमाडौं : गैरकानुनी रुपमा अन्तर्वार्ता लिएको भन्दै वैदेशिक रोजगार विभागले तीन कम्पनीलाई कारबाही गरेको छ। गत सोमवार र मंगलवार कतार पुलिसका लागि मागको पूर्व स्वीकृति नलिइकन अन्तर्वार्ता लिएको सूचनाका आधारमा विभागले तीन वटा म्यानपावर कम्पनीमा छापा मारेको थियो।

विनास्वीकृति गोप्य रुपमा अन्तर्वार्ता लिएको भन्दै लाजिम्पाटमा रहेको होप इन्टरनेसनल प्रालि, धापासीमा रहेको एसओएस म्यानपावर सर्भिस प्रालि र गौरीघाटमा रहेको डिडी ह्युमन रिसोर्स प्रालिलाई विभागले ६ महिना निलम्बन गरिएको जनाइएको छ।

विभागका सूचना अधिकारी टीकामणि न्यौपानेका अनुसार, तीनवटा कम्पनीलाई पहिलो कारबाहीस्वरुप सबै कारोबार रोक्का गरी निलम्बन गरिएको हो। उनका अनुसार, गोप्य अन्तर्वार्ता सम्बन्धमा छानबिन गरी प्रतिवेदन पेश भएपछि ऐनमा व्यवस्था भएअनुसार थप कारबाही हुनेछ।

वैदेशिक रोजगार ऐन, २०६४ को दफा ६१ मा वैदेशिक रोजगारीमा कामदार पठाउन म्यानपावर कम्पनीले पूर्व श्रम स्वीकृति र सम्बन्धित निकायलाई जानकारी नगराई अन्तर्वार्ता गरे ६ महिनासम्म कामकारबाही रोक्का र ऐनअनुसार आर्थिक जरिबाना गर्न सक्ने व्यवस्था रहेको छ। सोही व्यवस्थाअनुसार छानबिन प्रतिवेदन सार्वजनिक नहुँदासम्मका लागि ६ महिना निलम्बन गरिएको विभागले जनाएको छ। ऐनमा कारबाहीस्वरुप तीनदेखि पाँच लाख रुपैयाँसम्म जरिबाना र ३ वर्षदेखि सात वर्षसम्म कैदको समेत व्यवस्था रहेको छ।

वैदेशिक रोजगार व्यवसायीको छाता सङ्गठन नेपाल वैदेशिक रोजगार व्यवसायी संघले तीन कम्पनीले गैरकानुनी काम गर्दा सम्पूर्ण व्यवसायीले लज्जा महसुस गरेको भन्दै साधारण सदस्यताबाट हटाएको छ। केही दिनअघि बसेको बैठकले उक्त कम्पनीलाई साधारण सदस्यसमेत नरहने गरी खारेज गर्ने निर्णय भएको संघका महासचिव सुजितकुमार श्रेष्ठले जानकारी दिए। संघले निर्णय गरेपछि कम्पनीलाई पत्र पठाउन बाँकी रहेको जनाइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell