यूईएफए च्याम्पियन्स लिग अन्तर्गत गएराति भएको समूह ‘एच’को खेलमा इङ्ग्लिस क्लब म्यानचेस्टर युनाइटेड फ्रेन्स क्लब पेरिस सेन्ट जर्मेन पीएसजीसँग पराजित भएको छ। ओल्ड ट्राफोर्ड स्टेडियममा भएको खेलमा घरेलु टोली ३-१ गोलअन्तरले पराजित भएको हो।
खेलको छैटौं मिनेटमै नेइमारले पीएसजीलाई अग्रता दिलाए। उता ३२ औं मिनेटमा युनाइटेडका मार्कस रासफोर्डले गोल गर्दै खेल बराबरीमा ल्याए। पहिलो हाफमा खेल बराबरीमा रोकियो।
दोस्रो हाफमा मार्क्विन्होसले पीएसजीको अग्रता फेरि बढाए। उनले खेलको ६९ मिनेटमा गोल गरेका थिए। त्यसको एकमिनेट भित्रै युनाइटेडका फ्रेडले पीएसजीका एन्डर हेरेरालाई फउल गरेपछि रातो कार्ड खाँदै बाहिरिए र युनाइटेड १० खेलाडीमा सीमित भयो। त्यस्तै अतिरिक्त समयमा नेइमारले फेरि अर्को गोल गर्दा पीएसजीले ३-१ गोलअन्तरको सहज जित निकाल्यो।
त्यस्तै गएराति नै भएको समूह एचको अर्को खेलमा आरबी लाइपजिगले इस्तानबुलमाथि ४-३ गोलअन्तरले जित निकाल्यो।
गएरातिको खेलपछि समूह एचमा शीर्ष तीन टिम म्यानचेस्टर युनाइटेड, पीएसजी र आरबी लाइपजिगको समान ९ अंक छ। पुछारमा रहेको इस्तानबुलको ३ अंक छ।
