युईएफए च्याम्पियन्स लिग अन्तर्गत गएराति भएको खेलमा इङ्ग्लिस क्लब चेल्सीले स्पेनिस क्लब सेभियामाथि सानदार जित निकालेको छ। सेभियाको घरेलु मैदानमा भएको खेलमा ओलिभिए जिरु चम्कँदा चेल्सीले ४-० को सानदार जित निकालेको हो।
चेल्सीको जितमा सबै गोल जिरुले गरे। खेलको छैटौं मिनेटमा जिरुले गरेको गोलमा अग्रता बनाएको चेल्सी पहिलो हाफमा एक गोलले अघि रह्यो। दोस्रो हाफमा उनले तीन गोल थपे। उनले ५४, ७४ र ८३ औं मिनेटमा गोल गरेका थिए। उनले अन्तिम गोल पेनाल्टीमा पाएको अवसरको सदुपयोग गर्दै गरेका थिए। चेल्सीले यसअघि नै अन्तिम १६ मा स्थान सुरक्षित गरिसकेको छ।
त्यस्तै गएराति नै भएको समूह ‘इ’ कै अर्को खेलमा क्रसनोदरले रेनसमाथि १-० को संघर्षपूर्ण जित निकालेको थियो।
जितसँगै समूहमा १३ अंक जोडेको चेल्सी शीर्षस्थानमा छ भने सेभिया १० अंकसहित दोस्रो स्थानमा छ। यी दुबै टोलीले अन्तिम १६ मा स्थान सुरक्षित गरिसकेका छन्। त्यस्तै क्रस्नोदर ४ अंकसहित तेस्रो र रेनेस १ अंकसहित पुछारमा छ।
