PahiloPost

Nov 23, 2024 | ८ मंसिर २०८१

काठमाडौंमा श्यामश्वेत टेलिभिजनसँगै उदाएको म्याराडोनाको त्यो क्रेज…



मुकुन्द घिमिरे

काठमाडौंमा श्यामश्वेत टेलिभिजनसँगै उदाएको म्याराडोनाको त्यो क्रेज…

नेपालमा 'बहुदल कि पञ्चायत' भन्ने माहोल थियो। काठमाडौंमा भर्खरै टेलिभिजन भित्रैएको अवस्था र सीमित व्यक्तिहरुसम्ममात्रै त्यसको पहुँच। अनि १९८६ को विश्वकप।

केही भाग्यमानी नेपालीहरुले श्यामश्वेत टिभीमा हेरेका थिए त्यो विश्वकप। जसमा अर्जेन्टिनाले ट्रफी उचाल्यो।

भारतबाट प्रसारण हुने दुरदर्शन हेर्नेले टेलिभिजनमा लाइभ हेर्न पाए फाइनल। नेपाल टेलिभिजनमा हेर्नेले अलि समय ढिलो।

त्यो विश्वकपमा नायक भएर उदाएका थिए, डिएगो अर्मान्डो म्यारोडोना। जसको केही दिनअघि ६० वर्षको उमेरमा निधन भयो।

त्यही विश्वकप हेरेको सम्झन्छन् नेपाली राष्ट्रिय टिमका पूर्व सदस्य मिलन हाडा।

राष्ट्रिय खेलकुद परिषदमा मुख्य फुटबल प्रशिक्षक समेत रहेका हाडा सम्झन्छन्, 'मैले म्यारोडोनाको नाम पहिलो पटक सुनेको चाहीँ २०४१ साल तिर एकजना आप्रवासी इरानीबाट हो। उनले हामी खेलेका ठाउँमा म्यारोडोनाबारे चर्चा गरेका थिए। सन् पत्रिका, विकेन्डहरुमा उनको फोटो आउँथ्यो। त्यतिबेला पाउलो रोसी, म्यारोडोना, रुमिनिकोजस्ता स्टार खेलाडीहरु थिए।'

भर्खरै आएको टिभी, त्यसमाथि विश्वकप। र त्यही विश्वकपमा म्यारोडोनाले छाडेको प्रभाव। जसकारण नेपालमा म्यारोडोनाले राम्रो ‘क्रेज’ र ‘फ्यान’ बटुले।

हुन त फिडेल क्यास्ट्रो, चे ग्वाभारा लगायतसँगको म्यारोडोनाको सम्बन्धका कारण पनि बामपन्थीहरु उनीसँग निकटता देखाउन चाहन्थे। तर हाडा त्यो मान्न तयार छैन।

'म्यारोडोना गरिबी झेल्दै बस्तीमा हुर्किएकाले साम्यवादी विचारले प्रभाव पार्नु सामान्य विषय हो।' हाडा भन्छन्।

म्यारोडोना फिडेल क्यास्ट्रोको नजिक हुनुको कारण क्यास्ट्रो नै म्यारोडोनाको फ्यान भएको उनको बुझाइ छ।

नेपालमा राम्रो समर्थकहरु पाएका म्यारोडोना नेपाली राजनीतिमा बामपन्थी विचार भएकाले धेरै रुचाउनु सामान्य हो।

म्याराडोनाले टिभी मार्फत फुटबलका फ्यान मात्रै बढाएनन्। आफ्नो नामनै नेपालमा स्थापित गराए। उनको खेल्ने तरिकाबाट प्रभावित हुनेहरुले अन्य विधामा उत्कृष्ट हुनेहरुलाई ‘म्याराडोना’को उपमा दिन्थे। जसबारे सायदै म्याराडोनालाई थाहा होला।

ठट्यौली पारामा हाडाले भने, 'दशैँ तिहारमा कसैले तासमा धेरै पैसा मारे पनि 'ए, त्यो त तासमा म्यारोडोना नै हो' भनेर चिया गफ हुन्थ्यो।'

यही क्रेजलाई हाडाले सम्झिए भारतमा कोचिङ तालिम गर्न जाँदाको समयमा। पञ्जाबको पटियालामा एक कुस्तिवाज थिए। एसियाली स्तरमा नै स्वर्णका लागि दाबेदार उनलाई त्यो ठाउँमा कुस्तीको म्यारोडोना भनेर चिनिन्थ्यो।

'कता फुटबलको म्यारोडोना, कता अर्कै खेल कुस्ती। यो म्यारोडोनाको खेलकै प्रभाव थियो।' उनले भने।

तर फ्यान फलोइङ भनेर अहिले जस्तो जर्सी नै लगाएर हिँड्ने चलन भने त्यतिबेला नरहेको हाडा सम्झन्छन्।

'जर्सी महँगो थियो। माथिल्लो स्तरमा खेल्ने केही खेलाडीहरुले जर्सी लगाए पनि सबैलाई सम्भव थिएन्। किनभने त्यतिबेला जर्सी अहिले जस्तो सस्तो पनि थिएन्।' हाडाले भने।

त्यति बेला सायदै दक्षिण अमेरिकी राष्ट्रहरुमा नेपाल राम्ररी चिनिन्थ्यो। तर म्याराडोनाकै कारण नेपालमा अर्जेन्टिना र फुटबल चिनियो।

विश्व फुटबलले हालसम्म कयौं फुटबलर पायो। त्यसमध्येमा पेले र म्यारोडोनाको नाम सँधै माथि आउने गर्छ। म्यारोडोनाको नाम जनजिब्रोमा झुण्डिनुको अर्कोकारण उनको व्यक्तित्व भएको बताउँछन् हाडा।

हुन पनि कहिले पत्रकारलाई बन्दुक पड्काएर तर्साएर होस् या ड्रग्सको लतमा परेर आफ्नो रिसाहा स्वभाव र प्रतिबन्धका कारण विवादित बनेर। म्याराडोना चर्चामा आइरहे। उनको नकारत्मक छवीमाथि उनको खेलले पर्दा हाल्यो भन्दा फरक पर्दैन।

ह्याण्ड अफ गड

२२ जुन १९८६ मा अर्जेन्टिना र इग्ल्याण्डबीच कडा प्रतिस्पर्धा भयो। म्याचको ५१ मिनेट बित्यो। तर दुवै टिमबाट गोल हुन सकेन। त्यसैबेला म्यारोडोनाले विपक्षी टिमको गोलकिपर पिटर सेल्टन तर्फ उफ्रँदै गोल गरे। उनको हातले बललाई छोएको थियो। हातले गोल भएका कारण उनको यो गोल विवादास्पद बन्यो।

फुटबलको नियम अनुसर यो हेण्डबल थियो र म्यारोडोनाले पहेँलो कार्ड पाउनुपर्ने थियो। तर त्यतिबेला भिडियो एसिस्टेन्ट रेफ्री (भीएआर) थिएन। र, रेफ्रीले हेण्डबल नदेखेका कारण त्यसलाई गोल करार दिइयो। र, अर्जेन्टिनाले अग्रता लियो।

म्याचपछि म्यारोडोनाले उक्त गोल थोरै आफ्नो टाउकोले र थोरै भगवानको हातले भएको प्रतिक्रिया दिएका थिए त्यसपछि उक्त गोललाई 'ह्यान्ड अफ गड' भन्न थालियो।

सो खेलमा भने हाडाले इङ्ग्ल्याण्डको समर्थन गरेका थिए। किनभने उनी इङ्ग्ल्याण्डको समर्थक अनि म्यारोडोनाको प्रशंसक थिए।

'त्यो बेला इङ्ग्ल्याण्डको डिफेन्स छलाएर गोल गरे। ४ जनालाई बिट गरेर त्यो गोल गर्नु एकदमै ठूलो कुरा थियो।' उनले भने। त्यसैले त त्यो गोललाई 'गोल अफ दी सेन्चुरी' भनिन्छ।

म्याराडोनाको स्किललाई पछि धेरैले कपी गर्न खोजेको भए पनि त्यो सम्भव नभएको हाडाको बुझाइ छ। यद्यपि उनको व्यक्तित्व, जर्सी, हाउभाउलाई भने धेरैले कपी गर्न सफल भएका थिए।

'म्याराडोना जस्तो बन्न चाहनेहरुले उनको १० नम्बर जर्सीबाहेक अरु केही पनि कपी गर्न सकेनन्। त्यो थियो उनको खेल कौसल,'उनले भने।

सन् १९८६ मा अर्जेन्टिनाको कोरियासँग खेल भएको थियो। त्यतिबेला कोरियाले एकदमै रफ खेल खेलेको थियो। अझ म्यारोडोनालाई तीनजना खेलाडीले मार्क गरेका थिए। उक्त खेलपछि म्यारोडोनाले कोरियनहरुले फुटबल नभएर तेक्वान्दो खेलेको प्रतिकृया दिएको सम्झन्छन् हाडा।

हाडा म्यारोडोनाको खेललाई ‘गड गिफ्टेड’ चमत्कारका रुपमा लिन्छन्। त्यसैकारण विश्व भर म्याराडोना मनपराउनेहरुको संख्या उच्च रहेको उनको मत छ। जुन म्याराडोनाको देहान्तपछि पनि देखियो। म्याराडोनाको त्यो क्रेज सायद आउने थुप्रै पुस्तामा यसरी नै देखिन्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell