PahiloPost

Jan 20, 2025 | ७ माघ २०८१

बलात्कार केसमा १५ वर्षीय किशोरलाई साढे १२ वर्ष जेल सजायको फैसला



रासस

बलात्कार केसमा १५ वर्षीय किशोरलाई साढे १२ वर्ष जेल सजायको फैसला

उदयपुर : जिल्ला अदालत उदयपुरले चार वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्लाको कटारी नगरपालिका–५ का एक १५ वर्षीय किशोरलाई १२ वर्ष छ महिनाको जेल सजाय फैसला गरेको छ।

बुधवार जिल्ला न्यायाधीश दीपक खनालको इजालासले कटारी नगरपालिका–५ का १५ वर्षीय किशोरलाई बालिका बलात्कारको कसुरमा १२ वर्ष छ महिनाको जेल सजाय गर्ने फैसला गरेको अदालतका तहसिलदार राजकुमार आचार्यले बताए।
यस्तै, सोही किशोरसँगै सामूहिक रुपमा चार वर्षीया बालिका बलात्कार गर्ने अर्का ११ वर्षीय बालकलाई अदालतले अनुसन्धानसम्मको जेल सजायपछि बाँकी सजाय स्थगन गरेर सजाय मुक्त गरेको पनि जिल्ला अदालत उदयपुरले जनाएको छ।

विसं २०७६ सालको चैत ६ गते दुवैले स्थानीय छिमेकी बालिकालाई सामूहिक बलात्कार गरेको अभियोगसहित इलाका प्रहरी कार्यालय कटारीमा पीडित बालिकाका आफन्तले प्रहरीमा जाहेरी दिएका थिए। प्रहरीमा उजुरी परेलगत्तै इलाका प्रहरीले पक्राउ गरेर दुवैलाई अनुसन्धानका लागि बाल सुधार गृहमा राखेर बलात्कारसम्बन्धी मुद्दा चलाएको थियो। बुधवार मुद्दा फैसला हुँदा ११ वर्षीय बालकको बाँकी कारवाही स्थगन भएको थियो भने १५ वर्षीय किशोरविरुद्ध १२ वर्ष छ महिनाको जेल सजायको फैसला भएको जिल्ला अदालत उदयपुरले जनाएको छ।
जेल सजाय पाएका किशोरलाई बालक भएका कारण १८ वर्ष हुँदासम्म विराटनगरस्थित सुधारगृहमा राख्ने र त्यसपछि कारागार पठाउने तयारी गरिएको पनि अदालतका सूचना अधिकारी तथा तहसिलदार आचार्यले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell